सन्दुक रुइत आँखाको उपचार गराउनुपर्ने र आँखाको उपचार गराएका नेपालीका लागि परिचित नाम हुनुपर्छ । सन्दुक रुइतलाई सफल एवम् दक्ष नेत्र चिकित्सकको रुपमा पनि चिनिन्छ । सन्दुक रुइतलाई चिन्नेहरु र उहाँका बारेमा अझ केही जान्ने उत्सुकता हुनेका लागि एउटा सुन्दर कृति हो अष्ट्रेलियाली पत्रकारले लेख्नुभएको पुस्तक ‘सन्दुक रुइत’ । पढ्न रुचि राख्नेहरुका लागि एउटा सुन्दर कृति हो ‘सन्दुक रुइत’ ।
‘सन्दुक रुइत’ नेपाली पाठकका लागि एउटा रोचक कृति पनि हो । विश्वस्तरमा सफल एवम् सक्षम नेपालका व्यक्तित्व सन्दुक रुइतका बारेमा अष्ट्रेलियाली पत्रकार अली ग्रिपरले सन् २०१८ मै ‘सन्दुक रुइत’ कृति लेख्नुभएको हो । साधारण नेपाली व्यक्तिका बारेमा विदेशी पत्रकारले अंग्रेजी भाषामा कृति प्रकाशन गर्नु दूर्लभ अभ्यास हुनुपर्छ । अंग्रेजीमा प्रकाशित कृतिलाई अग्रज लेखक खगेन्द्र संग्रौलाले अनुवाद गर्नुभएको छ । २०७६ साल भदौ महिनामा फाइन प्रिन्टले नेपालीमा ‘सन्दुक रुइत’ लाई प्रकाशन गरेको कृति आजै पढेर भ्याएँ । स्थानीय प्रशासनले हेटौंडा उपमहानगरमा निषेधाज्ञा जारी गरेसँगै दैनिक कामको दायरा घटेर बचत भएको समयमा सन्दुक रुइत पढेर भ्याएँ ।
सन्दुक रुइतले केही वर्षअघि एसियाको नोवेल पुरस्कार मानिने रोमन म्यागासेसे पुरस्कार प्राप्त गर्नुभएपछि आम नेपालीले चिन्ने अवसर प्राप्त गरे भन्ने लाग्छ । त्यसअघि पनि विभिन्न सन्दर्भमा उहाँलाई जान्ने, बुझ्नेदेखि दृष्टिदोष भएकाहरुको उपचारमा दुर्गम भन्दा दुर्गम ग्रामीण भेगसम्म पुग्ने सन्दुक र उहाँको टोलीलाई भेटेकाले पनि उहाँलाई एक असल व्यक्तिको रुपमा चिनेका होलान् । तर, करिब एक साताको अवधिमा सन्दुक रुइत पढेर सकाएपछि सन्दुक रुइत एकजना व्यक्ति नेपाली समाजका एक विश्वस्तरीय व्यक्तित्व रहेको बुझ्न पाउँदा आफैंलाई गौरवान्वित महसुस गरेको छु ।
सन्दुक रुइतको पारिवारिक पृष्ठभूमिका हिसाबले उहाँ आजको सफल व्यक्तित्व हुने अनुमान नै गर्न नसकिने जस्तो लाग्छ । अत्यन्तै सामान्य र निम्न आर्थिक अवस्था भएको दुर्गम उच्च पहाडि भुगोलमा अवस्थित परिवारको सदस्यको रुपमा सन्दुक रुइतको शैक्षिक सफलता आफैंमा अकल्पनीय लाग्छ । शैक्षिक सफलतासँगै नेत्र चिकित्सकको रुपमा व्यावसायिक दृष्टिकोणले अग्रसर नभई सामाजिक उत्तरदायित्व पूरा गर्नतर्फ अग्रसर हुनु, तिलगंगा आँखा अस्पताल स्थापना गर्नु, देशभित्र मात्रै नभएर विदेशमा समेत दृष्टिदोष विरुद्ध सन्दुक रुइतको सक्रियता पठनीय छ । खुला र अर्थशास्त्रले ग्रस्त बनाएको संसारका मानिसलाई समाजवादी बनाउन पनि सन्दुकको जीवनी उत्तिकै प्रेरक हुनेछ ।
