Home अन्तरवार्ता मनहरीमा २० बेडको आइसोलेसन वार्ड तयार हुँदै

मनहरीमा २० बेडको आइसोलेसन वार्ड तयार हुँदै

ज्योतिराज लुइटेल, सिनियर अहेव, मनहरी प्राथमिक स्वास्थ्य चौकी

ज्योतिराज लुइटेल
सिनियर अहेव, मनहरी प्राथमिक स्वास्थ्य चौकी

मकवानपुर जिल्लामा पछिल्लो समय कोरोना सङ्क्रमितको संख्या बढेको छ । मकवानपुरका सबै स्थानीय तहहरुमा अहिले स्वाबको नमूना सङ्कलन पनि बढेको छ । जिल्लामै एउटा मात्रै हेटौंडामा आइसोलेसन वार्ड कोरोना सङ्क्रमितले भरिएर बेड अभाव हुँदा धेरै जना कोरोना सङ्क्रमितहरु होम आइसोलेसनमा बस्न बाध्य छन् । यस्तो अवस्थामा मकवानपुरको मनहरी गाउँपालिकाले के कस्तो तयारी गर्दैछ ? मनहरीमा कोराना संक्रमणको अवस्था लगायतको सन्दर्भमा रहेर मनहरी प्राथमिक स्वास्थ्य चौकीका सिनियर अहेव ज्योतिराज लुइटेलसँग समाज संवाददाता सुसन लामिछानेले गर्नुभएको कुराकानीः

समाजः मनहरीमा अहिले कोरोना सङ्क्रमणको अवस्था कस्तो छ ?
लुइटेलः केही दिन अगाडि हामीसँग १२ जना सङ्क्रमित थिए । उनीहरु सबै निको भएर घर गइसकेका छन् । उनीहरुलाई फलोअप गर्दा कुनै पनि समस्या देखिएको छैन । अब तत्काल हामीलसँग १५ जना क्वारेन्टिनमा छन् उनीहरुको स्वाबको नमूना संकलन गरेर हेटौंडाको कोरोना प्रयोगशालामा परीक्षण गर्न पठाइएको छ । रिपोर्ट कुरेर बसिरहेका छौं ।

समाजः मनहरीमा स्वाब सङ्कलन कार्य कसरी भइरहकोे छ ?
लुइटेलः मनहरी गाउँपालिकामा दैनिक स्वाबको नमूना सङ्कलन हुँदैन । ५ देखि ७ दिनको फरकमा स्वाब सङ्कलन हुने गरेको छ । क्वारेन्टिनमा रहनुहुने सबैको स्वाबको नमूना सङ्कलन गरेर परीक्षण गर्न हेटौंडा पठाउने गरेका छौं । यस्तै मनहरीसँगै राक्सिराङ गाउँपालिकाले अनुरोध गरेको खण्डमा प्राविधिक पठाएर स्वाबको नमूना सङ्कलन हुने गरेको छ ।

समाजः मनहरी गाउँपालिकाको राजमार्गको दायाँ–बायाँ ५ सय मिटर क्षेत्रमा निषेधाज्ञा लागू गरिएको छ । यस्तो अवस्थामा अन्य सेवाग्राहिहरुले कसरी स्वास्थ्य सेवा पाइरहेका छन् ?
लुइटेलः स्वास्थ्यकर्मीहरु सबै स्टेन्डबाइमा छन् । दैनिक ओपिडी सेवा, आकस्मिक सेवा पनि सञ्चालनमा छ । कुनै पनि सेवा बन्द गरेका छैनौं । दैनिक सेवाग्राहीहरु आउने गरेका छन् । नियमित औषधी खानेहरु (सुगर, प्रेसर) का विरामीहरुलाई पनि स्वास्थ्य बीमा मार्फत औषधीहरु उपलब्ध गराएका छौं । सेवाग्राहीहरुलाई भौतिक दूरी कायम गरेर लक्षणका आधारमा पनि औषधीहरु दिएर पठाउने गरेका छौं ।

समाजः पछिल्लो समय स्वाबको नमूनाको सङ्कलन बढेको छ की ?
लुइटेलः हामीले ३ दिनअघि ३४ जनाको स्वाबको नमूना सङ्कलन गरेका थियौं । अब फेरि भोलितिर स्वाब सङ्कलन गर्ने योजना छ । स्वाब सङ्कलन बढेको हो ।

समाजः स्वास्थ्कर्मीहरु कति सुरक्षित भएको पाउनुभएको छ ?
लुइटेलः हामीसँग स्वास्थ्य सुरक्षा सामग्री छन् । स्वाब सङ्कलन गर्दा सुरक्षाको उपाय सबै अपनाइएको छ । स्वाब सङ्कलन गर्दा पनि अनिवार्य मास्क र सेवा दिँदा भौतिक दूरी कायम गरिएको छ ।

समाजः मनहरीमा छुट्टै आइसोलेसन वार्ड बन्न थालेको हो ?
लुइटेलः मनहरीमा २० बेडको आइसोलेसन वार्ड बन्ने तयारी भइरहेको छ । आज अथवा भोलिबाट सञ्चालनमा ल्याउने गरी तयारी भइरहेको छ । त्यसैका लागि अहिले हामी खटिएका छौं । आजै पोजेटिभ आएमा मनहरीका नागरिकलाई छुट्टै आइसोलेनमा राख्ने गरी तयारी भइरहेको छ । अहिले बत्ति, पानी लागयतको सम्पूर्णको व्यवस्थापनमा हामी जुटेका छौं । मनहरीमा अहिले २ वटा क्वारेन्टिन सञ्चालनमा छन् ।

Exit mobile version