हेटौँडा : जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड मकवानपुरको २० औँ वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । संघकी अध्यक्ष कल्पना श्रेष्ठको सभाध्यक्षतामा हेटौँडा–२ स्थित संघको आफ्नै नवनिर्मित भवनमा साधारणसभा सम्पन्न भएको हो ।
साधारणसभामा गत आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन अनुमोदन र प्रस्तावित कार्यक्रममाथि छलफल भएको थियो । संघले यो वर्ष सदस्यहरुलाई लगानी गरेको ऋणबाट ब्याज, नयाँ शेयर सदस्यहरुबाट प्रवेश शुल्क स्टेशनरी छपाई गरी बिक्री, बाह्य लगानीबाट प्राप्त ब्याज र विविध आम्दानीबाट जम्मा ६ करोड ८८ लाख ९९ हजार १ सय ४९ रुपैयाँ आम्दानी गरेको छ । कर्मचारी तलब खर्च, बचतमा ब्याज खर्च, साधारणसभा खर्च, यातायात खर्च, संस्थाका लागि आवश्यक विविध खर्च गरी ५ करोड ९६ लाख ९७ हजार ५ सय ३० रुपैयाँ खर्च गरेको छ ।
संघले गत आर्थिक वर्षमा सहकारीले गरेको कारोबारबाट ९२ लाख १ हजार ६ सय रुपैयाँ खुद नाफा गरेको छ । गत आर्थिक वर्षमा हेटौँडा–५, सानोपोखरास्थित भूतपूर्व सैनिक बचत तथा ऋण सहकारीको सदस्यता फिर्ता गरेपछि हाल संघमा आवद्ध सहकारीको संख्या १ सय २७ रहेको छ । संघको शेयर पुँजी ० दशमलव ७ प्रतिशतले घटेर ४ करोड ७३ लाख ५० हजार रुपैयाँ झरेको छ । साथै बचत रकम पनि ४ दशमलव ६८ प्रतिशतले घटेको छ । गत असार मसान्तसम्म संघले ७ करोड २७ लाख ९ हजार कुल आम्दानी र ६ करोड ७ लाख १७ हजार कुल खर्च गरेको छ ।
साधारणसभाको अवसरमा विभिन्न सहकारी र अभियानकर्मी गरी १८ जनालाई पुरस्कृत गरिएको छ । साधारणसभा सञ्चालन कार्यविधि अनुसार पुस १८ गते संघको स्थापना दिवसमा पुरस्कार वितरण गरिने संस्थाले जनाएको छ । पुरस्कृत हुनेमा सर्वोत्कृष्ट महिला साकोसतर्फ हेटौँडा–१२ को महिला सेवा बचत तथा ऋण सहकारी संस्था र सर्वोत्कृष्ट मिश्रित साकोसतर्फ हेटौँडा–१५, रातोमाटेको जनचेतना साकोस छन् । सहकारी अभियानकर्मी महिलातर्फ जिल्ला बचत संघका निवर्तमान अध्यक्ष एव्म सल्लाहकार राधा सिन्तान र पुरुषतर्फ पञ्चरत्न बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भोजमान श्रेष्ठ हुनुहुन्छ ।
उत्कृष्ट सहकारी कर्मचारी महिलातर्फ महिला जनशक्ति बचत तथा ऋण सहकारी संस्थाकी माया तामाङ र पुरुषतर्फ सञ्जीवनी बचत तथा ऋण सहकारी संस्थाका प्रकाशबहादुर खनाल छन् । उत्कृष्ट दैनिक कारोबारकर्ताको रुपमा हेटौँडा–२ को गणपति बाबा बचत तथा ऋण सहकारी संस्था पुरस्कृत हुने भएको छ । यसैगरी २० करोड माथिको कारोबार गर्नेमा सर्वाधिक बचत जम्मा गर्ने हेटौँडा–६ को जनकल्याण बचत तथा ऋण सहकारी संस्था, सर्वाधिक ऋण परिचालन गर्ने थाहा नगरपालिका–६ को बज्रबाराही बचत तथा ऋण सहकारी संस्था र सर्वाधिक शेयर खरिद गर्ने हेटौँडा–१३ को महिला मिलन बचत तथा ऋण सहकारी संस्था पुरस्कारका लागि छनोट भएको छ ।
७ देखि २० करोडसम्म कारोबार गर्नेमा सर्वाधिक बचत जम्मा गर्ने मकवानपुरगढी–५ को महिला कल्याण बचत तथा ऋण सहकारी संस्था, सर्वाधिक ऋण परिचालन गर्ने हेटौँडा–२ को प्रतिफल बचत तथा ऋण सहकारी संस्था, सर्वाधिक शेयर खरिद गर्ने मनहरी–८ को दिव्यज्योति महिला बचत तथा ऋण सहकारी संस्था पुरस्कारका लागि छनोट भएका छन् । यसैगरी, कुल सम्पत्ति ७ करोड भएको सहकारीहरुमा सर्वाधिक बचत जम्मा गर्ने भीमफेदी–७ को सृजनशील महिला बचत तथा ऋण सहकारी संस्था, सर्वाधिक ऋण परिचालन गर्ने थाहा–२ को पाथीभारा बचत तथा ऋण सहकारी संस्था र सर्वाधिक शेयर खरिद गर्ने बकैया–५ को पासाङल्हामु महिला विकास बचत तथा ऋण सहकारी संस्था पुरस्कारको लागि छनोट भएका हुन् ।
कार्यक्रममा संघका सचिव वीरेन्द्रप्रसाद ढुंगाना, सल्लाहकार बद्रीप्रसाद लम्साल, राधा सिन्तान, पार्वती राना, उत्तम शर्मा ढकाललगायतको उपस्थिति रहेको थियो ।











