हेटौँडा : बागमती प्रदेशसभाले २ वटा विधेयक समितिमा छलफलमा लागि पठाउने प्रस्ताव पारित गरेको छ । आइतबार बसेको प्रदेशसभाको बैठकमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धनमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दफावार छलफलका लागि विषयगत समितिमा पठाउने प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको हो ।
दुुवै विधेयकलाई प्रदेशसभाको अर्थ तथा विकास समितिमा पठाइएको हो । प्रदेशसभाको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले आर्थिक कार्यविधि सम्बन्धी विधेयक विषयगत समितिमा दफावार छलफलका लागि पठाइयोस् भन्ने प्रस्ताव पेश गरेका थिए भने खानेपानी उर्जा तथा सिंचाई मन्त्री कृष्णकुमार तामाङले प्रदेश खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दफावार छलफलका लागि समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गरेका थिए ।
मन्त्रीद्वय प्रभात तामाङ र कृष्णकुमार तामाङले पेश गरेका विधेयकहरुलाई प्रदेशसभाकी उपसभामुख अप्सरा चापागाईले निर्णयार्थ प्रस्तुत गरेकी थिइन् । उनले प्रस्तुत गरेको प्रस्तावलाई प्रदेशसभाका सदस्यहरुले ‘हुन्छ’ भनेर पारित गरेका थिए । बैठकबाट पारित भएको उक्त विधेयकहरु अर्थ तथा विकास समितिमा दफावार छलफल हुनेछ भने सो माथि परेका संशोधनहरु बारे पनि छलफलसहित पारित भई प्रतिवेदन तयार हुनेछ ।
त्यसअघि प्रदेशसभाको बैठकमा विशेष समयमा प्रदेश सभा सदस्यहरुले समयसामयिक विषयमा धारणा राखेका थिए भने प्रदेश सभा सदस्यहरुले उठाएका प्रश्नहरुमा सरकारका मन्त्रीहरुले जवाफ दिएका थिए । प्रदेशसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ ।
