बागमती प्रदेशको राजधानी हेटौँडा र संघीय राजधानी काठमाडौँ आवतजावत गर्ने थुप्रै सडकमार्ग रहेका छन् । साना सवारी साधनका लागि सबैभन्दा चल्ती र छोटो बाटो भनेको कुलेखानी हुँदै जाने हो । यो बाटो भएर अहिले करिब ३ घण्टामै हेटौँडा–काठमाडौं यात्रा गर्न सकिने अवस्था छ । हेटौँडामात्र नभई पर्सा, बारा, रौतहट, सर्लाहीसम्मका यात्रुवाहक साना सवारी साधन यही बाटो भएर काठमाडौँ आउने जाने गर्दछन् । यो बाटोमा गुड्ने मोटरसाइकल र निजी सवारी साधनको संख्या पनि कम छैनन् । बिपी राजमार्गमा कुनै समस्या भएमा काठमाडौँबाट पूर्वी नेपालका विभिन्न ठाउँमा जाने साना सवारी साधन कुलेखानी–भीमफेदी हुँदै सञ्चालन हुने गरेका छन् । यो सडक साँघुरो, घुमाउरो र उकालो–ओरालो भएका कारण दुर्घटनाको उच्च जोखिममा रहेको छ । आइतबार भीमफेदी–कुलेखानी सडकखण्डको जुरिखेतमा सुमो जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु हुनुले उक्त सडक जोखिमपूर्ण रहेको पुष्टि हुन्छ ।
हेटौँडा–भीमफेदी–कुलेखानी–काठमाडौं सडकका विभिन्न भाग विभिन्न कालखण्डमा निर्माण भएका छन् । हेटौँडाबाट भीमफेदीसम्म राणा शासन कालदेखि नै गाडी गुड्ने गर्दथ्यो । हेटौँडादेखि भैँसेसम्म त्रिभुवन राजपथको सडकखण्ड रहेकाले साँघुरो भए पनि राम्रै छ । भैँसेदेखि भीमफेदीसम्म राणा शासन कालदेखिकै सडकलाई हालै फराकिलो पारेर स्तरीकरण गरिएकाले यातायात साधन सहज सञ्चालन हुन्छन् । यस सडक खण्डको सबैभन्दा जोखिमपूर्ण भनेको भीमफेदी–देउराली–कुलेखानी खण्ड हो । कुलेखानी जलविद्युत् आयोजना निर्माणको क्रममा आयोजनाले नै बनाएको यो सडकखण्ड करिब डेढ दशकअघि मात्र सार्वजनिक भएको हो । निकै साँघुरो, घुमाउरो, ठाडो उकालो–ओरालो यो सडकखण्डमा बारम्बार सवारी साधन दुर्घटना हुने गरका छन् । कुलेखानीबाट सिस्नेरी र फाखेल हुँदै फर्पिङसम्मको अलग–अलग सडकखण्ड विगतको ग्रामीण सडकलाई स्तरीकरण गरेर प्रयोगमा ल्याइएको हो । फर्पिङदेखि काठमाडौंसम्मको सडक पुरानो र हाल राम्रो अवस्थामा छ ।
छोटो बाटो भएकाले अप्ठेरो भए पनि विगतदेखि नै साना सार्वजनिक र निजी सवारी साधन सञ्चालन भइरहेको यो बाटोको अवस्थामा धेरै सुधार आइसकेको छ । पछिल्लो समय प्रदेश सरकारले प्राथमिकता दिएर यो बाटोको धेरै खण्डहरुको स्तरोन्नति भइसकेको अवस्थामा पनि बारम्बार सवारी साधन दुर्घटना हुनुमा सडकको अवस्थामा मात्र कारक नहुन सक्छ । सोमबार ६ जनाको मृत्यु र ३ जना गम्भिर घाइते हुनेगरी भएको सुमो दुर्घटनापछि धेरैले उक्त सडकखण्डको अवस्था र सार्वजनिक यातायात क्षेत्रमा भइरहेको लापरबाहीलाई दोष लगाइरहेका छन् । हुन पनि कुलेखानी भएर हेटौँडा–काठमाडौं चल्ने सवारी साधनको संख्या र सवारी साधनको हालत उपयुक्त छैन । झण्डै दुई दशक पुराना र थोत्रो अवस्थाका सुमो, तिब्र गतिमा गुडाइने इभी भ्यान, यात्रु चाप र सडकको क्षमताभन्दा धेरै सवारी साधन नै यस बाटोमा हुने दुर्घटनाको कारण देखिन्छ ।
नहुनुपर्ने दुर्घटना भइसक्यो । दुर्घटनाबाट भएको जीवनको क्षति अपुरणीय छ । भविष्यमा यस्ता दुर्घटना हुन नदिन सबै सचेत बन्नुपर्छ । त्यो भन्दा पनि बढी दुर्घटना किन र कसरी भयो भन्ने कुरा महत्वपूर्ण हुन्छ । दुर्घटनामा घाइते र मृत्यु भएकाहरुको पहिचान हुन ५–६ घण्टाभन्दा बढी लाग्नु, २४ घण्टासम्म पनि सबैको पहिचान हुन नसक्नु, कुन कम्पनीको सुमो जिप दुर्घटना भयो भन्ने कुरा सार्वजनिक नहुनुले हाम्रो सार्वजनिक यातायात प्रणालीलाई गिज्याइरहेको छ । मानिसको ज्यान जानेजस्तो गम्भिर कुरामा राज्यका निकाय र यातायात व्यवसायी जिम्मेवार बनेको देखिएन । सुमो सञ्चालक तथा कम्पनीले यात्रा गर्ने यात्रुको पहिचानसमेत खुलाउन नसक्नुले सार्वजनिक यातायात क्षेत्र लथालिङ्गै रहेको र यसले भविष्यमा अझ जटिल अवस्था निम्तन सक्नेतर्फ संकेत गरेको बुझ्न सकिन्छ ।











