रवि, बालेन र कुलमानको एकताले राष्ट्रिय राजनीति तरंगीत भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको झण्डा र चुनाव चिन्ह मुनि गोलबद्ध यी तीनै जना अहिले चर्चित, लोकप्रिय र जनताले बढि पछ्याउने व्यक्तिहरू हुन् । यी तीनै व्यक्ति अहिलेको नेपाली राजनीतिमा जनविश्वास, कार्यक्षमता र परिवर्तनको प्रतीक मानिन्छन् । यी त्रय व्यक्तिहरूको सहमतिले एकातिर परम्परागत राजनीतिक शक्तिलाई झस्काइदिएको छ भने अर्कोतिर परिवर्तन चाहने युवा पुस्तालाई उत्साहित बनाएको छ । यद्यपि यो उत्साहले कुन आकार लिन्छ भन्ने जान्न निर्वाचनसम्म कुर्नुपर्ने हुन्छ । तर जसरी बिहानले दिनको संकेत गरे झैँ रास्वपाप्रतिको बढ्दो लहरले आगामी निर्वाचन परम्परागत राजनीति शक्तिको लागि फलामको च्यूरा साबित हुँदैछ । नयाँ शक्तिको रुपमा उदाएको यो दलले पुराना दलहरूलाई ठूलो चुनौती दिने सम्भावना बलियो छँदैछ भने यस्ले कांग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टीजस्ता दलहरूलाई सिधा दबाब दिने देखिन्छ । तसर्थ रवि, बालेन र कुलमानको एकता नेपालको राजनीतिमा टर्निङ प्वाइन्ट हुनसक्छ । अहिले मुलुकको राष्ट्रिय राजनीति तिब्र ध्रुवीकरण भएको छ । विचार मिल्नेहरूले एउटै पार्टी बनाउँदैछन् ।
जेनजी आन्दोलनपछि बदलिँदो राजनीति परिदृश्यमा नवयुवाहरूको राजनीतिमा सक्रिय हस्तक्षेप अस्वाभाविक होइन । पुराना दल राजनीतिकरूपमा अपडेट हुन सकेनन् । यी जड देखिए । आन्दोलनले हुत्याएकाहरूकै नेतृत्वमा निर्वाचनमा जाने दुस्साहस पीडादायी हुन्छ नै । देश बनाउने हटहटी बोकेका जेनजीजहरू पार्टीको रूपमा उदय हुन सकेनन् । तर यिनका माग र मुद्दा अहिले पनि जीवित नै छ । निर्वाचनमात्र सम्पन्न गर्ने एकोहोरो रटले जेनजी आन्दोलनको मुद्दा दिनप्रतिदिन ओझेल हुँदैछ । गगन थापा भन्दै थिए– ‘निर्वाचनपूर्व सबै राजनीति दल, जेनजी, नागरिक समाज, सरकार सर्वपक्षीयरूपमा एउटा सम्झौता गराँंै जुन सम्झौतामा भ्रष्टाचारको अन्त्य, सुशासनको ग्यारेण्टीसहित शासकीय संरचना कहाँ–कहाँ फेरबदल गर्ने यसका लागि कानुन र संवैधानिक प्रबन्ध गर्ने कुरा सहमति गरेर बल्ल निर्वाचनमा जाने र आउने सरकार र संसदले त्यस्को अपनत्व लिने र यसलाई कार्वान्वयनमा लिएर जाने । यति गर्न सक्यो भने जेनजीको माग पूरा हुन सक्छ ।’ यो पनि एउटा बाटो हो । कांग्रेसभित्र अहिले ठूलो बिवाद छ, निर्वाचनमा जाँदा नयाँ नेतृत्व परिवर्तन गरेर जाने गगन, विश्वप्रकाशको माग र दवाब विशेष महाधिवेशको तयारीसँगै कांग्रेसभित्र विभाजनको रेखा स्पष्ट देखिँदैछ । पुराना दलहरूमा पुनर्गठित र नयाँ ढंगले अघि जान खोज्ने चिन्तनलाई यथास्थितिवादी शक्तिले बाटो छेकिराखेका छन् । यस्तो अवस्थामा रास्वपा नयाँ शक्ति र व्यक्तिहरूलाई समेट्दै सबैको आशाको केन्द्र हुँदैछ ।
