हेटौँडा : हेटौँडा–१५, फारलाइनस्थित वनदेवी आधारभूत विद्यालयले अभिभावक र विद्यार्थीसँग अन्तरक्रिया गरेको छ । शनिबार कक्षा ८ को नतिजा सुधार गर्ने तथा अभिभावकलाई आफ्ना बालबालिकाको पठनपाठन प्रति चासो जगाउने उद्देश्यले अन्तरक्रियाको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक जयप्रसाद पोखरेलले जानकारी दिनुभयो ।
विद्यार्थीको पढाई प्रति अभिभावकको चासो घट्दै गएका कारण आफ्ना विद्यार्थीप्रति चासो बढोस् र अभिभावकको सक्रिय सहभागिता रहोस् भन्ने उद्देश्यले अन्तरक्रिया गरिएको प्रधानाध्यापक पोखरेलले बताउनुभयो । पछिल्लो समयमा अभिभावकले पढाई प्रति चासो नदेखाउँदा विद्यार्थीको पढाई खस्कँदो अवस्थामा रहेको र अभिभावक शिक्षा कमि नहोस् भनेर कार्यक्रमको आयोजना गरिएको उहाँले बताउनुभयो । गएको वर्ष आधारभूत तहको परीक्षामा १६ जना सहभागी भएकोमा ११ जना नियमिततर्फ र ३ जना मौका परीक्षामा ग्रेडेड भएका थिए । २ जना भने नन्ग्रेडेड भएका थिए ।
८ कक्षासम्म पठनपाठन हुने विद्यालयमा २०८१ सालमा ३३० जना भर्ना भएका थिए । २०८२ सालमा ८० जना विद्यार्थी संख्या घट्दै २५० जना विद्यार्थी थिए । २०८२ सालको तुलनामा यस वर्ष विद्यार्थी संख्या बढ्ने प्रधानाध्यापक पोखरेलले बताउनुभयो । बैशाख १५ गतेबाट भर्ना अभियान संचालन गर्दा शनिबारसम्म १६० जना विद्यार्थी भर्ना भएका छन् ।
विद्यालयमा बसको सुविधा नभएका कारण विद्यार्थी संख्या घटेको बताउँदै यस वर्षबाट विद्यालयले म्याजिक गाडी संचालन गर्न लागेको प्रधानाध्यापक पोखरेलले बताउनुभयो । उहाँका अनुसार अभिभावकसँग सल्लाह गरेर यस वर्षबाट म्याजिक संचालन गर्न लागिएको र विद्यालयको साधन हुँदा विद्यार्थी संख्या बढ्नेछ । विद्यालयले गाडी संचालनका लागि विद्यालयका पिटिए अध्यक्ष डिल बहादुर लोप्चनलाई जिम्मेवारी दिएको छ ।
विद्यालयले यस वर्ष निःशुल्क भर्ना, अभिभावक र विद्यालयको ५०/५० प्रतिशत लागतमा नयाँ पोशाक, ५ कक्षासम्म निःशुल्क खाजा, मोवाइल शिक्षकको व्यवस्था, नगरपालिकाको बजेटमा नयाँ क्यान्टीनको व्यवस्था, रमणीय वातावरणमा पठनपाठन गराइने उहाँले बताउनुभयो । नेपाल सरकारको निर्णय अनुसार विद्यालय सोमबारबाट संचालन गरिने उहाँको भनाई छ । विद्यालयमा विद्यार्थीहरुलाई नयाँ ढङ्गले स्वागत गर्नका लागि तयारी गरिएको प्रधानाध्यापक पोखरेलले जानकारी दिनुभयो ।
विद्यालयमा कम्प्युटर, विज्ञान प्रयोगशाला, पुस्तकालयको राम्रो व्यवस्था रहेको छ भने ५ कक्षासम्म अङग्रेजी माध्यममा पठनपाठन हुने, सिसि क्यामेराको व्यवस्था, सबै कक्षामा टिभीको व्यवस्था रहेको प्रधानध्यापक पोखरेलले बताउनुभयो । विद्यालयले शिक्षामा अझै सुधार गर्ने उद्देश्यले मोवाइल शिक्षकको व्यावस्था गरेको हो । कुनै शिक्षक नआएर कक्षा खाली भएमा मोवाइल शिक्षकले पठनपाठन गराउने उहाँले बताउनुभयो ।
अन्तरक्रिया प्रधानाध्यापक पोखरेलको सभाध्यक्षता तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष जयनारायण श्रेष्ठको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा पिटिए अध्यक्ष डिल बहादुर लोप्चन, विद्यालयका सल्लाहकार रोहितराज मैनाली, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु ओमकार भट्ट, रिमनी लामा, पिटिए सदस्यहरु निर्मला पाख्रिन र चन्द्रमाया डिम्डुङको उपस्थिति रहेको थियो ।











