हेटौँडा : बागमती प्रदेशको २ जिल्लामा छुट्टाछुट्टै घटनामा ३ जनाको मृत्यु भएको छ । प्रदेशको चितवन र धादिङ जिल्लामा शुक्रबार ३ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
धादिङको नेत्रावती डवजोङ गाउँपालिका–५ मा भिरबाट लडेर एक जना पुरुषको मृत्यु भएको छ । ५५ वर्षीय रामचन्द्र अधिकारी भीरबाट लडेर मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । बिहीबार उनी मतदान गरी घर फर्किने क्रममा हराएका थिए । उनलाई परिवार तथा स्थानीयले खोजी गर्ने क्रममा शुक्रबार बिहान सोही वडामा रहेको नैनीभीरको गोरेटो बाटोबाट करिब ५ सय मिटर तल अड्किएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
चितवनको रत्ननगर नगरपालिका–४, सेरीमा लडेर एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेका ४२ वर्षीय ओमबहादुर भुजेल रहेको प्रहरीले जनाएको छ । शुक्रबार दिउँसो ३ बजेर ३० मिनेटको समयमा ओमबहादुर आफ्नै घर अगाडिको धारामा जाने क्रममा उनी अचानक लडेका उनको घटनास्थलमा नै मृत्यु भएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
धादिङको गल्छी गाउँपालिका–६, बैरेनी बजारस्थित पृथ्वी राजमार्गमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार साँझ ७ बजेर १० मिनेटको समयमा काठमाडौँबाट गजुरीतर्फ आउँदै गरेको बा ८२ प २९६५ नम्बरको मोटरसाइकल र विपरित दिशातर्फ जाँदै गरेको बा प्र ०२–०६४ प ५७८६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएको प्रहरीले जनाएको छ । दुर्घटनामा ५७८६ नम्बरको मोटरसाइकल चालक गजुरी गाउँपालिका–८ का ३९ वर्षीय होमबहादुर तामाङ गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि बैरेनी अस्पताल लगिएको थियो । उपचारको क्रममा राती ८ बजेको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले बा ८२ प २९६५ नम्बरको मोटरसाइकल चालक २९ वर्षीय राजु ढुङ्गानालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।











