१) शिक्षामा सर्वाधिक चर्चा हुने कुरा नै विषयगत पक्ष हो । कक्षा ८ अर्थात आधारभूत तहसम्म विषय छनौटको प्रसंग छैन । कक्षा ९ देखि माध्यमिक तह शुरु हुने र नेपालको शिक्षा व्यवस्थाले साधारण र संस्कृत शिक्षा गरी दुई प्रकारको माध्यमिक शिक्षा तोकेको छ । कुनैबेला व्यावसायिक शिक्षा पनि यहि तहमा सिकाउने काम हुन्थ्यो । हाल भने माध्यमिक तहमा प्राविधिक शिक्षाको पठनपाठन शुरु भइसकेको छ । यो अर्को सकारात्मक पक्ष हो । यद्यपि यसमा सुधार गर्नै पर्ने कुराहरु धेरै छन् ।

रमेशप्रसाद लामिछाने, प्रधानाध्यापक, वंशगोपाल मावि

२) कक्षा १० पछिको शिक्षा कलेजस्तरको भन्ने धङ्धङीले विद्यार्थीलाई अझै भ्रम पारिरहेको छ । विगतको शिक्षा पद्दतिको छाप धेरैमा कायमै छ । हालको शिक्षा व्यवस्थाले कक्षा १२ सम्म विद्यालय शिक्षा भने पनि व्यवहारमा धेरैले पत्यार मानेका छैनन् । सरकार नियम बनाउने तर कार्यान्वयन भने गर्न नसक्ने भएकाले पनि धेरैमा यस्तो अन्यौल उत्पन्न भएको हो । कक्षा ९ बाट विषय छनौटको व्यवस्था गरिएको छ । प्राविधिक धारको अतिरिक्त साधारणतर्फ ६०० पूर्णाङ्कको अनिवार्य विषयहरु र २०० पूर्णाङ्कको इच्छाधिन विषयहरु निर्धारण गरिएको पाइन्छ । प्रथम पत्रबाट १ र द्वितीय पत्रबाट १ गरी २ वटा ईच्छाधिन विषयहरुको छनौट गर्ने विधि हाल प्रचलनमा छ । प्रथमपत्र अन्तर्गत भाषा २२ वटा, मानविकी तथा सामाजिक शास्त्र समूहमा ७ वटा र अतिरिक्त गणित १ गरी जम्मा ३० तोकिएको छ । त्यस्तै द्वितीय पत्र अन्तर्गत २७ वटा विषयहरु पाठ्यक्रम विकास केन्द्रले किटानी गरेको छ । यहि कक्षा ९ बाटै विद्यार्थीहरुको रुची, चाहना बमोजिमको विषय छनौट गरी पढ्न पढाउने काम हुँदै आइरहेको छ ।

३) कक्षा १० अर्थात तत्कालिन एसएलसी र हालको एसईई उत्तीर्ण पश्चात कक्षा ११ प्रवेशको समयमा विद्यार्थीहरुमा अलि बढि अन्यौलता नै पाईन्छ । गत वर्षसम्म कक्षा ११ का विज्ञान, वाणिज्य, शिक्षा र मानविकी गरी ४ वटा संकायहरुमा भर्ना गर्ने गरिएकोमा यस वर्षबाट कक्षा ११ को पाठ्यक्रम बदलिएको भनिएको छ । उता उच्च माध्यमिक शिक्षा एशोसिएशन (हिसान) ले यस वर्ष पाठ्यक्रम बदल्न नहुने र गतकै निरन्तरता दिनुपर्नेमा अडानका साथ सरकारलाई चुनौति नै दिएको छ । अब सरकारको निर्णयमा भर पर्ने स्थिति रहेको हालको अवस्थामा कक्षा ११ मा ३ वटा अनिवार्य विषयहरु नेपाली, अंग्रेजी र सामाजिक अध्ययन तोकिएको छ । ऐच्छिक समूह ३ वटा तोकिएकोमा प्रत्येक समूह बाट १÷१ विषय छनौट गर्ने गरी ३ वटा ईच्छाधिन विषय पढ्नै पर्ने हुन्छ । अनिवार्य ३ र ईच्छाधिन ३ गरी ६०० पूर्णाङ्क बाहेक चौथो समूह जस्लाई थप ईच्छाधिन समूह भनिएको छ, बाट विद्यार्थीहरुले १ विषय रोजेर अध्ययन गर्न सक्छन् । तर यो थप विषय अनिवार्य छैन ।

४) यस वर्षबाट कक्षा ११ मा पढ्न पढाउन पर्ने भनी तोकिएका विषयहरु निम्न अनुसार रहेका छन् ।
क) अनिवार्य विषयहरु ३ वटाः–
अ) नेपाली, आ) अंग्रेजी, इ) सामाजिक अध्ययन ।


