हेटौँडा : अवैध लङ्गुर–बुर्जा खेलाउने ५ जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । बिहीबार राती ९ बजेको समयमा हेटौँडा–८, कमानेस्थित नमुना चोकमा लङगुर–बुर्जा खेलाइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले लङगुर बुर्जाको गट्टी र खाल १ सेटसहित ३ लाख ९ सय ६५ रुपैयाँसहित उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

प्रहरीले हेटौँडा–८, नमुनाचोकका २७ वर्षीय रामकृष्ण मैनाली, मकवानपुरगढी गाउँपालिका–४ घर भई हेटौँडा–५ बस्ने ४२ वर्षीय दीपक अर्याल, हेटौँडा–१७ घर भई हाल हेटौँडा–१५ बस्ने २६ वर्षीय विजय लामा, हेटौँडा–९ घर भई हाल हेटौँडा–८ बस्ने ३९ वर्षीय सुरेन्द्र अधिकारी र बागमती गाउँपालिका–८ घर भई हाल हेटौँडा–८ बस्ने ३१ वर्षीय अर्जुन तामाङलाई पक्राउ गरेको जनाएको छ ।