Home मुख्य समाचार जेन जी आन्दोलनमा क्षतिग्रस्त सरकारी भवनहरुको पुनर्निर्माण सकेर हस्तान्तरणको तयारी छौं :...

जेन जी आन्दोलनमा क्षतिग्रस्त सरकारी भवनहरुको पुनर्निर्माण सकेर हस्तान्तरणको तयारी छौं : मन्त्री देवकाटा

प्रदेश सभा बैठकलाई सम्बोधन गर्नुहुँदै मन्त्री देवकोटा ।

हेटौँडा : बागमती प्रदेशमा जेन जी आन्दोलनका क्रममा प्रदर्शनकारीहरुबाट क्षतिग्रस्त भएका सरकारी कार्यालयहरुको पुनर्निर्माण कार्य सकेर हस्तान्तरणको तयारीमा रहेको भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटाले बताएका छन् । आइतबार प्रदेश सभाको बैठकमा सम्बोधन गर्दै मन्त्री डा. देवकोटाले क्षतिग्रस्त अधिकांश मन्त्रालय र सरकारी आवासहरु पुरानै अवस्थामा फर्किएको र हस्तान्तरणको अन्तिम चरणमा रहेको बताए ।

मन्त्री देवकोटाका अनुसार आन्दोलनका क्रममा हेटौँडामा रहेका भौतिक पूर्वाधार विकास मन्त्रालय, खानेपानी तथा सिँचाई मन्त्रालय, कृषि तथा पशु विकास मन्त्रालय र श्रम रोजगार तथा यातायात मन्त्रालयका भवनमा ठुलो क्षति पुगेको थियो । उक्त भवन मर्मतपछि पुरानै अवस्थामा फर्काउन सफल भएको उनले बताए ।

‘जेन जी आन्दोलनले क्षति पुगेको ५ मन्त्रालय रहेको भवनको पुनर्निर्माण कार्य सम्पन्न गरिसकेको छ । केही दिनमा नै हामी सो भवन हस्तान्तरण गर्नेछौँ । कर्मचारीहरु पुरानै बिल्डिङमा सरेर कार्यसम्पादन गर्नेछन् ।’ उनले भने, ‘कम अवधिमा पनि हामीले विज्ञहरुको सल्लाह र इन्जिनियरिङका आधारमा पुनर्निर्माण गरिएको छ । मन्त्रालयले इन्जिनियरिङका विज्ञहरु परिचालन गरी भवनका डन्डीहरू कति तापक्रममा पग्लिएका छन् र संरचना कति सुरक्षित छ भन्ने प्राविधिक अध्ययन समेत गरेको उनले बताए ।

प्रदेशका प्रमुख सचिवको निवास, बागमती प्रदेश सभा सचिवालय र सहकारी तथा गरिबी निवारण मन्त्रालयका भवनहरुको मर्मत कार्य पनि निर्माण व्यवसायीले अन्तिम चरणमा पु¥याएका उनले बताए । अर्थ मन्त्रालयबाट प्राप्त ६ करोड ४३ लाख रुपैयाँको विशेष बजेटमार्फत टेन्डर आव्हान गरी सो संरचनाहरुको मर्मत गरिएको मन्त्री डा. देवकोटाले बताए । विज्ञहरुको प्रतिवेदनका आधारमा आगामी दिनमा बाँकी संरचनाहरुको पुनर्निर्माणका लागि ८३ करोड २० लाख रुपैयाँको बजेट अनुमान गरिएको उनको भनाई छ ।

मन्त्री डा. देवकोटाका अनुसार आन्दोलनका क्रममा १ अर्ब ३५ करोड ३४ लाख ९२ हजार रुपैयाँ बराबरको क्षति भएको थियो । जसमा भवनतर्फ ५८ करोड १५ लाख रुपैयाँ र सवारी साधनतर्फ २४ करोड ७८ लाख रुपैयाँ (१४३ वटा मोटरसाइकल र ५६ वटा चार पांग्रे गाडीमा क्षति) र जिन्सी सामानहरुमा २७ करोड ३५ लाख रुपैयाँ क्षति भएको उनले बताए ।

Exit mobile version