देशका विभिन्न क्षेत्रमा स्वास्थ्यकर्मी माथि स्थानीयहरुबाट दुव्र्यवहार हुँदै आएको छ । यस्ता घटना दण्डनीय त छँदैछन् अमानवीय पनि हुन् । आवासको अधिकार सबै नागरिकलाई छ । पेशा व्यवसाय वा जात, धर्म आदिका आधारमा कसैलाई पनि कुनै स्थानमा बसोवासका लागि बञ्चित गर्न पाइँदैन । त्यस माथि कोरोना महामारीमा आफ्नो र परिवारको स्वास्थ्यलाई समेत त्यागेर विरामीहरुका लागि अहोरात्र खटिएका स्वास्थ्यकर्मीहरुप्रति देशका मुख्य सहरका वासिन्दाबाटै दुव्र्यवहार हुनु नेपाली समाजको सभ्यता, मूल्य, मान्यता र परम्परा विपरितका क्रियाकलाप हुन् । अतिथि देवो भवः को संस्कृतिबाट हुर्किएको नेपाली परम्परालाई बिर्सँदै गरिने उदण्ड व्यवहार कानूनीरुपमा अपराध हुन् । यस्तो काम गर्ने वा उक्साउनेहरुलाई कारवाही गर्न ढिला गर्नु हुँदैन ताकि अन्य क्षेत्रमा पनि यस्ता घटना हुन नपाउन् ।

कोरोनाका विरामीको उपचार गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मी मात्र होइन यस्ता विरामीहरुलाई पनि समाजमा सहज वातावरण बन्न सकेको छैन । उनीहरुलाई छरछिमेकीले हेर्ने दृष्टिकोण फरक देखिएको छ । जो सुकैलाई जुनसुकै समयमा कुनै पनि रोग लाग्न सक्छ । विरामी हुनु कुनै अपराध वा पाप होइन । विरामी हुनु सामान्य प्राकृतिक नियम भित्रकै विषय हुन् । यो तथ्यलाई बिर्सिएर नागरिकहरुले फरक व्यवहार गर्ने गरेको गुनासाहरु सुनिएका छन् । यस्तो अवस्था अन्त्य गर्न समाजका अगुवाहरुको जिम्मेवारी हुन्छ । स्थानीय जनप्रतिनिधिदेखि प्रशासनका उपल्लो पदाधिकारीहरुले विरामीहरुको घर भ्रमण गर्ने, उनीहरुसँग कुरा गरिदिने हो भने स्थानीयहरुको व्यवहार परिवर्तन हुन सक्छ । विरामीलाई आत्मबलका साथै छरछिमेकीलाई समेत सचेत बनाउन जरुरी छ ।

पछिल्ला घटना र व्यवहारले समाजमा कोभिड बारे सही जानकारी कम र भ्रम धेरै छ भन्ने कुरा देखाएको छ । कोभिडको अवस्था, बच्ने तरिका तथा सर्ने अवस्थाका विषयमा सही जानकारी नागरिकलाई दिन आवश्यक देखिन्छ । च्याउ जत्तिकै मौलाएका गैरसरकारी संस्थाहरुले यस्तो अवस्थामा भूमिका देखाउन सक्नु पर्दछ । सरकारी कर्मचारी, शिक्षक, पार्टीका कार्यकर्ताहरुले पनि यतिबेला यो जिम्मेवारी पूरा गर्न सक्छन् । राज्यकोषबाट तलब खाएर कामबिहीन भएकाहरुलाई सरकारले जनचेतनाको अभियानदेखि कोभिडका विरामी र उनीहरुका सम्पर्कमा आएकाहरुको खोजीमा लगाउन सक्नु पर्दछ । यसले नागरिकको व्यवहार परिवर्तन हुन सक्छ भने सङ्क्रमण नियन्त्रणमा समेत सहयोग पुग्ने छ । चिकित्सक, स्वास्थ्य र सुरक्षाकर्मीलाई हौसलाको खाँचो छ । त्यस्तो व्यवहार स्थानीयहरुबाट गराउन सरकारी कर्मचारीको काम हुन सक्छ । सरकारले जिम्मेवारी दिनु पर्दछ ।

शारीरिक दूरी कायम गर्ने, मास्क लगाउने तथा फरक शौचालय र भाँडाकुँडा प्रयोग गर्ने हो भने एकैघरमा पनि कोरोना सर्न सक्दैन । स्वास्थ्य सुरक्षाका उपायहरु नअपनाई जथाभावी हिँडेमा जहाँबाट पनि सर्न सक्छ । त्यसैले सुरक्षित रुपमा अर्को घरमा बस्दैमा कुनै फरक पर्ने छैन । यस तथ्यलाई सरकारी संयन्त्र मार्फत सर्वसाधारणलाई जानकारी गराउन आवश्यक देखिएको छ । आफ्नो ज्यान भन्दा जागिर वा अरुको सेवा ठूलो हुँदैन । नागरिकहरुको दुव्र्यवहार बढ्दै गएमा स्वास्थ्यकर्मीहरुले सेवा गर्न छाडेमा विरामीहरुको अवस्था के हुने ? अनि आज दुव्र्यवहारमा उत्रनेहरु नै विरामी पर्दा कसले सेवा दिने ? विरामी जो पनि हुन सक्छ । अर्कोलाई पर्दा अपहेलना गर्ने, वचन लगाउने वा अपमान गर्दा भोलि आफैं कोरोनाबाट सङ्क्रमित भएको खण्डमा के होला भन्ने कुरामा पनि नागरिक गम्भीर हुनै पर्दछ ।