हेटौंडा : हेटौंडा–१६, हटिया, चिसापानीस्थित जनप्रिय माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत भोलि शुक्रबार नगरस्तरीय माध्यमिक तह हाजिरीजवाफ प्रतियोगिता हुने विद्यालयका प्रधानाध्यापक भुपेन्द्र्र चौलागाईंले जानकारी दिनुभयो ।

विद्यालयले स्वर्ण महोत्सव (५० औँ वार्षिकोत्सव) विभिन्न कार्यक्रम गरी मनाउँदैछ । यहि अवसरमा विद्यालयमा कात्तिक ३० गते जिल्लास्तरीय स्क्राबल प्रतियोगिता सम्पन्न भएको थियो । प्रतियोगितामा मकवानपुर जिल्लाका १० वटा विद्यालयका २० वटा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

विद्यालयले शुक्रबार विद्यालयस्तरीय खेलकुद कार्यक्रम र शनिबार हेटौंडा–१५ स्थित शिखरपानीमा पशु स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । यसैगरी, विद्यालयले आउँदो शनिबार रक्तदान कार्यक्रम, आइतबार विद्यालय प्राङ्गणमा स्वास्थ्य शिविर, बालबिकास तहको अभिभावक भेला र सांस्कृतिक कार्यक्रम गर्नेछ । सोमबार पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने प्रधानाध्यापक चौलागाईंले जानकारी दिनुभयो । सोमबार विद्यालयले जनप्रिय दर्पण स्मारिका पनि लोकार्पण गर्दैछ ।

विद्यालयले स्वर्ण महोत्सवको अवसरमा जनप्रिय अक्षयकोषको स्थापना गरेको छ । शिक्षक, कर्मचारी, विद्यार्थी, पूर्वविद्यार्थी र अन्य दाताहरुको सहयोगमा अहिलेसम्म अक्षयकोषमा ३२ लाख रुपैयाँ जम्मा भइसकेको र सहयोग आउने क्रम जारि रहेको प्रधानाध्यापक चौलागाईंले बताउनुभयो । विद्यालयमा अध्ययनरत गरिब, असहाय, दलित तथा आर्थिकरुपमा विपन्न विद्यार्थीहरुलाई सहयोग गर्ने उद्देश्यले अक्षयकोषको स्थापना गरिएको उहाँको भनाइ छ ।