हेटौंडा : चेकिङ डिउटीमा खटिएका ट्राफिक प्रहरीलाई घाइते बनाई फरार रहेका चालक तथा सवारी धनीविरुद्ध जिल्ला प्रहरी कार्यालय मकवानपुरले मुद्दा दर्ता गरेको छ । बिहीबार साँझ ६ बजेर ४५ मिनेटको समयमा हेटौँडा–११ थानाभर्याङस्थित ट्राफिक चेकिङको क्रममा ट्राफिक प्रहरी जवानलाई घाइते बनाई चालक फरार भएका थिए ।
फरार चालक हेटौँडा–४ गर्दोईका ४४ का वासुदेव आचार्यलाई शुक्रबार चितवनबाट पक्राउ गरिएको थियो । उनलाई जिल्ला अदालत हेटौँडाबाट १० दिनको म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । त्यसैगरी, उक्त घटनामा संलग्न सवारी तथा चालकलाई भाग्न सहयोग गरेको अभियोगमा सवारी धनी हेटौँडा–११ बस्ने ४२ वर्षीया राधिका विक विरुद्ध पनि अशिष्ट व्यवहार कसूर अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान जारी रहेको छ ।










