हेटौँडा : मकवानपुर जिल्ला खेलकुद विकास समिति र मकवानपुर जिल्ला फुटबल संघले बिहीबार संयुक्तरुपमा खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरेको छ । अजरबैजानको बाकु शहरमा सम्पन्न अन्तर्राष्ट्रिय बुडो मार्शल आर्ट च्याम्पियनसीप २०२५ मा उत्कृष्ट प्रदर्शन गरी स्वर्ण पदक प्राप्त गर्न सफल खेलाडी सुदर्शन खतिवडालाई सम्मान गरिएको हो ।
मनहरी गाउँपालिका–३ घर भई स्पेनमा रहेर अन्तर्राष्ट्रिय कराते प्रशिक्षकको भूमिका निर्वाह गर्दै आउनुभएका अशोक लामा र स्पेनकै सि डी अन्तर्राष्ट्रिय क्लबमा आवद्ध रही फुटबल खेल्दै आएका अशोकका छोरा आमेथ लामा रुम्बालाई सम्मान गरिएको छ । तीनै जनालाई दोसल्ला र सम्मानपत्र प्रदान गरी सम्मान गरिएको हो ।
मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार मोक्तानको सभाध्यक्षतामा भएको सम्मान कार्यक्रममा पूर्वसामाजिक विकास मन्त्री तथा नेकपा माओवादी केन्द्रको पेल्टिव्यूरो सदस्य कुमारी मोक्तानको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष तथा एन्फा केन्द्रीय समिति सदस्य टीकाराम लामाको पनि उपस्थिति रहेको थियो ।











