हेटौंडाः जेसीआई हेटौंडाको जेसीज सप्ताह २०२५ मंगलबारदेखि सुरु भएको छ । प्रत्येक वर्ष झैं यस वर्ष पनि जेसीआई हेटौंडाले विभिन्न कार्यक्रम गरी जेसीज सप्ताह मनाउँदै छ ।
मंगलबार रक्तदान कार्यक्रम र बिस्तारै मोटरसाइकल गुडाउने प्रतियोगिता आयोजना गरिएको जेसीज सप्ताह २०२५ को मूल कार्यक्रम संयोजक सन्तोष पराजुलीले जानकारी दिनुभयो । मंगलबार बिहान हेटौंडा–४ स्थित हुप्रचौरमा आयोजित रक्तदान कार्यक्रमा २० जनाले रक्तदान गरेका छन् ।
कार्यक्रममा रक्तसञ्चार केन्द्र मकवानपुरको प्राविधिक सहयोग रहेको थियो । विनोद वाग्लेको संयोजकत्वमा भएको रक्तदान कार्यक्रममा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार भीमसागर गुरागार्इंको प्रमुख आतिथ्य रहेको थियो ।
यसैगरी हेटौंडा ‘तीव्र गति, जीवन क्षति’ भन्ने नाराका साथ शितल महल चोकदेखि हुप्रचौर गेटसम्म बिस्तारै मोटरसाइकल चलाउने प्रतियोगिता गरिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुबासचन्द्र बोहराको प्रमुख अतिथ्यमा भएको उक्त प्रतियोगामा २५ जनाले भाग लिएका थिए ।
प्रतियोगितामा हेटौंडा–५ निबासी विक्रम उलक प्रथम र मित्रप्रसाद गौतम द्वितीय र हेटौंडा–२ निबासी विवेक बानियाँ तृतीय भएका छन् । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई मेडल, प्रमाणपत्र र पुरस्कार वितरण गरिएको छ ।
कार्यक्रममा जेसीआई हेटौंडाको सन् २०२० का शाखा अध्यक्ष राजदेव बानियाँ, २००८ का शाखा अध्यक्ष तथा वर्ष २०२५ का प्रमुख बोर्ड सल्लाहकार एव्म बोर्ड अफ ट्रष्टीका अध्यक्ष कुश रिजालको उपस्थिति रहेको थियो ।