ख) ईच्छाधिन विषयहरु ३ वटा प्रत्येक समूह बाट १/१ वटा विषय छनौट गर्नुपर्नेः–
ऐच्छिक पहिलो समूह १४ वटा मध्ये १ विषय रोज्नु पर्ने ।
१) भौतिक विज्ञान, २) लेखा विधि, ३) ग्रामिण विकास, ४) विधि शास्त्र र कानूनी सिद्धान्त, ५) स्वास्थ्य शारीरिक शिक्षा, ६) खेलकुद विज्ञान, ७) बाल विकास र सिकाई, ८) मनोविज्ञान, ९) ईतिहास, १०) लैङ्गिक अध्ययन, ११) अतिथि सत्कार व्यवस्थापन, १२) प्राकृतिक चिकित्सा, १३) मानव मूल्य शिक्षा, १४) मूर्तिकला ।

ऐच्छिक दोस्रो समूह १५ वटा मध्ये १ विषय रोज्नु पर्ने ।
१) जीव विज्ञान, २) शिक्षा र विकास, ३) भूगोल, ४) कार्यविधि कानून, ५) समाजशास्त्र, ६) आयुर्वेद, ७) व्यवसाय अध्ययन, ८) भाषा विज्ञान, ९) राजनीति शास्त्र, १०) दर्शन शास्त्र, ११) जनसंख्या अध्ययन, १२) वागवानी, १३) खाद्य र पोषण, १४) नृत्य, १५) कम्प्युटर विज्ञान ।

ऐच्छिक तेस्रो समूह २८ वटा मध्ये १ विषय रोज्नु पर्ने ।
१) रसायन विज्ञान, २) अर्थशास्त्र, ३) पर्यटन र पर्वतारोहण अध्ययन, ४) बजारशास्त्र, ५) बुढ्यौली तथा स्याहार शिक्षा, ६) योग, ७) वाद्यवादन, ८) सिलाई तथा बुनाई, ९) संवैधानिक कानून, १०) पाक्कला, ११) संस्कृति, १२) फेशन डिजाईनिङ्ग, १३) मूर्तिकला, १४) पशुपन्छी र माछापालन, १५) नेपाली, १६) अंग्रेजी, १७) मैथिली, १८) नेवारी, १९) हिन्दी, २०) चिनिया, २१) जर्मन, २२) जापानिज, २३) कोरियन, २४) उर्दु, २५) फ्रेन्च, २६) हिब्रु, २७) अरेविक २८) संस्कृत

चौथो समूह थप ऐच्छिक समूह (यस समूह २१ मध्ये बाट १ विषय थप पढ्न सक्ने छन् ।
१) गणित, २) प्रायोगिक गणित, ३) वाणिज्य गणित, ४) मानव अधिकार, ५) पुस्तकालय तथा सूचना विभाग, ६) गृहविज्ञान, ७) वातावरण विज्ञान ८) साधारण कानून, ९) वित्तशास्त्र १०) सहकारी व्यवस्थापन, ११) वौद्ध अध्ययन, १२) प्रायोगिक कला, १३) गायन, १४. चित्रकला १५. रेशमखेती र मौरीपालन, १६) सौन्दर्यकला र केशकला, १७) औषधिजन्य जडिबुटि, १८) प्लम्विङ्ग र वाटरिङ्ग, १९) आन्तरिक सजावट, २०) होटल व्यवस्थापन, २१) आमसञ्चार ।

५) अब विषय राम्रो भन्ने आधारहरुको गहिरो र सुक्ष्म विश्लेषण जरुरी पर्दछ । बजारमा चाँडो बिक्ने र महँगोमा बिक्ने विषयलाई नै धेरैले राम्रो विषय भन्ने गरेका छन् । विद्यार्थीको दक्षता, क्षमता, उत्कृष्टता कायम हुँदा कुनै पनि विषय नराम्रो हुँदैन । यो सिकाईमा भर पर्दछ । विषयगत उत्कृष्टता विद्यार्थीको लक्ष्य बन्नु पर्दछ । विज्ञान विषय रोजेर कमजोर सीप भएमा वा मुस्किलले उत्तीर्ण हुनेहरुको अवस्था बुझ्नु जरुरी छ । पछि विषय बदल्नेहरुको संख्या पनि कम छैन । मुख्य सवाल ज्ञानसहितको सिकाईमा उत्कृष्टता हुनै पर्छ । हामी मूर्तिलाई हैन, मन्दिर पुज्ने परम्पराबाट गुज्रिरहेका छौं । विज्ञान पढने सबै तिक्ष्ण र शिक्षा पढ्ने सबै लोद्दर हुन्छन् भन्ने संकीर्ण चिन्तनबाट मुक्त हुनै पर्दछ । तिक्ष्णता, क्षमता र उत्कृष्टता व्यक्तिका विशिष्ट गुण स्वीकार गरिएको छ । बजारमा डाक्टर र ईन्जिनियर चाँडै महँगोमा बिक्रि भएको र शिक्षा, वाणिज्य र मानविकी पढ्नेहरु जागिरको खोजी र पर्खाईमा उमेर बितेको देखिनु हाम्रो शिक्षा प्रणालीको दोष हो, कमजोरी हो व्यक्तिको समस्या होईन ।