हेटौंडाः प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन मनाइने गुरु नानक जयन्ती आज बुधबार मनाइँदैछ । गुरु नानक शिख धर्मका प्रवर्तक हुनुहुन्छ । उहाँको जन्म विसं १५२६ कात्तिक शुक्ल पूर्णिमाका दिन भारतको पञ्जाव प्रान्तमा भएको थियो । उहाँले शिख धर्मग्रन्थ ‘गुरु ग्रन्थ साहिब’ को रचना गर्नु भएको हो । उहाँकै जन्मोत्सवको रुपमा प्रत्येक वर्ष शिख धर्मावलम्बीहरुले कात्तिक शुक्ल पूर्णिमाको गुरु नानक जयन्ती मनाउने गर्दछन् ।
गुरु नानक जयन्ती शिख धर्मावलम्बीहरुले मनाउने ठूलो चाडहरू मध्येको एक हो । यो दिनलाई गुरुपुरब पनि भनिन्छ । आजको दिन पवित्रस्थल गुरुद्वारामा विशेष पूजाअर्चना गर्दै विभिन्न धार्मिक एवम्ं सामाजिक कार्यक्रम गरी गुरु नानकको जन्मजयन्ती मनाउने गरिन्छ ।
शिखहरूको पवित्र धार्मिक ग्रन्थ ‘गुरु ग्रन्थ साहिब’ को रचना गर्ने गुरु नानकले समाजमा व्याप्त अन्धविश्वास, घृणा र भेदभावको अन्त्य गरी आपसी प्रेम तथा भ्रातृत्वको भावनालाई अभिवृद्धि गर्ने उद्देश्यले बिनाभेदभाव निःशुल्क सामुदायिक भोजन गर्ने ‘लङ्गर परम्परा’को थालनी गर्नु भएको थियो । उहाँले जातिवादको अन्त्य गरी मानवतावादी दर्शनको सुरुआत गर्नु भएको हो ।
