Home मुख्य समाचार जेन जी आन्दोलन : इतिहासको चिहान, वर्तमानको विस्फोट र भविष्यको बाटो

जेन जी आन्दोलन : इतिहासको चिहान, वर्तमानको विस्फोट र भविष्यको बाटो

ठ्याक्कै भन्नुपर्दा हामी नेपाली आन्दोलनमा खप्पिस छौँ । तर आन्दोलनले दिएको उपलब्धि रक्षा गर्न वा आन्दोलनको बगैचामा फूल्न थालेको फूल फक्राउन असक्षम छौं । आन्दोलन हाम्रो जीवनशैलीजस्तै भएको छ, जस्तो कि बिहान उठ्दा चिया पिउनुजस्तै सामान्य दैनिकी । तर दुःखको कुरा हरेक आन्दोलनको फल पाक्दापाक्दै सडेर जनताको थालसम्म आइपुग्छ । २००७ सालमा प्रजातन्त्र आयो तर लोकतन्त्रलाई राजा महेन्द्रले अपहरण गरे । २०४६ सालमा बहुदल फर्कियो तर नेताहरूले त्यसलाई निजी सम्पत्ति र दलीय स्वामित्व बनाए । २०६२/६३ सालमा गणतन्त्र आयो तर सिंहदरबारभित्र राजकीय संस्कार र शैली मौलायो । यसरी हामीले आन्दोलनको जगमा जितेका उपलब्धिहरू अवसर बन्नुभन्दा चिहान बढी बने ।

२००७ सालको क्रान्तिले राणाशासनलाई ढाल्यो तर लोकतन्त्रको जरा गहिरो बस्नै पाएन । राजा महेन्द्रले खोक्रो आदर्श राष्ट्रवादको तुरूप फालेर लोकतन्त्रको हुर्मत लिए । २०१७ सालपछि दुई दशक लामो पञ्चायतको अन्धकारमा जनतालाई नारा र झुटा सन्देशमा बन्धक बनाइयो । २०४६ सालको आन्दोलनपछि बहुदल आयो । जनताले उत्सव मनाए तर त्यो उत्सवलाई पनि नेताहरूले साउने संक्रान्तिमा गाउँमा काटेको बोको जस्तै भागबण्डामा मात्र सीमित बनाए । फेरि भोकै नेताहरू मोटा भए । २०६२/६३ सालमा जनआन्दोलनले राजतन्त्रलाई अन्त्य गर्‍यो, गणतन्त्र आयो । तर सिंहदरबारमा पुगेका अनुहार नयाँ भएनन्, केवल कुर्सीमा बस्ने शैली मात्र बदलियो । सामन्ती मानसिकता उही, भ्रष्टाचार उही, भागबण्डा उही ।

यही पृष्ठभूमिमा पछिल्लो जेन जी आन्दोलन जन्मिएको हो । यो कुनै आकस्मिक विस्फोट होइन । अघिल्ला पुस्ताले अधुरो छोडेको हिसाब किताब हो । पुराना पुस्ताले इतिहासमा जुन वाचा गरेका थिए, त्यो पूरा नगरेकाले नयाँ पुस्तामा एकखाले आक्रोश भरिएको थियो । २०६२/६३ पछि आएको आशा नेताहरूले गुहेकिराले रछ्यान चाटे जसरी चाटे । संघीय गणतन्त्रको सपना देशमै रोजगारी दिने, विकास गर्ने थियो तर युवाहरूलाई विदेश पलायन गर्न बाध्य बनायो । अवस्था कस्तोसम्म आयो भने गाउँका स्कुलहरू शिक्षकविहीन भए, अस्पतालहरू औषधिविहीन । गाउँमा बाटो पुग्यो तर आटोको अलिकाल भो । संघीयता कागजमा आयो र घर–घरमा सिंहदरबार पनि पुग्यो उही सामन्ती ढर्रा बोकेर ।

