हेटौँडा : कान्तिलोक सडकखण्ड अन्तर्गत हेटौँडा उपमहानगरपालिका–५ क्याम्पाडाँडा नजिक टोयोटा ल्यान्ड क्रुजर जिपले स्कुटरलाई ठक्कर दिँदा २ जना घाइते भएका छन् । बुधबार बेलुका ७ बजेर ३० मिनेटको समयमा हेटौँडाबाट चौघडातर्फ जाँदै गरेको बा.प्र.०३–००६ प २०७९ नम्बरको स्कुटरलाई चौघडाबाट हेटौँडा आउँदै गरेको बा ३ च २२४ नम्बरको टोयोटा ल्यान्ड क्रुजर जिपले अचानक ठक्कर दिएको बागमती प्रदेश प्रहरी कार्यालयले हेटौँडाले जनाएको छ ।
दुर्घटनामा स्कुटर चालक हेटौँडा–६, हात्तिलेटका २६ वर्षीय युवराज अधिकारी र पछाडी सवार ३० वर्षीय नारायण अधिकारी घाइते भएका थिए । घाइते दुवै घाइतेलाई हेटौँडा अस्पताल सामान्य उपचार पश्चात थप उपचारका लागि हेटौँडास्थित सिएमसी चुरेहिल अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ । ल्यान्ड क्रुजर जिपका चालक ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका–६ सानागाउँ बस्ने ६१ वर्षीय गंगा लामालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियन्त्रणमा लिएको छ ।
हेटौडा उपमहानगरपालिका–२ संगमचोकस्थित भित्री सडकखण्डमा दुईवटा मोटरसाइकल एक आपसमा ठोकिँदा २ जना घाइते भएका छन् । बुधबार बेलुका ७ बजेर ४० मिनेटको समयमा कांग्रेस चोकबाट कान्तिलोक पथतर्फ जाँदै गरेको ना ३३ प ७२८१ नम्बरको मोटरसाइकल र फापरबारी बसपार्र्कबाट पुरानो मकवानपुर रोडतर्फ जाँदै गरेको बा.प्र.०३–००६ प २४३९ नम्बरको मोटरसाइकल एक–आपसमा ठोक्किँदा २ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
घाइते हुनेमा ७२८१ नम्बरको मोटर साइकल चालक चितवन जिल्लाको रत्ननगर नगरपालिका–१४ घर भई हाल हेटौँडा–४ थाहाचोक बस्ने ३८ वर्षीय रामशरण कुँवर र २४३९ नम्बर मोटरसाइकलको पछाडि सवार २५ वर्षीय सन्देश डङ्गोल घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएकोमा सन्देश थप उपचारका लागि चितवनस्थित नयाँ मेडिकल कलेज भरतपुर रिफर गरिएको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न दुवै मोटरसाइकल जिल्ला प्रहरी कार्यालय मकवानपुरको नियन्त्रणमा राखिएको छ ।











