हेटौंडाः भीम विराग सङ्गीत, साहित्य, कला प्रतिष्ठान नेपालले ‘बिजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार २०८२’ गीतकार किरण खरेललाई प्रदान गर्ने भएको छ । सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै प्रतिष्ठानले पुरस्कारको १७ औं संस्करणबारे जानकारी दिएको हो ।

यस संस्करणको ‘बिजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार’ आगामी माघ १५ गते बिहीबार हेटौंडामा एक विशेष कार्यक्रमको आयोजना गरी गीतकार खरेललाई प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष केशवलाल श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । नेपाली गीत लेखनको क्षेत्रमा विगत सात दशकदेखि निरन्तर कलम चलाइरहनुभएका गीतकार खरेलले आधुनिक गीतदेखि चलचित्र क्षेत्रमा समेत लोकप्रिय गीतहरू सिर्जना गरिसक्नुभएको छ ।

विसं २०१४ सालमा ‘ए दूरका सितारा..’ बोलको गीतबाट गीत रचनामा लाग्नुभएका खरेलले त्यसयता सात सयभन्दा बढी गीत लेखिसक्नुभएको छ । उहाँले चलचित्र माइतीघरका लागि लेखेको गीतहरूले चलचित्रका गीतको अवधारणा नै बदलिदिएपछि अरु एक सयभन्दा बढी चलचित्रमा निरन्तर गीत लेखिरहनुभयो ।

चारवटा गीत संग्र्रह प्रकाशित गरिसक्नुभएका खरेलकोे योगदान नेपाली गीत रचनासँगै तत्कालीन शाही नेपाल चलचित्र संस्थान तथा रेडियो नेपालको कार्यक्रम निर्माता तथा सञ्चालकको रुपमा पनि उत्तिकै स्मरणीय छ । छिन्नलता गीत पुरस्कारलगायत विभिन्न पुरस्कार एवम् विभूषणबाट विभूषित खरेलले आफ्नो कलमको माध्यमबाट नेपाली गीत सङ्गीतलाई देश विदेशमा स्थापित गराउनका लागि पुर्याउनुभएको योगदानको कदर गर्दै प्रतिष्ठानले यसपटक उहाँलाई सम्मानित गर्न लागेको जनाएको छ । गीतकार खरेलका माइतीघर, जिन्दगीलाई जीत होइन, हिमालको काखमा छ मेरो सानो गाउँ, मन्दिरमा छ कि मूर्तिमा माया, तारामात्र होइन तिमीलाई लगायतका गीतहरू सदाबहाररुपमा रुचाइएका छन् ।

तरङ्ग सांस्कृतिक परिषद्को पहलमा वरिष्ठ कलासाधक भीम विरागको सम्मानमा विसं २०५९ भाद्र ७ गते स्थापना भएको भीम विराग सङ्गीत, साहित्य, कला प्रतिष्ठानले देश तथा विदेशमा रही नेपाली वाङ्मयको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आउनुभएका सर्जक, स्रष्टाहरूलाई सम्मानित एवम् पुरस्कृत गर्दै आएको छ । व्यवसायी कन्हैयाकृष्ण श्रेष्ठले विसं २०६४ मा आफ्नी ममतामयी माता बिजुलीमाया वनः श्रेष्ठको नाममा अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार स्थापना गर्नुभएको थियो ।

उक्त पुरस्कारबाट सर्वप्रथम विसं २०६४ मा संगीतकार अम्बर गुरुङ सम्मानित हुनुभएको थियो । सुरुवातमा ५० हजार राशिको पुरस्कारको रकम वृद्धि गरी २०६७ सालदेखि एक लाख रुपैयाँ बनाइएको छ । यो पुरस्कारबाट हालसम्म गायक तथा संगीतकर्मीहरु प्रेमध्वज प्रधान, भक्तराज आचार्य, फत्तेमान राजभण्डारी, शान्ति ठटाल, दीप श्रेष्ठ, प्रकाश श्रेष्ठ, न्हुच्छेबहादुर डङ्गोल, मीरा राणा, कर्म योञ्जन, चेतन कार्की, दावा ग्याल्मो, दीपक जङ्गम, किरण प्रधान, राजेन्द्र थापा र नीर शाह सम्मानित भइसकेका छन् ।