हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ लाई डेङ्गी नियन्त्रण उपकरण हस्तान्तरण गरिँदैको तस्वीर ।

हेटौंडा : नेपालमा तिव्ररूपमा बढिरहेको डेङ्गी संक्रमण नियन्त्रण गर्न रोटरी क्लब अफ हेटौंडाले हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ लाई डेङ्गी नियन्त्रण उपकरण हस्तान्तरण गरेको छ ।
वडा नम्बर ५ सहित अन्य वडाहरुलाई डेङ्गी नियन्त्रण उपकरणल वितरण गर्न लागिएकोे रोटरी क्लब अफ हेटौंडाका अध्यक्ष प्रमेश प्रधानले जानकारी दिनुभयो । यसले संक्रमित क्षेत्रहरूमा रोकथाम र नियन्त्रण कार्यलाई प्रभावकारी बनाउने उहाँले बताउनु भयो ।

लामखुट्टे नियन्त्रणका लागि आवश्यक उपकरणहरू फगर मेशिन, सुरक्षात्मक पोशाक, स्प्रेइङ सेटहरु हस्तान्तरण गरिएको थियो । उपकरण हस्तान्तरणसहित त्यसको सही प्रयोगबारे प्राविधिक अभिमुखीकरणसमेत गरिएको थियो ।

उपकरण हस्तान्तरण कार्यक्रमका क्लबका अध्यक्ष प्रधानले डेङ्गी नियन्त्रणमा उपकरणमात्र होइन, समुदायको सक्रिय भूमिका सबैभन्दा महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । घरघरमा सफाइ, पानी जम्न नदिने, टायर ड्रम भाँडाकुँडामा पानी संकलन हटाउने तथा लामखुट्टे प्रजननस्थल नष्ट गर्ने कार्य निरन्तर गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।

वडा नम्बर ५ का वडा अध्यक्ष सुशील घिमिरेले स्वास्थ्यका लागि स्थानीय तहले चाल्ने कदमलाई अझ प्रभावकारी बनाउन सहयोगी संस्थाहरूको समन्वय आवश्यक रहेको बताउनु भयो । उपकरण हस्तान्तरण कार्यक्रममा रोटरी क्बल अफ हेटौंडाका पूर्वअध्यक्ष र पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।