हेटौँडा : मकवानपुरको इन्द्रसरोवर गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा ‘इन्द्रसरोवर कप–२०८३’ सुरु भएको छ । बुधबारदेखि सुरु भएको उक्त प्रतियोगिता आगामी मंगलबारसम्म सञ्चालन हुने गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष रत्नबहादुर थापाले जानकारी दिनुभयो ।

प्रतियोगितामा पुरुष फुटबलसहित पुरुष तथा महिला भलिबलका खेलहरू भइरहेका छन् । अध्यक्ष थापाका अनुसार प्रतियोगिता लिग प्रणालीमा सञ्चालन भइरहेको छ, जसमा गाउँपालिका भित्र सञ्चालित विभिन्न क्लबहरूको सहभागिता रहेको छ । भलिबलतर्फ महिला र पुरुष दुवै विधामा ६–६ वटा टोली सहभागी छन् भने फुटबलतर्फ ८ वटा टिमबीच प्रतिस्पर्धा भइरहेको छ ।

प्रतियोगिताको पुरुष फुटबलतर्फ विजेता हुने टोलीले नगद ७० हजार रुपैयाँ र उपविजेताले ३५ हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । फुटबलको प्रत्येक खेलमा ‘म्यान अफ द म्याच’ घोषित हुने खेलाडीलाई १ हजार ५ सय रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । यसैगरी व्यक्तिगत विधातर्फ प्रतियोगिताका सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलकिपरलाई जनही २–२ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ ।

यस्तै, भलिबलतर्फ विजेता टोलीले ३० हजार र उपविजेताले १५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । भलिबलका दुवै विधा (महिला र पुरुष) मा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ । जसअन्तर्गत विधागत रूपमा उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर र उत्कृष्ट लिब्रोले जनही २–२ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।