यस वर्षको एसईई आगामी चैत १९ गतेबाट सुरु हुँदैछ । विद्यालय तहको महत्वपूर्ण परीक्षाको रुपमा एसईईलाई लिइन्छ । पछिल्लो समय सरकारले कक्षा–१२ सम्मको शिक्षालाई विद्यालय तहको शिक्षा भने पनि अझै १० कक्षाको वार्षिक परीक्षा नै विद्यालय परीक्षाको रुपमा स्थापित छ । गत वर्ष एसईईमा मकवानपुर जिल्लाको नतीजा राष्ट्रिय एवम् प्रादेशिकस्तर भन्दा कमजोर रह्यो । यद्यपि कतिपय पालिकाले गत वर्ष अघिल्लो वर्षको तुलना एसईईको नतीजामा सुधार ल्याएको थियो । यस वर्षको एसईईको नतीजामा सुधारका लागि पनि मकवानपुरमा पालिका, वडा र विद्यालयले आआफ्नो तहमा मिहिनेत गरेको देखिन्छ । एसईईको अभ्यास परीक्षा र अन्तिम परीक्षाको सन्दर्भमा रहेर नगरस्तरीय शैक्षिक समन्वय समिति हेटौँडाका अध्यक्ष भोगेन्द्र लुइटेलसँग समृद्ध समाज राष्ट्रिय दैनिकका सम्पादक सुरेश श्रेष्ठले गर्नुभएको कुराकानीको सम्पादित अंश :
समाज : यस वर्षको एसईई तयारी परीक्षाको व्यवस्थापन कस्तो रह्यो ?
लुइटेल : नगरका ३० सामुदायिक माध्यमिक विद्यालयमध्ये २८ विद्यालय सहभागी भए । कुल १ हजार ६ सय ४८ विद्यार्थीले परीक्षा दिए । विषय विज्ञबाट प्रश्नपत्र तयार गरी विद्यालयमा वितरण गरियो । परीक्षा सञ्चालन शान्तिपूर्ण रह्यो, सामान्य छपाइ समस्या बाहेक अन्य कठिनाइ आएन ।
समाज : नतिजा कहिलेसम्म सार्वजनिक हुन्छ ?
लुइटेल : एसईई अभ्यास परीक्षाको नतीजा फागुन १० गतेभित्र प्रकाशन गरी विद्यार्थीलाई पृष्ठपोषण दिने र आवश्यक परे उपचारात्मक कक्षा सञ्चालन गर्ने तयारी छ । एसईई केही पछि सरेकाले तयारीका लागि अझै समय छ । करिब डेढ महिना विद्यार्थीले तयारीको अवसर प्राप्त गर्नेछन् ।
समाज : अहिले विद्यालयहरूले ‘क्लोज क्याम्प’ सञ्चालन गरिरहेका छन् । यसको प्रभाव कस्तो देख्नुहुन्छ ?
लुइटेल : विद्यार्थीलाई केन्द्रित वातावरणमा पढाउन क्याम्प प्रभावकारी देखिएको छ । कतिपय पालिका र वडाले पनि सहयोग गरेका छन् । तर अनुगमन र सुपरिवेक्षण पक्ष अझ सुदृढ हुन जरुरी छ । कतिपय विद्यालयमा क्लोज क्याम्प राख्दा पनि नतीजामा सुधार भएको छैन भने अधिकांशमा यसको राम्रो प्रभाव छ ।
समाज : सिकाइ सुधारका लागि मुख्य रुपमा के कुरामा ध्यान दिनुपर्ला ?
लुइटेल : केवल एसईईमा मात्र केन्द्रित भएर हुँदैन । तल्लो कक्षादेखि नै आधार बलियो बनाउनुपर्छ । अहिलेका विद्यार्थीलाई प्रविधिसँग जोडेर सिकाइ गराउनुपर्छ । साथै अभिभावक र शिक्षकबीच निरन्तर समन्वय आवश्यक छ ।
समाज : एसईईमा सहभागी हुने विद्यार्थीका अभिभावक र शिक्षकका लागि तपाइँको सन्देश ?
लुइटेल : अभिभावकले घरमा पढ्ने वातावरण बनाउनुपर्छ, अनावश्यक दबाव दिनुहुँदैन । शिक्षकहरूले विद्यार्थीको कमजोरी पहिचान गरी नियमित अभ्यास गराउनुपर्छ, विशेषगरी गणितजस्ता विषयमा ।
समाज : अन्त्यमा एसईईमा सहभागी हुने विद्यार्थीलाई के भन्नुहुन्छ ?
लुइटेल : हालै एसईई अभ्यास परीक्षा सकिएको छ । त्यसको नतीजा क्रमशः सार्वजनिक हुनेछ । अभ्यास परीक्षाको नतीजालाई विश्लेषण गरेर बाँकी समयलाई सही सदुपयोग गर्नुहोस् । लेखेर पढ्ने बानी बसाल्नुहोस् र नजानेका कुरा सोध्न नहिचकिचाउनुहोस् । आत्मविश्वासका साथ तयारी गर्नुहोस् । सबैलाई सफलताको शुभकामना ।










