हेटौँडा : नेकपा एमालेको ११औं महाधिवेशन प्रतिनिधिका लागि मकवानपुरबाट ८१ जनाले उम्मेदवारी दिएका छन् । यहि मंसिर २७ देखि २९ गतेसम्म हुने महाधिवेशनका लागि मकवानपुरको २ वटा निर्वाचन क्षेत्रबाट १७ जना प्रतिनिधि चयनको प्रक्रियामा ८१ जनाको उम्मेदवारी परेको हो ।
बुधबार जिल्लाको संघीय निर्वाचन क्षेत्र नम्बर १ बाट ३० जनाले खुल्लातर्फ, ९ जनाले महिला तथा १० जनाले युवातर्फ उम्मेदवारी दर्ता गराएका छन् । यस्तै संघीय निर्वाचन २ बाट १६ जनाले खुल्लातर्फ, १० जनाले महिलातर्फ र ६ जनाले युवातर्फ उम्मेदवारी दर्ता गराएका छन् । बुधबार प्रकाशित उम्मेदवारको प्रारम्भिक नामावली उपर बिहिबार दावी बिरोध तथा नाम फिर्ता लिने र शुक्रबार अन्तिम नामावली प्रकाशन गरिने नेकपा एमाले मकवानपुरको निर्वाचन कमिटिका प्रमुख निर्वाचन अधिकृत सूर्यचन्द्र न्यौपानेले जानकारी दिनुभयो ।
मंसिर २७ देखि २९ सम्म हुने महाधिवेशनमा मकवानपुरबाट अन्तिम प्रतिनिधीको रुपमा क्षेत्र नम्बर १ बाट ४ जना खुला, ३ जना महिला र युवा १ जना गरी जम्मा ८ जना र क्षेत्र नम्बर २ बाट पनि सोही अनुरुप ८ जना र १ जना दलित प्रतिनिधी छनौट भई मकवानपुरबाट जम्मा १७ जना प्रतिनिधी महाधिवेशनमा सहभागी हुन पाउनेछन् ।











