हेटौँडा : बागमती प्रदेश सरकार गठन भएको १०० दिन पूरा भए पनि सरकारको कार्यशैली प्रति प्रतिपक्षी दलहरुले तीव्र असन्तुष्टि जनाएका छन् । साउन २० मा गठित मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकारले मंगलबार मात्र १०० दिनको उपलब्धीहरु सार्वजनिक गरेको छ ।

सरकारको नेतृत्व लिएको ११५ दिनमा मुख्यमन्त्री बानियाँले सार्वजनिक गरेको १०० दिनको उपलब्धिलाई प्रतिपक्षी दलका नेता तथा प्रदेश सभा सदस्यहरुले सरकार ‘फेल’ भएको टिप्पणी गरेका छन् । उनीहरुले मुख्यमन्त्रीमा काम गर्ने शैली (छाँट) नदेखिएको र सम्पर्क, समन्वय गर्न नचाहेको आरोप लगाएका छन् । मुख्यमन्त्रीमा बहुमतको दम्भ भन्दा पनि ‘व्यक्तिगत घमण्ड’ देखिएको र एकलौटी ढंगले अघि बढ्न खोजेको उनीहरुको आरोप छ ।

बागमती प्रदेशका पूर्वमुख्यमन्त्री एवम् नेकपा माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्कट्टेलले वर्तमान प्रदेश सरकारको १०० दिनको कामकारबाही पूर्णतः असफल भएको टिप्पणी गर्नुभयो । उहाँले वर्तमान सरकारले ‘पास माक्र्स’ समेत ल्याउन नसकेको बताउनुभयो । उहाँका अनुसार सरकारले जनअपेक्षा अनुसार काम गर्न सकेन । नागरिकका पीडा र समस्यामा सरकारको उपस्थिति देखिन नसकेको उहाँको भनाई छ ।

‘अहिलेको सरकारलाई १०० दिनको मूल्यांकन गरेर नम्बर दिने हो भने ३३ नम्बर पनि पुगेन, सरकार फेल भयो’, उहाँले भन्नुभयो, ‘पास भा छैन, फेल भा छ । के मुल्यांकन गर्नु । अब काम गरोस् राम्रोसँग, अरु धेरै काम बाँकी छ । तर अहिले चाहिँ अब १०० दिनको मूल्यांकन गरेर नम्बर दिने हो भने ३३ नम्बर पनि पुगेन ।’

बागमती प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक रत्नप्रसाद ढकालले वर्तमान प्रदेश सरकार पूर्णरुपमा असफल भएको बताउनुभयो । सरकार बजेट कार्यान्वयन, विपद् व्यवस्थापन र प्रदेशसभा सञ्चालनमा असफल भएको उहाँले आरोप लगाउनुभयो । सचेतक ढकालले नेपाली कांग्रेसको समर्थनमा बनेको सरकारले आफैंले पास गरेको बजेट कार्यान्वयन गर्न नसकेको बताउनुभयो । प्रदेशसभाबाट पास भइसकेको बजेटलाई मन्त्रालयले एकलौटी ढंगले कटौती गरिरहेको उहाँको भनाई छ । उहाँले सरकारको नियत बजेट कार्यान्वयन गर्नेभन्दा पनि कटौती गर्नेतर्फ केन्द्रित रहेको आरोप लगाउनुभयो ।

‘प्रदेश सभाले पास गरेको बजेट र योजनाको अंक (सिलिङ) घटाउने वा काट्ने अधिकार मन्त्रालयलाई हुँदैन । तर, अहिले १०, २० देखि ३० प्रतिशतसम्म बजेट र योजनाहरु कटौति गरिएको छ’, उहाँले भन्नुभयो, ‘प्रदेशमा चुनाव पनि छैन, संघीय सरकारले जस्तो चुनावका लागि बजेट जोगाउनु पर्ने अवस्था पनि होइन । दलहरुसँग छलफल नै नगरी बजेट काट्नु सरकारको बदनियत हो ।’ उहाँले बजेट कार्यान्वयनमा ढिलासुस्ती गर्न सरकारले विभिन्न बहानामा पत्राचार मात्र गरिरहेकाले खर्च हुने सम्भावना कम गराएको बताउनुभयो । बजेट कटौतीको विषयलाई लिएर माओवादी केन्द्रले गम्भीर रहेको र प्रतिवाद गर्ने उहाँले चेतावनी दिनुभयो । उहाँले तत्काल कटौती रोकेर योजना कार्यान्वयन नगरे र प्रदेशसभाको बैठक नबोलाए प्रतिपक्षी सडक आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी समेत दिनुभयो ।

