हेटौँडा : नेपाल प्रेस युनियन मकवानपुर शाखाले प्रदान गर्दै आएको सीतादेवी स्मृति प्रेस युनियन पत्रकारिता पुरस्कारको राशी बढाएर ५० हजार रुपैयाँ पु¥याइएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक तथा पुरस्कारका प्रायोजक चिरञ्जीबी ढकालले हेटौँडामा प्रेस युनियन मकवानपुरको टोलीसँगको भेटघाटका क्रममा आगामी वर्षदेखि पुरस्कार राशी ५० हजार रुपैयाँ पु¥याउने घोषणा गर्नुभएको प्रेस युनियनले जनाएको छ ।

मकवानपुरमा पत्रकारका लागि घोषणा गरिएको यो सर्वाधिक नगद राशीको पत्रकारिता पुरस्कार हुने भएको छ । यसअघि उक्त पुरस्कारको राशी १५ हजार रुपैयाँ रहेको थियो । यस पुरस्कारबाट पहिलो पटक गत वर्ष प्रेस युनियन मकवानपुरको साधारणसभामा प्रेस युनियन मकवानपुरका संस्थापक अध्यक्ष राममणि दाहाल सम्मानित हुनुभएको थियो । भेटघाटका क्रममा प्रायोजक ढकालले पत्रकारहरुलाई संगठित हुँदै व्यावसायिक नेतृत्व विकासमार्फत युनियनलाई अझ सशक्त बनाउनुपर्नेमा जोड दिनुभयो ।

प्रेस युनियन मकवानपुरका अध्यक्ष सुवास विडारीले पत्रकारिता पुरस्कारको राशी क्रमशः बढाउँदै लैजानलाई समेत आग्रह गर्नुभएको छ । युनियनले यस पुरस्कार प्रत्येक दुई वर्षमा प्रदान गर्ने अध्यक्ष बिडारीले जानकारी दिनुभयो ।