Home अन्तरवार्ता ‘तल्लो कक्षादेखि नै आधार बलियो बनाउनुपर्छ’

‘तल्लो कक्षादेखि नै आधार बलियो बनाउनुपर्छ’

भोगेन्द्र लुइटेल, अध्यक्ष नगरस्तरीय शैक्षिक समन्वय समिति, हेटौँडा

यस वर्षको एसईई आगामी चैत १९ गतेबाट सुरु हुँदैछ । विद्यालय तहको महत्वपूर्ण परीक्षाको रुपमा एसईईलाई लिइन्छ । पछिल्लो समय सरकारले कक्षा–१२ सम्मको शिक्षालाई विद्यालय तहको शिक्षा भने पनि अझै १० कक्षाको वार्षिक परीक्षा नै विद्यालय परीक्षाको रुपमा स्थापित छ । गत वर्ष एसईईमा मकवानपुर जिल्लाको नतीजा राष्ट्रिय एवम् प्रादेशिकस्तर भन्दा कमजोर रह्यो । यद्यपि कतिपय पालिकाले गत वर्ष अघिल्लो वर्षको तुलना एसईईको नतीजामा सुधार ल्याएको थियो । यस वर्षको एसईईको नतीजामा सुधारका लागि पनि मकवानपुरमा पालिका, वडा र विद्यालयले आआफ्नो तहमा मिहिनेत गरेको देखिन्छ । एसईईको अभ्यास परीक्षा र अन्तिम परीक्षाको सन्दर्भमा रहेर नगरस्तरीय शैक्षिक समन्वय समिति हेटौँडाका अध्यक्ष भोगेन्द्र लुइटेलसँग समृद्ध समाज राष्ट्रिय दैनिकका सम्पादक सुरेश श्रेष्ठले गर्नुभएको कुराकानीको सम्पादित अंश :

समाज : यस वर्षको एसईई तयारी परीक्षाको व्यवस्थापन कस्तो रह्यो ?
लुइटेल :
नगरका ३० सामुदायिक माध्यमिक विद्यालयमध्ये २८ विद्यालय सहभागी भए । कुल १ हजार ६ सय ४८ विद्यार्थीले परीक्षा दिए । विषय विज्ञबाट प्रश्नपत्र तयार गरी विद्यालयमा वितरण गरियो । परीक्षा सञ्चालन शान्तिपूर्ण रह्यो, सामान्य छपाइ समस्या बाहेक अन्य कठिनाइ आएन ।

समाज : नतिजा कहिलेसम्म सार्वजनिक हुन्छ ?
लुइटेल :
एसईई अभ्यास परीक्षाको नतीजा फागुन १० गतेभित्र प्रकाशन गरी विद्यार्थीलाई पृष्ठपोषण दिने र आवश्यक परे उपचारात्मक कक्षा सञ्चालन गर्ने तयारी छ । एसईई केही पछि सरेकाले तयारीका लागि अझै समय छ । करिब डेढ महिना विद्यार्थीले तयारीको अवसर प्राप्त गर्नेछन् ।

समाज : अहिले विद्यालयहरूले ‘क्लोज क्याम्प’ सञ्चालन गरिरहेका छन् । यसको प्रभाव कस्तो देख्नुहुन्छ ?
लुइटेल :
विद्यार्थीलाई केन्द्रित वातावरणमा पढाउन क्याम्प प्रभावकारी देखिएको छ । कतिपय पालिका र वडाले पनि सहयोग गरेका छन् । तर अनुगमन र सुपरिवेक्षण पक्ष अझ सुदृढ हुन जरुरी छ । कतिपय विद्यालयमा क्लोज क्याम्प राख्दा पनि नतीजामा सुधार भएको छैन भने अधिकांशमा यसको राम्रो प्रभाव छ ।

समाज : सिकाइ सुधारका लागि मुख्य रुपमा के कुरामा ध्यान दिनुपर्ला ?
लुइटेल :
केवल एसईईमा मात्र केन्द्रित भएर हुँदैन । तल्लो कक्षादेखि नै आधार बलियो बनाउनुपर्छ । अहिलेका विद्यार्थीलाई प्रविधिसँग जोडेर सिकाइ गराउनुपर्छ । साथै अभिभावक र शिक्षकबीच निरन्तर समन्वय आवश्यक छ ।

समाज : एसईईमा सहभागी हुने विद्यार्थीका अभिभावक र शिक्षकका लागि तपाइँको सन्देश ?
लुइटेल :
अभिभावकले घरमा पढ्ने वातावरण बनाउनुपर्छ, अनावश्यक दबाव दिनुहुँदैन । शिक्षकहरूले विद्यार्थीको कमजोरी पहिचान गरी नियमित अभ्यास गराउनुपर्छ, विशेषगरी गणितजस्ता विषयमा ।

समाज : अन्त्यमा एसईईमा सहभागी हुने विद्यार्थीलाई के भन्नुहुन्छ ?
लुइटेल :
हालै एसईई अभ्यास परीक्षा सकिएको छ । त्यसको नतीजा क्रमशः सार्वजनिक हुनेछ । अभ्यास परीक्षाको नतीजालाई विश्लेषण गरेर बाँकी समयलाई सही सदुपयोग गर्नुहोस् । लेखेर पढ्ने बानी बसाल्नुहोस् र नजानेका कुरा सोध्न नहिचकिचाउनुहोस् । आत्मविश्वासका साथ तयारी गर्नुहोस् । सबैलाई सफलताको शुभकामना ।

Exit mobile version