कोभिड–१९ का विरामीहरुलाई उपचार गराउन अस्पतालहरुको अभाव हुने विज्ञहरुले भन्दै आएका हुन् । यसका लागि आवश्यक तयारी गर्न उनीहरुले दिएको सुझावलाई बेवास्ता गर्दा यतिबेला आत्तिनु पर्ने अवस्था श्रृजना भएको छ । सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि मात्र स्वास्थ्य तथा जनासङ्ख्या मन्त्रालय पनि उपचार गराउन मुस्किल हुने सन्देश प्रवाह गरिरहेको छ । पछिल्लो समयमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि उपचारका लागि अस्पताल र स्वास्थ्यकर्मी समेतको अभाव हुन सक्ने भन्दै सङ्क्रमणबाट जोगिन आव्हान गर्दै आएको छ । कोही पनि मानिस कोरोना सङ्क्रमण होस् भन्ने चाहँदैन । अन्जानमा सर्ने भएकाले त्यस बिरुद्ध आवश्यक तयारी गर्नु सम्बन्धित निकायहरुको जिम्मेवारी हो । सरकार आफैं आत्तिएको भाव प्रकट गर्नु भन्दा नागरिकलाई हौसला दिँदै तयारी गर्नु पर्दछ ।
मकवानपुरमा पनि कोरोना सङ्क्रमितको सङ्ख्या दैनिक रुपमा बढ्दै गएको अवस्था छ । यहाँ पनि उपचारका लागि अस्पतालको अभाव हुँदै गएको छ । त्यसैले जिल्लाका सबै स्थानीय तहहरु आइसोलेसन वार्डको तयारीमा जुटेका छन् । हेटौंडामा रहेको आइसोलेसनले मात्रै जिल्लाभरका विरामीहरुलाई उपचार गराउन अपुग हुने भएपछि सङ्क्रमितलाई घरघरमै राख्नु भन्दा आइसोलेसन वार्डमा राखेर उपचार गराउन स्थानीय तहले तयारी थालेका छन् । यो तयारी पहिला नै गर्नुपर्ने थियो । तर ढिलै भए पनि प्रत्येक तहले बनाउने यस्ता वार्डले हेटौंडाका आइसोलेसनमा दवाव कम हुने देखिन्छ । स्थानीय तहहरुले आफ्ना सङ्क्रमित नागरिकको व्यवस्थापन गर्दा सेवा सुविधा पनि सहज हुने छ । यता विरामीले पनि आफ्नै परिवेशमा उपचार पाउने छन् ।
हेटौंडा अस्पतालले सञ्चालन गर्दै आएको हेटौंडा–४, कर्रास्थित आइसोलेसन वार्डमा बेड भरिएपछि गौरिटारमा रहेको खेलाडी छात्रावास पनि प्रयोग गरिएको अवस्था छ । तर जिल्लामा सङ्क्रमितको सङ्ख्या बढ्दै गएकोले यी दुईवटा आइसोलेसन अपुग हुन सक्छन् । त्यसैले जिल्लाका स्थानीय तहहरुले छुट्टै आइसोलेसनको तयारी सुरु गरेका छन् । थाहा नगरपालिकाले १५ वेड र भिमफेदी गाउँपालिकाले १० बेडको आइसेलेसन वार्डको तयारी थालेका छन् । यसका लागि सकेसम्म विद्यालय बाहेकका संरचना उपयोग गर्नु उत्तम हुने छ । सङ्क्रमण कम हुँदै गएमा विद्यालय सञ्चालन हुन सक्छन् तर त्यतिबेलासम्म सबै विरामी सञ्चो भइनसकेको अवस्था हुन सक्छ । त्यसैले भएसम्म विद्यालय बाहेकका संरचनाको खोजी गर्नु बढी उपयोगी हुने छन् । यो तयारीले भोलिका दिनमा अस्वभाविक रुपमा सङ्क्रमण बढ्दै गए व्यवस्थापनमा स्थानीय तहको भूमिका देखिन्छ ।
मकवानपुरको मनहरी गाउँपालिकाले २० बेडको आइसोलेसन वार्डको व्यवस्थापन गरेको छ । यस्तै बकैया गाउँपालिकाले पनि विद्यालयबाट क्वारेन्टिन हटाएर २ वटा स्वास्थ्यचौकीमा आइसोलेसन वार्ड सञ्चालनको तयारी गरेको छ । यता बागमती गाउँपालिकाले पनि १० बेडको वार्डका लागि स्थानको खोजी सुरु गएको छ । यसरी स्थानीय तहबाट गरिएको सक्रियताले नागरिक आश्वस्त बन्न सक्ने वातावरण बनेको छ भने राज्यलाई पनि सहयोग पुग्ने छ । आगामी दिनमा हुन सक्ने चुनौती सामना गर्न तयारी जरुरी छ । राष्ट्रिय सङ्कटको अवस्थामा स्थानीय नागरिकदेखि जननिर्वाचित संस्था र प्रतिनिधिको सहभागिताले कोभिड–१९ विरुद्धको अभियान सफल हुन सक्छ ।