हेटौँडा : बागमती प्रदेशको ३ जिल्लामा एकैदिन ३ जनाको मृत्यु भएको छ । प्रदेशको सिन्धुली, चितवन र काभ्रे जिल्लामा मंगलबार ३ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

सिन्धुलीको गोलन्जोर गाउँपालिका–३, ग्वालटारस्थित मध्यपहाडी लोकमार्ग किनारको प्रतिक्षालयमा एक पुरुष मृत फेला परेका छन् । मृत्यु हुनेमा रामेछाप जिल्लाको रामेछाप नगरपालिका–७ घर भई हाल ग्वालटारमा बस्दै आएका ८० वर्षीय डम्मरबहादुर श्रेष्ठ रहेको प्रहरीले जानकारी दिएको छ । सोमबार ६ बजेर ५५ मिनेटको समयमा डम्मरबहादुर मृत फेला परेका थिए ।

चितवनको भरतपुर महानगरपालिका–१५, मंगलपुरमा एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२६ मेघौली घर भई मंगलपुरस्थित माइती घर आएकी २२ वर्षीया पार्वती सुवेदी रहेको प्रहरीले जानकारी दिएको छ । सोमबार दिउँसो २ बजेको समयमा पार्वती अचानक ढलेर बेहोस भएकी थिइन् । उनलाई उपचारका लागि भरतपुर सरकारी अस्पताल लगिएकोमा चिकित्सकले स्वास्थ्य जाँच गर्ने क्रममा दिउँसो २ बजेर ३० मिनेटको समयमा मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।

काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–७, सञ्जीवनीचोकस्थित जिल्ला प्रशासन कार्यालयको हाल प्रयोगमा नआएको तीनतले भवनको दोस्रो तलामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । सोमबार दिउँसो २ बजेको समयमा हाल नाम थर नखुलेको अन्दाजी ४५ वर्षीय पुरुष मृत फेला परेको प्रहरीले जानकारी दिएको छ । शव पोस्टमार्टमका लागि धुलिखेल अस्पताल, काभ्रेपलाञ्चोक लगिएको छ । प्रहरीका अनुसार मृतकको शरीरका विभिन्न भाग जलेको जस्तो देखिएकोले घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।