रवि लामिछाने वर्तमान राष्ट्रिय राजनीतिको केन्द्रमा रहेको चर्चित पात्र हुन् । छोटो समयमा यिनले रास्वपालाई दूईतिहाई नजिकको सरकार बनाउने तहमा पु¥याए । बालेन शाहलाई पनि यिनैको उदारता र त्यागले जोड्न मद्दत पु¥यायो । रविका बारेमा यो देशमा धेरै बहस र छलफल भयो । रविलाई ठगको पगरी गुथाईयो । सहकारीसँग जोडियो । न्यायिक हिरासतमा राखेर दुख दिने काम भयो । उनि निर्दोष छन् कि दोषी त्यो न्यायिक निरूपणको विषय हो । त्यो अदालतको विचाराधिन मुद्दामा प्रवेश नगरौं । यहाँ रविले राजनीतिमा गरेको महत्वपूर्ण कामको विषयमा चर्चा गर्न खोजेको मात्र हो ।
रास्वपा गठनमा रविले जति मान्छे जम्मा गरे ति आआफ्ना विषयका जानकार त थिए नै तर ति नवयूवाहरूलाई स्पेश दिने कामको आरम्भ यिनले गरे । कांग्रेस, एमाले, राप्रपा र हिजोका माओवादीहरूले कहिले यूवालाई यो तहको स्पेश दिएनन् । त्यतिमात्र होइन, यि पार्टीहरूले अहिले सांसद भएका कतिपय मान्छेलाई यि पार्टीले वडा तहको टिकट पनि दिँदैन थिए ।
आजको संसदमा ४० वर्ष मूनिका सांसदको संख्या उल्लेखनीय रहेको छ । २५ वर्षदेखि ३० का सांसद पनि राम्रै उपस्थिति छ । यसको देन जेन जी आन्दोलनलाई जान्छ, भने अर्कोतर्फ रवि लामिछाने यस भन्दा अगाडि नै नवयूवाहरूलाई प्रोत्साहित गरेर अघि बढाएको दृष्टान्त छ । तात्कालिन संसदमा युवाको रूपमा, सुमना, तोसिमा, सोबिता, मनिष, हरि ढकालहरु दर्जनौ नयाँलाई उनले अवसर दिए । जबकि कांग्रेस, एमाले, राप्रपा र हिजोका माओवादीहरूमा आज पनि बुढाहरू नेतृत्व छाड्न तयार छैनन्, कांग्रेसमा एकथरि बहादुरहरूले गगनलाई सभापति मान्दैन, एमालेमा त्यहि छ, राप्रपामा कमल, लोहनी, पशूपति पाए अहिलेपनि नेतृत्व लिन तयार छन् । प्रचण्डको पार्टी त बुढाहरूको पार्टी हो । माधव, झलनाथ, बामदेव यि रिटायर्डहरूको बर्चस्व छ । यस्तो अवस्था नवयूवाहरूको हातमा देशको शासन सत्ता छ । ३५ वर्षका बालेन प्रधानमन्त्री छन् त्यो भन्दा कम उमेरका मन्त्रीहरू छन् ।
बुढाहरूको अनुभवले मात्र देश बन्ने भए बनिसक्थ्यो । हामीकहाँ नेतृत्व पोखरीको फोहर जस्तो जाम भएर बस्यो । उमेर पुगेका बुढाहरूले सम्मानजनक बहिर्गमन हुन जानेनन्, शक्ति र सत्ताको मोहले तिनलाई आर्यघाट पुग्दा नि छोडेन । गएको निर्वाचनले एउटा पूरानो पुस्तालाई मतादेशको निर्णयबाट अपदस्त गरियो । अझ पनि यिनका अवशेष बाँकी नै छ । करिब तीन दशक भन्दा बढी पूराना तीन पार्टीका करिब एक दर्जन मानिसले देशमा पालैपालो सेन्डिकेट मार्फत शासन संचालन गरे । यिनले अस्तिसम्म पनि म नै राज्य हुँ भन्थे । जब जनताको झापट यिनका गाला प¥यो बल्ल यिनले आफ्नो घरातल थाहा पाए । यो जादूमयी परिस्थिति निर्माणमा रवि लामिछानेले कुशल भूमिका निर्वाह गरे । हिजोको दिनमा सांसद कस्ता हुन्थे, गोबर गणेश अनपढ उभिएर बोल्दा पूरा वाक्य भन्न नसक्ने, पढाई हेर्दा लाज लाग्ने अवस्था थियो ।
