संसारभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रण र रोकथाममा चुनौती थपिँदै गएका छन् । नेपालले तयारीका लागि पर्याप्त समय पाउँदा पनि हेलचेक्र्याइँ गरेको आरोप लाग्दै आएको छ । राज्यका निकायहरुले देखाउनु पर्ने जति तप्परता नदेखाउँदा आज नेपालमा संक्रमण भयावह रुप लिएको छ । केही हप्ताअघिसम्म स्वास्थ्य मन्त्रालयले सार्क मुलुक मध्ये नेपालमा मृत्यु हुने, निको हुने र संक्रमणको बृद्धि दर निकै कम रहेको दैनिक प्रसारण गर्दैआएको थियो । तर पछिल्लो समय सबै कुरामा नेपाल दक्षिण एशियाली अन्य मुलुक भन्दा कमजोर बन्दै गएको छ । यस विषयमा मन्त्रालय मौन देखिएको छ । आवश्यक मात्रामा स्वास्थ्य सामग्री समेत सरकारले उपलव्ध गराउन सकेको अवस्था छैन ।
महामारीका समयमा नेपाली नागरिकले संविधानले दिएको स्वास्थ्य अधिकार उपभोग गर्न पाएका छैनन् । सरकारले परिक्षणको प्रक्रिया र मापदण्ड दैनिक परिवर्तन गर्दा नागरिक अन्यौलमा छन् । आफू स्वस्थ भए नभएको जानकारी लिन पाउने अधिकारबाट समेत बञ्चित हुनु परेको छ । राज्यले तोकिदिएको परिधि भन्दा अन्य नागरिकले निशूल्क कोरोनाको परीक्षण गराउन पाउने अवस्था छैन । कोरोना महामारी नियन्त्रणमा नेपालमा संघीय, प्रदेश र स्थानीय तीनै तहका सरकारले गम्भीरता देखाउन सकेको छैन । बागमती प्रदेशको राजधानी समेत रहेको मकवानपुर जिल्लामा महामारीको समयमा कोरोना परीक्षण प्रयोगशालाको सेवामा मनलाग्दी छ । स्थानीय सरकारले सञ्चालन गरेको स्वाब संकलन केन्द्रमा नगरवासीले नै स्वाब संकलन गरेर राख्ने भिटिएम खरिद गर्नुपर्ने बाध्यता छ ।
हेटौंडा उपमहानगरपालिकाकै नागरिकले आफैंले भिटिएम खरिद गरेर स्वाब सङ्कलन गराइरहेको अवस्था छ । संघीय, प्रदेश मात्र होइन कि स्थानीय तह पनि कोरोना महामारीप्रति जिम्मेवार छैनन् भन्ने देखाएको छ । स्वाब संकलन केन्द्रमा अवस्था के छ भन्ने विषयमा सरोकारवाला निकायहरु किन बेखबर भए ? सम्बन्धित निकायबाट जानकारी नै नआएको हो वा नागरिकले नै खरिद गर्नुपर्ने नियम हो ? समयमै आवश्यक काम नगर्दाको अवस्था अहिले नागरिकले भोग्नु परेको छ । समय छउन्जेल उग्राएर बस्ने प्रवृत्तिले नागरिकले महामारीमा राज्य भएको अनुभूति गर्न पाएका छैनन् । जिल्लाका अन्य पालिकाहरुले आफैंले भिटिएम उपलब्ध गराएकोले समस्या नभए पनि हेटौंडामा समस्या देखिएको छ । हेटौंडा उपमहानगरपालिकाले पनि अन्य स्थानीय तहकै जस्तो गर्ने नसक्ने हो ? अन्य जिल्लाका पालिकाहरुले मेसिन नै खरिद गरेर परीक्षण गराउने वातावरण बनाई रहँदा हेटौंडाका नागरिकले भने स्वाव संकलन गर्ने सामान्य बट्टा समेत खरिद गर्नुपर्ने भएको छ ।
राज्यले उपलव्ध गराउनुपर्ने उपकरणदेखि औषधि समेत नागरिकले खरिद गर्नुले सरकार जनताप्रति गम्भीर नभएको पुष्टि गर्दछ । के कति मात्रामा यस्ता सामानहरु आवश्यक हुन्छन् त्यसको समयमै किन व्यवस्थापन गरिएन भन्ने प्रश्नको जवाफ सरकारले दिनु पर्ने छ । यस्तै संक्रमितको व्यवस्थापनमा पनि गम्भीरता छैन । संक्रमित व्यक्तिलाई राज्यका निकायहरुको निगरानीमा व्यवस्थित आइसोलेसनमा राख्नु पर्ने हो । तर स्थानीय या प्रदेश सरकारको कुनै निकायका कोही कसैले सोधीखोजी नगरेको गुनासा छन् । संक्रमितकै व्यवस्थापनमा ध्यान दिन नसकेको सरकारले संक्रमितको सम्पर्कमा आएकाहरुको विषयमा खोजी गर्ने अवस्था पनि छैन । यो अवस्थाले संक्रमण बढ्ने निश्चित नै छ । यस्तो महामारीमा पनि सरकारले यसरी बेवास्ता गर्न पटक्कै मिल्दैन । यसमा नागरिक खबरदारी आवश्यक छ ।