हेटौंडाः मकवानपुरका दुई विद्यार्थी संगठनहरुले दबावमूलक संघर्षका कार्यक्रमहरु घोषणा गरेका छन् । संस्थागत विद्यालय र निजी क्याम्पसहरुले शिक्षण शूल्क असुल गरेको विषयलाई लिएर आज पत्रकार सम्मेलन गर्दै अनेरास्ववियू मकवानपुरका संयोजक किसन घिसिङ र नेपाल विद्यार्थी संघ मकवानपुरका सभापति राजु खतिवडाले संयुक्त रुपमा स्थानीय तह, शिक्षा विकास तथा समन्वय इकाई मकवानपुर लगायत मकवानपुरका शैक्षिक संस्था हेर्ने कार्यालयहरुमा दबावमूलक कार्यक्रमहरु गरेका छन् ।

संयुक्त रुपमा जारी गरिएको विज्ञप्तिमा असोज १५ गते हेटौंडा उपमहानगरपालिकाको शिक्षा महाशाखा बिहान ११ बजेदेखि दिउँसो १२ बजेसम्म घेराउ गर्ने, असोज १६ गते हेटौंडा उपमहानगरपालिकाको मूल गेटमा कालोपट्टी बाँधेर बिहान ११ बजेदेखि १२ बजेसम्म भौतिक दूरी कायम गरेर धर्ना दिने, दिउँसो १ बजे जिल्ला शिक्षा समन्वय इकाई, हेटौंडा उपमहानगरपालिका, राष्ट्रिय परीक्षा बोर्ड र प्याव्सन मकवानपुरलाई लिखित जानकारी गराउँदै असोज १८ गतेबाट सम्पूर्ण शैक्षिक संस्थाको लेखा शाखामा ताला लगाउने विषयमा जानकारी गराउने उल्लेख गरिएको छ । यस्तै असोज १८ गते सम्पूर्ण शैक्षिक संस्थाको लेखा शाखामा ताला लगाउने, असोज १९ गते बुद्धचोकमा प्रदर्शन गर्ने बताइएको छ ।

विद्यार्थी संगठनको मागलाई बेवास्ता गरेको भन्दै संयुक्त रुपमा संघर्षको कार्यक्रम सार्वजनिक गर्न बाध्य भएको नेपाल विद्यार्थी संघ मकवानपुरका संयोजक राजु खतिवडाले बताउनुभयो । संघर्षका कार्यक्रम गर्दा पनि आफ्नो मागहरु पुरा नभए आम अभिभावक, विद्यार्थीसहित सडकमा उत्रेर सशक्त ढंगले आवाज उठाउने चेतावनी विद्यार्थी संगठनले दिएका छन् । उनीहरुले विद्यार्थी संगठनको दबावमूलक कार्यक्रमलाई सफल पार्न विद्यार्थी, अभिभावक सरोकारवाला निकायहरुलाई अपिल समेत गरेका छन् ।