सन्दर्भ : लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान
यस वर्ष २०२५ को लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानले डिजिटल क्षेत्रमा बढ्दै गइरहेको जोखिम र अनलाइन माध्यमका कारण बढिरहेको बाल विवाहलगायतका लैङ्गिक हिंसालाई केन्द्रमा राखेको छ । “ग्लोबलाइज द फेमिनिस्ट कम्पिटिसन् अनलिशिङ्ग द पावर अफ विमेन एण्ड गल्र्स” भन्ने अन्तर्राष्ट्रिय नारा तथा “प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ” भन्ने राष्ट्रिय नाराले डिजिटल हिंसा र प्रविधिको दुरुपयोग सम्बन्धी गम्भीरताप्रति समाजको ध्यान आकृष्ट गराउन खोजेको छ ।
पछिल्ला वर्षहरूमा किशोर–किशोरीद्वारा अनलाइनको गलत प्रयोग, साइबर बुलिङ्ग, ब्ल्याकमेल, निजी तस्वीरहरूको दुरुपयोग, धम्की, यौनजन्य हिंसा तथा अपमानजनक सामग्री प्रसारजस्ता घटनाले विशेषगरी बालिकाहरूको जीवनमा गम्भीर मनोवैज्ञानिक असर पारेका धेरै उदाहरणहरू देखिएका छन् । कतिपय अवस्थामा यस्ता समस्याबाट बच्न वा सामाजिक बदनामीको डरले किशोरीहरू विवाहतर्फ धकेलिनुका साथै आत्महत्यासम्म गर्न बाध्य भएको अध्ययनहरूले देखाएका छन् । नेपाल प्रहरीको साइबर ब्युरोमा पनि यस्ता घटनाहरू उल्लेख्य रूपमा दर्ता भइरहेका छन् । यसैले डिजिटल हिंसालाई पनि बाल विवाह बढाउने एक महत्वपूर्ण कारकका रूपमा लिन सकिन्छ ।
एक्काइसौँ शताब्दीको विकसित युगमा पनि नेपालजस्तो बहुसाँस्कृतिक समाजमा बाल विवाह आज पनि गम्भीर र जटिल सामाजिक समस्याका रुपमा उभिएको तथ्य लज्जाका विषय बन्न पुगेको छ । पुरातनवादी मूल्य–मान्यता, सामाजिक कुसंस्कार, लैङ्गिक असमानता, अभावजन्य मानसिकता तथा कानुन कार्यान्वयनको कमजोरीजस्ता कारणहरूले बाल विवाह मौलाउँदै गएको छ । बाल विवाह हुनु भनेको बालिकाको अधिकार, स्वतन्त्रता र भविष्यमाथि गरिएको गम्भीर खेलबाड हो भन्ने बुझाइकै आधारमा बाल विवाहलाई लैङ्गिक हिंसाको रूपमा बुझिन थालिएको हो ।
यस समस्याको समाधानका लागि लैङ्गिक रूपान्तरणमुखी दृष्टिकोण प्रभावकारी रणनीति बन्न सक्छ । यसले महिलामात्र लक्षित कार्यक्रमभन्दा पर गएर समाजमा गहिरिएर बसेका असमान शक्ति सम्बन्ध, लैङ्गिक भूमिकाहरू र हानिकारक संस्कारलाई चुनौती दिँदै रूपान्तरणका लागि प्रेरित गर्छ । यस दृष्टिकोणले पुरुष र केटाहरूलाई परिवर्तनका सहयात्रीका रूपमा सहभागी गराउने, महिलाहरूलाई नेतृत्व र निर्णय प्रक्रियामा समावेश गर्ने तथा समुदायमा संरचनागत रूपान्तरण ल्याउनेतर्फ ध्यान केन्द्रित गर्दछ । बाल विवाह अन्त्यका लागि बालिका मात्रै होइन, समाजको सोच, व्यवहार र संरचनासँग पनि कार्य गर्नुपर्छ भन्नेमा यसले जोड दिन्छ ।
त्यस्तै, बहुक्षेत्रीय दृष्टिकोण बिना बाल विवाह अन्त्य चुनौतिपूर्ण देखिएकोले यसैको आधारमा काम अघि बढाउनु अपरिहार्य छ । विशेषगरी किशोरीको स्वास्थ्य, शिक्षा, कानुन, आर्थिक स्थिति, प्रविधि, सामाजिक मान्यता र साँस्कृतिक परिवेशलाई समग्र रूपमा हेरिनु आवश्यक छ । बहुक्षेत्रीय समन्वयमार्फत विद्यालय, स्वास्थ्य संस्था, स्थानीय सरकार, कानुनी निकाय, सञ्जालमा आवद्ध संस्थाहरू तथा समुदायलाई साझा उद्देश्यका लागि एकीकृत गरेर मात्र बाल विवाहजस्तो जटिल समस्याको समाधान सम्भव हुन्छ ।