रुइतका बारेमा लेखिएको पुस्तक पढ्दै गर्दा कुनै चलचित्र हेरिरहे जस्तो लाग्छ । लेखनमा पत्रकारको समाचार शैली देखिन्छ । कहिले कसले आएर बोलिरहेको छ भन्ने जान्न निक्कै ध्यान दिएर पढ्नु जरुरी हुन्छ । पुस्तक लेख्नकै लागि ३ वर्ष सन्दुक रुइतकै दैनिकीसँग जोडिएर अलि ग्रिपरले लेख्नुभएको पुस्तकमा यत्तिधेरै पात्रको अभिव्यक्ति छ कि ती सबैलाई संयोजन गर्न लेखक अलि ग्रिपरले कत्ति मिहिनेत गरे भन्ने विषय पनि विश्लेषण योग्य छ ।
प्रायोजित लेखकहरुको विगविगी भइरहेका बेला रुइतको जीवनीलाई अलि ग्रिपर निक्कै मिहिनेत गरेर लेख्नुभएको छ । अग्रज लेखक खगेन्द्र संग्रौलालाई अनुवाद गर्न पनि कम्ता हम्मेहम्मे परेन होला । कतिबेला रुइत बोलिरहेका छन्, कतिबेला अलि ग्रिपर आफैं बोलिरहेका छन् र कतिबेला रुइतका कुरा अरु कोही पात्रले बोलिरहेका छन् भन्ने यकिन गर्न दोहोरयाएर पढ्नुपर्ने हुन्छ । रुइतकै आसपासमा रहेर वर्षौंसम्म काम गरेकाहरुको अभिव्यक्तिलाई उत्तिकै सशक्त रुपमा प्रस्तुत गर्न पनि लेखक अलि ग्रिपर सफल हुनुभएको छ ।
‘सन्दुर रुइत’ मा थोरै प्रसङ्ग हेटौंडाको पनि छ । हेटौंडास्थित सामुदायिक आँखा अस्पतालको चर्चा करिब एक पेज छ । तर, त्यसले हेटौंडालाई सन्सारभर चिनाएको छ । हेटौंडास्थित हेटौंडा सामुदायिक आँखा अस्पताल पनि सन्दुक रुइतकै अभियानको एउटा नमूना हो । समुदायको सहभागितामा स्थापित हेटौंडा सामुदायिक आँखा अस्पतालकै ढाँचामा सन्दुक रुइतको समूहले भुटानमा पनि आँखा अस्पताल स्थापना गरिसकेको छ भने अन्य मूलुकमा पनि आँखा अस्पताल स्थापित गर्ने योजना रहेको कुरा पुस्तकमा व्याख्या छ ।
सन्दुक रुइत नेपालका मात्रै नभएर भारत, चीन, भुटान, म्यानमार, इथियोपिया, अष्ट्रेलियासहित संसारका धेरै मुलुकमा परिचित नेत्र चिकित्सक हुनुहुन्छ । संसारकै एक्लो मुलुक उत्तर कोरियामा समेत पुगेर सेवा गर्नुभएका रुइतको जीवनी पढ्दै गर्दा सीमाहिन मानवतालाई बुझ्न सकिन्छ । सन्दुक रुइत पढ्दै गर्दा जीवनका दुख, सुख, संघर्ष, चुनौति, सम्भावना र सफलताका कुरा सन्दुक रुइतका बारेमा पढिए पनि आफ्नै व्यक्तित्व र व्यवहारलाई पटक–पटक स्वमूल्याङ्कन गरिनेछ । दृष्टिदोष विरुद्ध सन्दुक रुइतको अभियानलाई पढ्दै गर्दा एकजना व्यक्तिको जीवनकीको बहुआयामलाई बुझ्न सकिनेछ । साथै जो कसैलाई पनि भौतिकवादबाट हरेक पाठकलाई समाजको चेतना भराउनेछ ।