पछिल्लो समय भएका आन्दोलन र घटनाक्रमपछि नागरिकले सरकारबाट अभिभावकत्वको अपेक्षा गरे पनि त्यसो हुन नसकेको उहाँको भनाइ छ । प्रमुख सचेतक ढकालले सरकार प्रदेश सभाको बैठक (हाउस) फेस गर्न नसकेर भागेको बताए । प्रतिपक्षीले पटक–पटक मुख्यमन्त्रीलाई भेटेर तत्काल प्रदेश सभाको बैठक बोलाउन आग्रह गरे पनि बेवास्ता गरिएको उहाँले बताउनुभयो । ‘कयौँ व्यक्तिका घरहरू जलेका छन्, निजी तथा सरकारी संरचनाहरुको विनाश भएको छ । यस्तो अवस्थामा पनि सरकारले पीडितलाई सहानुभूति दिन र अभिभावकत्व ग्रहण गर्न सकेन । सरकारले आफ्ना कमि–कमजोरीहरु बाहिर आउने डरले हाउस डाक्न चाहेन । मुख्यमन्त्रीज्यू निष्पक्ष हुनुहुन्न । उहाँले प्रतिपक्षको त के आफ्नै सत्ता पक्षका माननीयहरुको कुरा पनि सुन्न चाहनुभएको छैन ।’

नेकपा एकीकृत समाजवादी पार्टी बागमती प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद शर्मा खनालले सरकारको १०० दिनको कामकारबाही सन्तोषजनक नरहेको बताउनुभयो । उहाँले वर्तमान मुख्यमन्त्रीसँग काम गर्ने उचित तौरतरिका र समन्वयको अभाव देखिएको टिप्पणी गर्नुभयो ।

‘मुख्यमन्त्रीमा काम गर्ने तौरतरिका रहेनछ भन्ने मलाई महसुस भयो । कसैसँग सम्पर्क र सल्लाह नगरी एकलौटी ढंगबाट सरकार चलाउन खोजेको देखिन्छ’, उहाँले भन्नुभयो, ‘मुख्यमन्त्रीमा बहुमतको दम्भ भन्दा पनि ‘व्यक्तिगत घमण्ड’ हावी भएको देखिन्छ । गठबन्धन सरकारको मर्म अनुसार साझेदार दलहरुसँग सल्लाह गर्नुपर्नेमा मुख्यमन्त्रीले त्यसो गर्न सकेनन् ।’

मुख्यमन्त्रीले सत्ता साझेदार दलहरुसँग छलफल नै नगरी एक्कासी प्रदेश सभाको अधिवेशन अन्त्य गरेकोमा उहाँले आपत्ति जनाउनुभयो । समस्या आएको भए सल्लाह गरेर निकास निकाल्नुपर्नेमा मुख्यमन्त्रीले प्रदेश सभा नै बन्द गरेर ‘भाग्न खोजेको’ जस्तो देखिएको उहाँको भनाई छ । ‘कम्तीमा समस्या प¥यो, त्यसैले बन्द गर्दैछु भनेर सोधेको भए पनि हुन्थ्यो, तर उहाँमा समन्वय गर्ने बानी देखिएन । उनका अनुसार सत्ता साझेदार नेपाली कांग्रेसले कामको गतिलाई रोकेको उहाँको आरोप छ ।

रत्नप्रसाद ढकाल
नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक

कृष्ण प्रसाद शर्मा
संसदीय दलका नेता, नेकपा एकीकृत समाजवादी पार्टी बागमती प्रदेश