
हेटौँडा : जेन जी आन्दोलनको ९ दिनपछि बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ सार्वजनिक स्थानमा देखिनु भएको छ । भदौ २३ र २४ गतेको जेन जी आन्दोलनपछि मुख्यमन्त्री बानियाँ बिहीबार सार्वजनिक रुपमा देखिनुभएको हो ।
उहाँले बिहीबार आन्दोलनका क्रममा तोडफोड र जलेर ध्वस्त बनेका प्रादेशिक संरचनाहरुको निरीक्षण गर्नुभएको थियो भने निजी व्यवसाय तथा प्रतिष्ठानहरुको अवलोकन गर्नुभएको थियो । प्रदेशसभा सचिवालय, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय, सहकारी तथा गरिबी निवारण मन्त्रालय, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, भाटभटेनी सुपर स्टोर लगायतका निकायको मुख्यमन्त्री बानियाँले निरीक्षण गर्नुभयो ।
आन्दोलन लगत्तै मुख्यमन्त्री बानियाँ सेनाको सुरक्षामा रहनु भएको बताइएको छ । मंगलबारबाट राजनीतिक गतिविधमा संलग्न हुनुभएका मुख्यमन्त्री बानियाँको आन्दोलनका क्रममा ४ वटा घर तथा व्यावसायिक प्रतिष्ठानमा क्षति पुगेको छ । मुख्यमन्त्री बानियाँको हेटौँडा र काठमाडौंमा रहेको २ वटा घर, २ वटा व्यावसायिक प्रतिष्ठानमा आन्दोलनका क्रममा क्षति पुर्याइएको थियो । प्रदर्शनकारीले सबै संरचनामा आगजनी तथा तोडफोड गरेका थिए ।
आन्तरिक व्यवस्थापनसँगै मंगलबारबाट राजनीतिक गतिविधिमा संलग्न हुनुभएका मुख्यमन्त्री बानियाँले काठमाडौंमा रहेर मन्त्री तथा प्रदेशसभा सदस्यहरुसँग छलफलमा रहनुभएको बुझिएको छ । बुधबार मात्र मुख्यमन्त्री बानियाँले काँग्रेस संसदीय दलको बैठक जुम मार्फत् संचालन गर्नुभएको थियो । बिहीबार मुख्यमन्त्री बानियाँले ‘जेन जी’ प्रदर्शनका क्रममा भएको आगजनी र तोडफोडले ध्वस्त बनेका प्रदेशको भौतिक संरचनाको निरीक्षण गर्नुहुँदै देशको ‘व्यवस्था र लोकतन्त्र’ जोगिएको बताउनुभयो । आन्दोलनको ९ दिनपछि भग्नावशेष बनेका मन्त्रालयहरुको निरीक्षण गर्नुहुँदै उहाँले उक्त प्रदर्शनमा गणतन्त्र र संघीयता विरोधी तत्वले घुसपैठ गरी हिंसा भड्काएको दावी गर्नुभयो । मुख्यमन्त्री बानियाँले जेन जी पुस्ताले भ्रष्टाचार र सुशासनका लागि राखेको शान्तिपूर्ण मागलाई गलत ढंगले प्रयोग गरिएको बताउनुभयो ।
‘यति ठूलो क्षति हुँदाहुँदै पनि हाम्रो प्रणाली र लोकतन्त्र बचेको छ । संविधान रहेसम्म प्रदेश र स्थानीय तह रहिरहन्छ । तपाईंहरु ढुक्क हुनुहोस्, अहिलेको सरकारलाई निर्वाचनको लागि म्यान्डेट प्राप्त छ’, मुख्यमन्त्री बानियाँले भन्नुभयो, ‘यो आन्दोलन होइन, मागसहितको प्रदर्शन थियो, तर यसमा घुसपैठ भयो । यो घटना व्यवस्थापिका, न्यायपालिका र कार्यपालिकामाथिको सीधा प्रहार हो । तर, यस्तो विषम् परिस्थितिमा सम्माननीय राष्ट्रपति ज्यूले संविधानको रक्षा गर्दै मुलुकलाई निकास दिनुभएको छ ।’
मुख्यमन्त्री बानियाँले आगजनीबाट ध्वस्त भएका सिंचाइ, भौतिक पूर्वाधार, कृषि तथा स्वास्थ्य मन्त्रालयलगायतका संरचनामा क्षतिको अवस्था भयावह भए पनि तत्काल कार्यालय सञ्चालनका लागि वैकल्पिक उपाय खोजी भइरहेको बताउनुभयो । प्रदेश सरकारका काम कारवाही र सेवा प्रवाहमा कुनै समस्या नहुने गरी आन्तरिक व्यवस्थापनको काम भइरहेको उहाँले बताउनुभयो ।
सभामुखको राजीनामाको विषयलाई प्रक्रियागत ढंगले टुंग्याइने मुख्यमन्त्री बानियाँले स्पष्ट पार्नुभएको छ । प्रदेशसभाको काम नरोकिने गरी सरकार संरचनागत व्यवस्थापन सहित कानुनी प्रक्रिया मिलाउने उहाँको भनाई छ । सरकारी संरचनाका साथै भाटभटेनी जस्ता निजी सम्पत्तिमा भएको क्षतिको पनि मूल्यांकन गरी आवश्यक कदम चालिने उहाँले बताउनुभयो । ‘आन्दोलनको क्रममा प्रदेशका मन्त्रालय तथा निकायमा क्षतिको अवस्था भयावह भएको छ । सरकारी भवन मात्र नभई निजी संरचनाहरुमा पति क्षति पुर्याइएको छ । त्यसको व्यवस्थापनमा सरकार क्रियाशील छ । प्राविधिक दृष्टिकोणले जुन संरचना छिटो तयार गर्न सकिन्छ । त्यसलाई प्राथमिकता दिएर काम अगाडि बढाउँछौँ’, मुख्यमन्त्री बानियाँले भन्नुभयो ।









