हेटौंडाः हेटौंडाको गौरिटार आइसोलेसनमा बस्ने कोरोना सङ्क्रमितहरुका लागि पानी र फलफुल सहयोग गरिएको छ । आज हेटौंडा–६ र हेटौंडा–१६ का तरुण दलले संयुक्त एक सय कार्टुन मिनरल वाटर र फलफुल तथा तरुण दल नगर सदस्य ज्ञानु महर्जनले ५० कार्टुन मिनरल वाटर सहयोग गर्नुभएको हो ।
आइसोलेसन वार्डमा पानीको समस्या भएपछि सहयोग गरिएको हेटौंडा–६ का वडा सदस्य राजकुमार बास्तोलाले जानकारी दिनुभयो । तरुण दल वडा, नगर र जिल्ला समिति मिलेर आइसोलेसन वार्डलाई सक्ने सहयोग गर्ने उहाँले बताउनुभयो । सहयोग हस्तान्तरण कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाको ६ नम्बर वडाअध्यक्ष अर्जुनप्रसाद चौलागाई, १६ नम्बर वडा अध्यक्ष रामकृष्ण कोईरालाको पनि उपस्थिति रहेको थियो ।