६ महिनाभन्दा बढी समयदेखि शैक्षिक संस्थाहरु बन्द अवस्थामा छन् । शैक्षिक संस्था कहिलेदेखि खुल्छ भन्ने अझै निश्चित भइसकेको छैन । शैक्षिक गतिविधि के गर्ने भन्नेमा स्थानीय सरकार पनि संघीय सरकारको निर्णय र निर्देशन कुरेर बसेको छ । यस्तो पृष्ठभूमिमा लकडाउन र निषेधाज्ञाका बीच पनि शैक्षिक क्रियाकलाप गर्दै आएको हेटौंडा–१६, हटियास्थित जनप्रिय माविका अंग्रेजी माध्यमका संयोजक कैलाश धितालसँग समाज संवाददाता संगी लामाले गर्नुभएको कुराकानीः
समाजः अहिले विद्यालयहरु बन्दछन् । कहिले खुल्ने भन्ने निश्चित छैन । यस्तो अवस्थामा विद्यालय खुलाउनेतर्फ कसरी ध्यान दिइरहनु भएको छ ?
धितालः यो कोरोनाको महामारीले गर्दाखेरी विश्व नै आक्रान्त भएको अवस्थामा सरकारले नेपालमा लकडाउन गर्ने निषेधाज्ञा गर्ने र त्यसलाई खुकुलो पार्ने क्रम जारी अवस्था हो । संघीय सरकारले नभनी विद्यालयहरु नखोल्नु भनेर शिक्षा मन्त्रालयको त्यो किसिमको निर्देशन भएको कारणले गर्दाखेरी पनि विद्यालयले स्वतःस्फूर्त हिसाबले विद्यालय सञ्चालन गर्ने अवस्थामा छैन । तर विद्यालयहरुले के गरिराखेका छन् भने अनलाइन कक्षा सञ्चालन गर्ने त्यसपछि अतिथि शिक्षकहरु बोलाएर कार्यक्रम गर्ने, तालिमहरु आयोजना गर्ने कुराहरु गरिराखेका छन् । हाम्रो विद्यालयको हकमा पनि अहिले त्यही हो । विद्यालय खोल्ने कुरामा चाहीँ संघीय सरकारकै निर्देशन हुनुपर्छ ।
समाजः अनलाइन कक्षाको प्रभावकारिता कस्तो छ । सबै विद्यार्थी अनलाइन कक्षामा समेटिएका छन् त ?
धितालः अनलाइन कक्षाको पहुँच सबै विद्यार्थी, सबै वर्गमा पुग्ने सबै वर्गले भेट्ने हिसाबको भएको छैन । कतिपय विद्यार्थीहरु नेपाल सरकारको डाटा लिने हो भने नेपालभरी नै इन्टरनेटको पहुँच भएको ५३ प्रतिशत जनसङ्ख्या मुस्किलले अनलाइनको पहुँचमा छन् । यस्तो अवस्थामा अनलाइन कक्षा सञ्चालन गर्नु चाहीँ नहुुनु मामा भन्दा कानो मामा ठिक भने जस्तै हो । सबैको पहुँचमा पुग्न सकेको अवस्था छैन । कम्तिमा अनलाइनको पहुँचमा हुने जतिले अनलाइन कक्षा गर्ने र अनलाइनको पहुँचमा नहुने जतिलाई शिक्षकले बनाएका पाठ्य सामग्री सम्पर्क गरी प्रदान गर्ने कामहरु चाहीँ हामीले गरिरहेका छौं ।
समाजः दशै तिहारपछि विद्यालयहरु खुल्दा चालु शैक्षिक सत्रको कोर्षहरु सकिन्छ त ?
धितालः चालु शैक्षिक सत्रवर्षको कोर्ष पूरा गर्न सक्ने अवस्था देखिँदैन । किनभने भन्दाखेरी अहिले तपाईको पाँचौं महिनाको अवधि लगभग समाप्त भइसकेको अवस्था छ । दशै तिहारपछि चाडवाड सकिएपछि विद्यालय खोल्ने भनेको मंसिरको पहिलो हप्ताबाट हो । त्यो भन्दा अगाडि खुल्दैन । मंसिरको पहिलो हप्तााबाट यदि पहिलाको जस्तैगरी फागुन अथवा चैतमा वार्षिक परीक्षा लिने हो भने सक्ने अवस्था छैन । होइन भन्ने असारमा परीक्षा पहिलो वर्ष अर्काे गएर फेरी बैशाख जेठ असार झार्ने त्यसरी तान्ने हो भने देखि अलिकति समस्या हुन्छ । तर सक्नका लागि कोर्ष समायोजन नगरिकन हामीले सक्ने अवस्था देखेका छैनौं ।
समाजः यो समयसम्म विद्यालयहरु बन्दा हुँदा शिक्षकहरुले के कस्ता तयारी गरेर बस्नु भएको छ ?