अझ राजनीतिमा त पढेको मान्छे चाहिँदैन, पछाडिको बेन्चमा बस्नेहरूले गर्ने हो भन्ने भाष्य निर्माण गरियो । अब त्यो समय रहेन, पढेका विज्ञहरू राजनीतिमा आउन थालेपछि राजनीतिको गुणस्तर नै बढ्न थाल्यो र देशमै केहि गरौं भन्ने भावना प्रवल भएर आयो । नयाँ चेतनाको प्रवद्र्धक रास्वपा र रविलाई जान्छ । अब देशले कोल्टे फेर्छ, सरकारको गति हेर्दा आशा गर्ने ठाउँ छ । परिवर्तनको ढोका खूलेको छ । सरकारले सुशासन १०० कार्ययोजना सार्वजनिक गरेको छ । अकुत सम्पत्ति थुपार्ने माथि अनुसन्धान प्रारम्भ गरिएको छ । देउवा दम्पत्ति माथि सम्पति शुद्धीकरणको मुद्दा चलाइएको छ । जेन जी आन्दोलनमा देउवाको घरमा अकुत धनराशि भेटिएको थियो । त्यो एआई निर्मित हो भनेर भ्रम पनि छरियो, अब त्यो अनुसन्धानको विषय भएको छ । सरकारले विस्तारै सबैको फाईल खोल्दैछ ।
बालेन सरकार पूरानो दलको सरकार भन्दा फरकशैलीबाट अघि बढ्दैछ । भर्खर बिवादित श्रममन्त्रीलाई बर्खास्त गरिएको छ । सुशासनको अनूभूति बिस्तारै देखिन थालेको छ । यहि पृष्ठभूमिमा उपसभामुखको विषयमा पार्टी अध्यक्ष र प्रधानमन्त्रीबीच तालमेल नभएको समाचारले सबैलाई दुखी बनाएको छ । यो दूईतिहाई नजिकको सरकार हो । यसलाई संसदमा र जनताको बीच चुनौति दिन सकिँदैन । यसले अकण्टक आफ्नो कार्यकालसम्म काम गर्छ नै । यो सरकारले कसैसँग अपवित्र सम्झौता गर्नु पर्दैन । तर पार्टी भित्र बेमेल भयो, पार्टी र सरकारको तालमेल बिग्रियो भने त्यो दुर्भाग्य नै हुन्छ । अहिले बजारमा रवि र बालेन बीच तिक्तता छ भनेर ठूलो भ्रमको खेति हुँदैछ । विगतका पुराना पार्टी जस्तै प्रवृत्ति यसमा देखियो भने त्यसले सबै जोगी कानै चिरेको भन्ने सन्देश प्रवाह हुन्छ र जुन फागुन २१ गतेको मतादेशको विपरित कदम हुन्छ ।
रवि लामिछानेले यो यथार्थ बुझेका छन् । त्यसैले त उनले त्याग देखाएर बालेन्द्र शाहलाई अघि बढाएका हुन् । देश बनाउने हुटहुटी बोकेको सरकारलाई अब गलत गर्ने छुट छैन । सरकारको गति तीव्र छ । जेन जी आन्दोलनको मर्म अनूरूप केपि, लेखकहरू पक्राउ परेका थिए । तर विधि, प्रक्रिया मिलाइएन भन्ने आरोप सरकारले खेप्यो । कानूनसम्मत ढंगबाट आरोपीलाई सजाय दिलाउनुपर्छ । अहिले केपि, लेखक छूटेका छन् । अदालतले परमादेश जारी गरेर केपि, लेखकलाई थूनामुक्त गर्नु भन्यो । तसर्थ सरकार कानुन, विधिसम्मत ढंगले अघि बढ्नु पर्छ । भ्रष्ट्राचारको फाईल अब खोल्दै जानुपर्छ, अकुत सम्पति थुपार्नेहरूको छटपटाहट सुरू भैसकेको छ । अर्को तर्फ निजि क्षेत्र र व्यापारीहरूका लागि अर्थमन्त्रीले केहि सुधारात्मक कार्यक्रम घोषणा गरेका छन् भने अर्को तर्फ हिजोदेखि शक्तिको आडमा गैरकानूनी रूपमा आर्जन गरेको सम्पति अब अनुसन्धानको दायरामा आएको छ । त्यस्तै यातायात, मालपोत कार्यालयमा हुने बिचौलिया हटाउने कार्यले सेवाग्राहीहरूले सहज महसुस गरेका छन् । रवि लामिछाने जसको नेतृत्वमा एउटा युग परिवर्तन भएको छ । जेन जीहरूको माग र मुद्दामा आफ्नो पार्टीलाई एकाकार गराएर रवि लामिछानेले परिवर्तनलाई आत्मासात गरेका छन् । रास्वपको घण्टीमा यत्रो आकर्षण पछाडि पुराना दलहरूको अर्कमण्यता हो र परिवर्तन चाहने जनमत हो । तसर्थ देश बनाउने यो महान अभियानमा सबै जुटौं । हामी सबैको शत्रु गरिबी, अशिक्षा, बेरोजगारी हो । योसँग सबै नेपाली मिलेर लडौं । अस्तू ।
