हेटौँडा : हेटौँडा–४ स्थित मकवानपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २६ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार संस्थाको सञ्चालक समिति अध्यक्ष विजयसागर श्रेष्ठको सभाध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो ।
कार्यक्रममा अध्यक्ष श्रेष्ठले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । संस्थामा ८ सय ४५ जना महिला र १ हजार ७ सय ३१ जना पुरुष गरी कुल २ हजार ५ सय ७६ जना शेयर सदस्यहरु रहेका छन् । आर्थिक वर्ष २०८१/०८२ मा संस्थाको शेयर पुँजी २ करोड २७ लाख ३० हजार ९ सय रुपैयाँ र निक्षेप रकम २४ करोड ८० लाख ९१ हजार १ सय ८९ रुपैयाँ रहेको छ । संस्थाले आर्थिक वर्ष २०८१/०८२ मा १७ करोड ३३ लाख ८९ हजार ६ सय ६२ रुपैयाँ कर्जा लगानी गरेको थियो ।
यसैगरी संस्थाले ३ करोड ४० लाख ४३ हजार ५ सय १४ रुपैयाँ आम्दानी प्राप्त गर्दा ३ करोड २१ लाख ६५ हजार ४ सय ८० रुपैयाँ खर्च गरेको छ । संस्थाले यो वर्ष करकट्टी गरी १८ लाख ५० हजार ६ सय ९२ रुपैयाँ खुद नाफा प्राप्त भएको रकममध्ये विभिन्न कोषहरुमा कट्टा गरी ६ लाख २० हजार ४ सय ४४ रुपैयाँ लाभांश वितरण गर्ने संस्थाले जनाएको छ ।
संस्थाको कुल सम्पत्ति ३१ करोड ५८ लाख २ हजार ८ सय १७ रुपैयाँ रहेको छ । संस्थाले महिला शेयर सदस्यलाई दुईवटा सन्तानसम्म सुत्केरी खर्चबापत २ हजार रुपैयाँ र शेयर सदस्यको मृत्यु हुँदा १० हजार रुपैयाँ दिँदै आएको छ । संस्थाले चालु आर्थिक वर्ष २०८२/०८३ बाट प्रत्येक सदस्यहरुबाट बिमाबापत वार्षिक २ सय ५० रुपैयाँ जम्मा गर्ने र शेयर सदस्यको मृत्यु भएमा १० हजार रुपैयाँ किरिया खर्च प्रदान गर्ने कार्यलाई निरन्तर दिने जनाएको छ ।
यस्तै, दुर्घटना भई मृत्यु भएमा बीमा कम्पनीबाट १ लाख रुपैयाँ प्रदान गराइनेछ । बीमा रकम जम्मा नगरेको शेयर सदस्यहरुको हकमा मृत्यु भएको खण्डमा दाह संस्कारबापत २ हजार रुपैयाँ प्रदान गरिने संस्थाले जनाएको छ । संस्थाले चालु आर्थिक वर्ष २०८२/०८३ को अन्त्यसम्ममा शेयर सदस्य संख्या २ हजार ७ सय जना र शेयर पुँजी २ करोड ५० लाख पुर्याउने लक्ष्य लिएको छ । कार्यक्रममा सञ्चालक समिति र शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।