धितालः संघीय सरकारले कस्तो किसिमको निर्देशन दिन्छ । शिक्षा मन्त्रालयले भन्ने कुरा पनि एउटा पाटो कुरेर बस्नु पर्ने अवस्था छ । हामीले हाम्रो हिसाबले निर्णय गर्न पाउँदैनौं । यो बन्दाबन्दीको बीचमा शिक्षकहरुले केके तयारी बस्नु भएको छ भन्ने छ । जुन चाहीँ हामीले तपाईको लकडाउनको बीचमा शिक्षकहरु, विद्यार्थीहरु आलोपालो गरेर विद्यालयमा उपस्थित भएर विद्यालयमा विषयगत ल्याबहरु बनाउनेदेखि लिएर अनेक क्रियाकलापहरु गरेका छौं । ल्याबलाई व्यवस्थापन गर्ने, पुराना ल्याबलाई नयाँ भवनमा सेट गर्नेदेखि लिएर हरेक कामहरु शैक्षिक सामग्री निर्माणका कामहरु भएका छन् । शिक्ष्ँक साथीहरुलाई यो लकडाउन हुनुभन्दा अगाडि बीचमा लकडाउन खुल्यो र पछि फेरी निषेधाज्ञा जारी भयो । त्यो हुनुभन्दा अगाडि शिक्षक साथीहरुलाई विद्यालयमा बोलाएर हाजिरी गराउनु त्यसपछि शैक्षिक सामग्रीहरु बनाउने, त्यसपछि समुदायमा जाने र गएर लागभग हामीले समुदायमा गएर कक्षा चालायौं । १५ वटा सिकाई केन्द्र निर्धारण गरेर शिक्षक साथीहरुलाई समूह बनाएर गाउँगाउँ पठाउने र विद्यार्थीहरु गृहकार्य दिने, गृहकार्य चेक गर्ने, त्यस्तो किसिमको क्रियाकलाप हामीले गरेर बसेका अवस्था छ । अब विद्यालयहरु जुनसुकै अवस्थामा जनुसुकै हालतमा विद्यालयहरु खुले पनि जनप्रिय मावि शिक्ष्ँक साथीहरु तयारी बस्नु भएको अवस्था हो ।
समाजः स्थानीय तह र वडा कार्यालयहरुसँग समन्वय गरेर विद्यालय खुलाएर पठनपाठन सुरु गर्न सकिन्न ?
धितालः यो विश्व स्वास्थ्य संगठनले नै भनिरहेको छ । यसको भ्याक्सिन बन्ने अवस्था छैन भनेर अब दुई चार वर्ष भ्याक्सिन आएन भने त के दुई चार वर्ष जनतालाई थुनेर राख्ने हो त ? यो नैतिक प्रश्न सरकार तेर्छिन्छ । हामीले एउटा शिक्षकको नाताले हेर्दाखेरी जबसम्म विद्यालय खुल्दैन तबसम्म बन्दै गरेर बस्ने, विद्यार्थीलाई घर भित्रै थुनेर राख्ने अवस्थाले यो सहज हुँदैन । यसले ठूलो आर्थिक क्षति निम्त्याउँछ । सँगसँगै सामाजिक, सांस्कृतिक क्षति र शैक्षिक क्षति पनि निम्त्याउने अवस्था छ । यो एउटा विकल्प के हुन सक्छ भने यो कोरोना भाइरससँग सँगसँगै जीउनको विकल्प छैन । यसमा सावधानी अपनाउने, सावधानी अपनाएर आफ्नो दैनिक क्रियाकलापहरु अगाडि बढाउने हो ।
हिजो दिनमा सामान्य अवस्थामा जसरी सञ्चालन गरेका थियौं । त्यसरी सञ्चालन गर्न नसकौंला त्यो अलग पाटो भयो । तर कसरी सञ्चालन गर्न सकिन्छ भनेर स्थानीय सरकार, स्थानीय मातहत तहका वडाहरुले आफ्नो वडाभित्रका विद्यँलयका शिक्षकहरुदेखि लिएर व्यवस्थापन समिति, सरोकारवाला शिक्षक अभिभावक संघदेखि लिएर हरेक सरोकारवाला पक्षहरुलाई जम्मा र भेला गरेर अन्तरक्रिया गरेर यसको टुङ्गो लगाउनुपर्छ भन्ने मलाई लागेको छ । किन भन्दा खेरी यतिबेला जिम्मेवारी बहन गर्ने स्थानीय सरकारले नै हो । स्थानीय सरकार नै अभिभावक हुन् स्थानीय जनताहरुको त्यही भएको कारणले यसतर्फ ध्यान जानु पर्दथ्यो ।
अब स्थानीय सरकारको यसतर्फ ध्यान जाने अवस्था छैन । स्थानीय सरकार पनि मुकदर्शक बनेर बसेको अवस्था छ । संघीय सरकारले जे निर्णय गर्छ त्यही अनुसार गरौंला भनेर बसेको अवस्था छ । अब यो यस्तै अवस्था रहने हो भने स्थानीय सरकार अवश्यकता किन भन्ने प्रश्न गर्ने ठाउँ छ । संघीय सरकार किन भन्ने प्रश्न गर्ने ठाउँ छ । यो विविध पक्षले हेर्दाखेरी स्थानीय सरकारको पनि विविध कमिकमजोरीहरु हामीले देखेका छौं ।