हेटौँडा : हेटौँडा–४ स्थित सत्यम जेभियर्स माध्यमिक विद्यालयको अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । बुधबार विभिन्न साँस्कृतिक कार्यक्रमसहित विद्यालयले अभिभावक दिवस मनाएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् संस्थापक निर्देशक बद्री प्रसाद पुडासैनीको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाकी नगरप्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य राख्दै विद्यालयकी प्रधानाध्यापक गीता आचार्य पुडासैनीले बालबालिकालाई नियमित रूपमा विद्यालय पठाउन र घरमा पनि उनीहरूको शैक्षिक गतिविधिलाई नजिकबाट निगरानी गर्न अभिभावकहरूलाई अनुरोध गर्नुभयो ।
अभिभावक दिवसको अवसरमा विद्यालयमा लामो समयदेखि कार्यरत शिक्षक भवानी शिवाकोटी र एसईईमा शतप्रतिशत नतिजा ल्याउन सफल शिक्षक पुष्पा गुरुङ सम्मान गरिएको थियो । शिवाकोटी २०७० सालदेखि विद्यालयमा कार्यरत हुनुहुन्छ । यस्तै विद्यालयले आफ्ना शिक्षक प्रनिस घिमिरेलाई बुधबार विदाई गरेको छ । कार्यक्रममा शैक्षिक सत्रभरि सञ्चालित परीक्षा तथा खेलकुद प्रतियोगिताहरूमा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरूलाई मेडल, ट्रफी र प्रमाणपत्र वितरण गरेको थियो ।
