Home खेलकुद प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडको कठिन जीत

प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडको कठिन जीत

युनाइटेडका लागि गोल गरेपछि खुसी हुँदै म्याथ्यु कुन्हा ।

हेटौँडा : इंग्लिस प्रिमियर लिगमा आइतबार बिहान सम्पन्न खेलमा म्यान्चेस्टर युनाइटेडले चेल्सीलाई १–० गोलअन्तरले पराजित गरेको छ । चेल्सी विरुद्ध कठिन जीत निकालेको म्यान्चेस्टर युनाइटेड तालिकाको तेस्रो स्थानमा छ । पहिलो हाफको ४३औं मिनेटमा ब्राजिलियन म्याथ्यु कुन्हाले युनाइटेडका लागि निर्णायक गोल गरे ।

यस्तै शनिबार भएको खेलमा ब्राइटन र टोटनहमले २–२ गोलको बराबरी खेल्दा लिड्स युनाइटेडले तालिकाको पुछारमा रहेको उल्भ्सविरुद्ध ३–० गोलअन्तरसहित सहज जीत दर्ता गरेको छ । ब्रेन्टफोर्डले फुलहमसँग गोलरहित बराबरी खेल्दा बर्नमाउथले न्यू क्यासल युनाइटेडलाई २–१ गोलअन्तरले पराजित गरेको छ ।

यसैबीच आज आइतबार पनि इंग्लिस प्रिमियर लिगमा ४ खेल हुँदैछ । नेपाली समयअनुसार आज राती ९ बजेर १५ मिनेटमा शीर्षस्थानको आर्सनलले दोस्रो स्थानको म्यान्चेस्टर सिटीको सामना गर्दैछ । आजको यो खेलले उपाधि होडलाई रोचक बनाउन सक्छ । आर्सनल ३२ खेलमा ७० अंकसहित शीर्षस्थानमा छ भने ३१ खेल खेलको म्यान्चेस्टर सिटी ६४ अंकसहित दोस्रो स्थानमा छ । आजको खेलमा आर्सनल विजयी भए उपाधितर्फ बलियो पकड राख्न सक्नेछ भने सिटीले नतीजा आफ्नो पक्षमा पार्दा उपाधि होड खुला हुनेछ । यस्तै आजै साँझ ६ बजेर ४५ मिनेटमा एकसाथ तीन खेल हुँदैछ । नटिङ्घम फरेष्टले बर्नलेको सामना गर्दा एस्टन भिल्लाले सन्डरल्याण्डसँग खेल्नेछ । यस्तै एभर्टनले लिभरपुलको सामना गर्नेछ ।

Exit mobile version