रवि लामिछानेले यसबिच ठूलो छाती गरेर बालेन र कुलमानलाई ससम्मान पार्टीमा समावेश गरे । बालेनलाई भावी प्रधानमन्त्रीको रुपमा प्रस्तुत गरेर रास्वपाले राष्ट्रिय राजनीतिलाई अब युवाहरुको आर्कषण थलो बनाउन खोज्दैछ । रवि, बालेन र कुलमान यी तीनै जनाका आ–आफना विशेषता छ । बालेन नगर प्रमुख भएर स्थापित भएका व्यक्ति हुन । स्थानीय तहमा देखाएको प्रशासनिक दृढता र परिणाममुखी नेतृत्वले यिनको क्रेज ह्वात्त बढेको देखिन्छ । त्यस्तै, कुलमानले सार्वजनिक संस्थानमा सुधार, पारदर्शिता र इमानदारीको प्रतीक बनेर देखाएको व्यवस्थापकीय क्षमताले यिनको शाख बढेको छ । रविको सक्रियता र स्थापित दलविरुद्ध जनआक्रोशलाई राजनीतिक शक्तिमा रूपान्तरण गरेको अनुभव एकै ठाउँमा जोडिँदा यसले पुराना दलहरूको शक्ति सन्तुलनललाई गम्भीर रूपमा चुनौती दिने देखिन्छ । यो एकताले युवा र निराश मध्यमवर्ग र गैरदलीय मतदातालाई सक्रिय बनाउँदै नेता होइन, प्रणाली बदल्ने राजनीतिक बहसलाई केन्द्रीय स्थान दिन सक्छ । यसका कारण आगामी निर्वाचनहरूमा व्यक्तित्वभन्दा पनि सुशासन, सेवा प्रवाह, भ्रष्टाचारविरुद्धको स्पष्ट एजेण्डा र संस्थागत सुधार निर्णायक मुद्दा बन्ने सम्भावना बढ्नेछ । यतिमात्र होइन, यसखाले एकता नेपाली राजनीतिको नयाँ ध्रुवीकरणले पुराना दलहरूलाई आत्मसुधार गर्न दवाब र प्रेरित गर्छ नै ।
तर, राष्ट्रिय राजनीतिमा यो उदाउँदो शक्तिलाई विदेशी शक्तिबाट परिचालित भन्दै आरोपित गर्न थालिएको छ । लोकप्रियवाद पपुलिष्टको नारा टिक्दैन भन्दै जनताको गुनासा आक्रोशलाई हतियार बनाएर गरिने राजनीति क्षणिक हो भन्दैछन् । अझ कमल थापा त रवि, बालेनहरूलाई जेलेन्स्कीसँग तुलना गर्दै थिए । रवि, बालेन र कुलमानको एकताले सबै शक्तिलाई अत्याएको देखिन्छ । तसर्थ देश बदल्न राजनीतिको कोर्स परिवर्तन गर्न उद्दत जनता फागुन २१ मा कति जागरूक हुन्छन् ? त्योचाहिँ हेर्न बाँकी छ ।
आगामी निर्वाचनमा केपीको मुखदेखि कांग्रेसको रूख, तारा हलो जुवा केहि देख्न नपोरस् भन्नेहरूको जमात धेरै छ । तर त्यो जनताको मतबाट मुखरित हुनपर्छ । तसर्थ फेरि निर्वाचन नै लोकतन्त्रको समाज बदल्ने आधार हो । देश बदल्न राजनीतिको कोर्स परिवर्तन गर्न उद्दत जनता देश यथास्थिति रहने कि नयाँ कोर्सको बाटोसहित नयाँ युगमा प्रवेश गर्ने, फैसला विवेकशील जनताको हो । तसर्थ भोट फेरि पनि मासुभात खाएर खसाल्ने अवस्था रहे नेपाली जनता यथास्थितिमा रहने र देश यहि चक्रमा फस्नेछ ।
अब आशा गरौँ । अब त भावी पुस्तालाई हेरेर विवेक प्रयोग गर्न जरूरी छ । आँसुले भिजेको जनताको मुहार हेरौँ, बिहानदेखि बेलुकीसम्म मिहिनेत गर्दा पनि छोराछोरी पढाउन नस्कने आमाबाबुको लाचारी हेरौँ, विवशतालाई हेरौं । विदेशिएका युवाका पीडालाई हेरांँ । असंख्य पीडाको चाङ्माथि उभिएर रोइरहेको देश हेरेर म नेपाल बदल्न चाहन्छु भन्ने पंक्तिमा उभिएर विवेक प्रयोग गरौँ । सबैको जय होस । अस्तु ।











