हेटौँडा : बागमती प्रदेशको ४ जिल्लामा छुट्टाछुट्टै घटनामा ५ जनाको मृत्यु भएको छ । प्रदेशको काभ्रे, धादिङ, चितवन र नुवाकोट जिल्लामा शनिबार ३ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
चितवनको भरतपुर महानगरपालिका–५, सापकोटा चोकमा मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किएर दुर्घटना एक जनाको मृत्यु भएको छ । शनिबार दिउँसो १२ बजेर १० मिनेटको समयमा फुलबारीबाट शान्तिचोकतर्फ जाँदै गरेको प्र २–०३–००१ प ६८१० नम्बरको मोटरसाइकल र छमुखे चोकदेखि सुन्दर चोकतर्फ जाँदै गरेको प्र ३–०३–००१ प १४१३ नम्बरको स्कुटर एकआपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा मोटरसाइकल चालक बारा जिल्ला घर भई हाल भरतपुर–५, शान्तिचोक बस्ने २७ वर्षीय जय श्रीराम राय गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि भरतपुर अस्पताल लगिएकोमा उपचारकै क्रममा दिउँसो १२ बजेर ५५ मिनेटको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै, स्कुटर पछाडि सवार भरतपुर–४ बस्ने १५ वर्षीय सुमित गुरुङको बायाँ घुँडामा सामान्य चोट लागेको छ । उनको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा संलग्न स्कुटर चालक भरतपुर–१४ बस्ने १८ वर्षीय प्रशान्त परियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काभ्रेको दुलालेश्वर मन्दिर नजिकै एक पुरुष मृत अवस्थामा फेला परेका छन् । शनिबार साँझ ५ बजेर ३० मिनेटको समयमा भूम्लु गाउँपालिका–८ स्थित मन्दिर छेउको प्रतिक्षालयमा विगत ५–६ महिनादेखि बस्दै आएका हाल नाम थर नखुलेको ७० वर्षका पुरुष मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । मुचुल्का पश्चात शवलाई पोस्टमार्टमका लागि धुलिखेल अस्पताल लगिएको छ ।
पृथ्वी लोकमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका–६, जहरेमा सडक निर्माणमा संलग्न एक कामदारको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङ जिल्लाको गढवा गाउँपालिका–२ का ३५ वर्षीय राजुनाथ चौधरी रहेको प्रहरीले जानकारी दिएको छ । शनिबार बिहान ८ बजेको समयमा काम गर्ने क्रममा अचानक रिङ्गटा लागी अस्वस्थ भएपछि उनलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र गजुरी लगिएको थियो । उनलाई स्वास्थ्य केन्द्रका चिकित्सकले बिहान ८ बजेर ३० मिनेटको समयमा मृत घोषणा गरेको प्रहरीले जनाएको छ । राजुनाथ पृथ्वी लोकमार्ग अन्तर्गत सडक निर्माणमा काम गर्दै आएका थिए । अनुसन्धानको क्रममा उनी विगत तीन दिनदेखि ज्वरोका कारण बिरामी रहेका प्रहरीले जनाएको छ ।
नुवाकोटको बेलकोटगढी नगरपालिका–९, खर्कटोलमा रुख काट्ने क्रममा रुखले च्यापिँदा एक जनाको मृत्यु भएको छ । शनिबार बिहान ९ बजेर २५ मिनेटको समयमा स्थानीय ३५ वर्षीय अरुण तामाङको बारीमा कुटमेरोको रुख काट्ने क्रममा सोही स्थानका ३५ वर्षीय प्रेम तामाङको रुखले च्यापिँदा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । रुखले च्यापिँदा अरुण तामाङ ढाडमा चोट लागेर मध्यम घाइते भएका थिए भने ३३ वर्षीय माधव भुजेल सामान्य घाइते भएका छन् । दुवैलाई उपचारका लागि त्रिशुली अस्पताल लगिएकोमा सामान्य उपचार पश्चात दिउँसो ३ बजे डिस्चार्ज गरिएको प्रहरीले जानकारी दिएको छ ।
नुवाकोटको बिदुर नगरपालिका–९, पलास्टरमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ । गत कात्तिक २९ गते राती ८ बजेर ४५ मिनेटको समयमा पलास्टरबाट कोलनीतर्फ आउँदै गरेको बा ५० प १३८३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकमा दुर्घटना हुँदा चालक सोही स्थानका २२ वर्षीय अशोक तामाङ गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ । घाइते तामाङलाई उपचारका लागि त्रिशुली अस्पताल लगिएको थियो । अवस्था गम्भीर भएपछि उनलाई थप उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर र पछि ग्रिनसिटी अस्पतालमा लगिएको थियो । उपचारपछि पुनः त्रिशुली अस्पतालमै ल्याई उपचार भइरहेकोमा शनिबार बिहान ७ बजेर २५ मिनेटको समयमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