बाल विवाह रोक्न शिक्षा सबैभन्दा प्रभावकारी माध्यम मानिन्छ । विशेषगरी बालिकाको शिक्षाले उनीहरूमा आत्मविश्वास, चेतना, अधिकारबोध तथा क्षमता विकास गर्छ । समावेशी र बालिका–मैत्री शिक्षा प्रणालीले विद्यालयलाई सुरक्षित बनाउन मद्दत गरिन्छ, जसले भर्ना, उपस्थिति र सिकाइमा सुधार ल्याउँछ । विद्यालय पाठ्यक्रममा यौन तथा प्रजनन स्वास्थ्य शिक्षा र जीवन उपयोगी शिक्षा समावेश हुनु अत्यावश्यक छ । शरीरबारे ज्ञान, सहमतिको महत्व, सुरक्षित सम्बन्ध तथा दुव्र्यवहार पहिचान गर्ने क्षमता वृद्धि हुन सके किशोरीहरू बढी सुरक्षित रहन्छन् । यसले उनीहरूलाई हानिकारक सम्बन्ध वा विवाहमा धकेल्ने दबाबको सामना गर्न सक्षम बनाउँछ ।
लैङ्गिक हिंसा तथा बाल विवाह अन्त्य गर्न महिला–बालिका सशक्तीकरण अत्यन्त महत्वपूर्ण पक्ष हो । आर्थिक रूपमा सशक्त महिलाले विवाहबारे निर्णय आफैं गर्न सक्छन् । सीप विकास, उद्यमशीलता, नेतृत्व विकास तथा सामुदायिक समूहमा सहभागिताले बालिकाहरूलाई सक्षम र जिम्मेवार बनाउँछ । आत्मनिर्भरता बढेपछि विवाहलाई जीवनको एक मात्र विकल्पको रूपमा हेर्ने प्रवृत्ति घट्छ, त्यसैले किशोरीहरूको सशक्तीकरण अनिवार्य छ ।
यस्तै मेन इन्गेज एलायन्स, हामी दाजुभाइ अभियान जस्ता कार्यक्रमहरूले पुरुष र केटाहरूलाई लैङ्गिक समानताका सहअभियन्ताका रूपमा तयार पार्न मद्दत गर्छन् । समाजमा विद्यमान हानिकारक पुरुषत्व तथा महिलालाई दोस्रो दर्जामा राख्ने सोच बदल्न नसकेसम्म बाल विवाह हट्न कठिन छ । जब पुरुषहरू महिलाको अधिकार, सुरक्षा र समानताको पक्षमा उभिन्छन्, तब समुदायको दृष्टिकोण व्यापक रूपमा रूपान्तरित हुन्छ । त्यसैले पुरुषको अर्थपूर्ण सहभागिता लैङ्गिक हिंसा तथा बाल विवाह अन्त्यका लागि अत्यावश्यक छ ।
स्थानीय अगुवा, धार्मिक पुरोहित, शिक्षक, स्वास्थ्यकर्मी, महिला समूह, युवा क्लब, बाल क्लब, किशोरी सञ्जाल आदि सबैलाई संलग्न गराई सचेतनामूलक संवाद, नाटक, रेडियो कार्यक्रम, डिजिटल सामग्रीजस्ता माध्यमबाट बाल विवाहका नकारात्मक प्रभावबारे सन्देश फैलाउन सरकार तथा नागरिक समाज सक्रिय हुनुपर्छ । चेतना जगाइएन भने संरचनागत परिवर्तन सम्भव हुँदैन भन्ने हेक्का राखिनु आवश्यक छ ।
विद्यालयलाई बालमैत्री र सुरक्षित क्षेत्र बनाउन बाल संरक्षण नीति, अनलाइन सुरक्षा शिक्षा, सुरक्षित रिपोर्टिङ प्रणाली, लैङ्गिक मैत्री वातावरण र शिक्षक–विद्यार्थीबीच स्वस्थ सम्बन्ध अपरिहार्य छन् । यसले बालिकालाई विद्यालयमै सुरक्षित राखेर पढाइ छोडेर विवाहतर्फ धकेलिने सम्भावना न्यून बनाउँछ ।
डिजिटल युगमा अनलाइन हिंसा नयाँ चुनौतिका रूपमा उभिएको छ । साइबर बुलिङ्ग, फर्जी खाताबाट ब्ल्याकमेल, निजी तस्वीरको अनधिकृत प्रसार, अनलाइन उत्पीडन र बदनामीजस्ता क्रियाकलापका कारण विशेषगरी किशोरीहरू मानसिक रूपमा कमजोर बन्न बाध्य छन् । त्यसैले साइबर सुरक्षा शिक्षा, डिजिटल साक्षरता, अभिभावक सचेतना तथा साइवर प्रहरीले सहकार्य आज अपरिहार्य छ । प्रविधिको सही प्रयोग नै डिजिटल हिंसा र त्यसबाट हुने बाल विवाह रोकथामको प्रमुख उपाय हो ।
अन्ततः, बाल विवाह केवल व्यक्तिगत वा पारिवारिक निर्णय मात्र नभई संरचनागत समस्या हो । महिलालाई कमजोर बनाउने, उनको अधिकार खोस्ने तथा लैङ्गिक असमानता कायम राख्ने समस्याको अन्त्यका लागि लैङ्गिक रूपान्तरणमुखी दृष्टिकोण, बहुक्षेत्रीय दृष्टिकोण, सरकारी जिम्मेवारी, सामुदायिक चेतना, डिजिटल सुरक्षा, शिक्षा तथा आर्थिक सशक्तीकरण सबैको संयोजन आवश्यक छ । सरकार, नागरिक समाज र समुदायबीच समन्वय तथा सहकार्य आजको आवश्यकता हो । अबको बाटो सामूहिक प्रतिबद्धता र निरन्तर कार्यान्वयनको हो । हामी सबै मिलेर प्रविधिको सही उपयोग गर्दै लैङ्गिक हिंसा अन्त्य गरौँ, बाल विवाह मुक्त समाज बनाऔँ ।