युवापुस्ताको आक्रोशलाई अझ घनिभूत बनाउने अर्को तत्व हो डिजिटल चेतना । अघिल्लो पुस्ताले सूचना पाउन महिनौं लाग्थ्यो । नेताहरूको झूट दशकौँपछि मात्र खुल्थ्यो । तर आज फेसबुक, टिकटक र युट्युबले नेताको खोक्रोपना तुरुन्तै उदाङ्गो पारिदिन्छ । एउटा भाषणकै भोलिपल्ट व्यङ्ग्यात्मक मेमे र भिडियो बनेर लाखौँ मानिसको मोबाइलमा पुग्छ । यही डिजिटल अस्त्रले युवापुस्तालाई आत्मविश्वास दिएको छ कि उनीहरूले पनि सत्तालाई चुनौती दिन सक्छन् । यसका कारण यो आन्दोलनको स्वरूप परम्परागत भन्दा भिन्न देखिन्छ । जेन जी आन्दोलन सडकमा नाराबाजी गर्ने मात्रै होइन, इन्टरनेटमा उर्लने आक्रोश पनि हो । एकातिर सडकमा र्‍याली र विरोध हुन्छ, अर्कोतिर फेसबुकमा ह्याशट्याग ट्रेन्डको पहिरो आउँछ । मिनेटभरमा टिकटकमा बनाइएका छोटा व्यङ्ग्यात्मक भिडियोहरू लाखौँले हेर्छन् । मेमेमा नेताको अनुहार टाँसिन्छ र उनको वास्तविक चरित्र नाङ्गै पारिन्छ । यसरी सडक र डिजिटल दुनियाँ दुबै रणभूमि बनेका छन् । पुरानो पुस्ताले आन्दोलनलाई ढुंगा र लाठीको खेल सम्झन्थ्यो, नयाँ पुस्ताले भने ह्याशट्याग र मेमे पनि आन्दोलनको अस्त्र भएको प्रमाणित गर्‍यो ।

यस आन्दोलनका उपलब्धिहरूलाई हल्का रूपमा लिन सकिँदैन । यसले पुराना नेताहरूको खोक्रोपना अझै स्पष्ट बनायो । युवापुस्ताले आफू बिक्ने मतदाता होइन भन्ने सन्देश दियो । सत्ताको दमनलाई व्यङ्ग्यमा परिणत गरेर हरेक घरमा पुर्‍यायो । यसले जनचेतनामा नयाँ भाषा थप्यो, पुरानो राजनीतिक संस्कारप्रति अस्वीकारको आवाज बुलन्द गर्‍यो । तर यसको सीमितता पनि उत्तिकै छन् । आन्दोलनसँग ठोस संगठनात्मक संरचना छैन । आक्रोश बलियो भए पनि विकल्प प्रस्तुत गर्ने क्षमता कमजोर छ । ‘नो’ भन्ने आवाज त शक्तिशाली छ, तर ‘यसको सट्टा के गर्ने ?’ भन्ने प्रश्नमा आन्दोलन मौन छ । डिजिटल आन्दोलन छिटो तात्छ तर छिटो चिसिन्छ पनि । सामाजिक सञ्जालको प्रवृत्ति जस्तै, केही दिन ट्रेन्ड हुन्छ, त्यसपछि हराउँछ । यही रोग आन्दोलनमा पनि देखिन्छ ।

यसरी आन्दोलनले उत्पन्न गरेको अवसर फेरि गुम्ने खतरा छ । पुराना नेताहरू राजनीतिक व्यापारी हुन् । उनीहरूले जनताको आक्रोशलाई सस्तो आश्वासनमा बेच्न जानेका छन् । जेन जि आन्दोलन पनि यही व्यापारमा फस्यो । नेताहरूले ‘युवाको माग सम्बोधन हुन्छ’ भन्ने मिठा बोली सुनाए, आन्दोलनले ठोस एजेन्डा नदिँदा सत्ताले सजिलै पचायो । कतिपय दलहरूले आन्दोलनलाई आफ्नो पक्षमा अपहरण गर्न खोज्दा युवाको विश्वास कमजोर भयो । फलतः आन्दोलन भुइँचालो होइन, केवल कम्पन मात्र बन्यो । सिंहदरबारका ढोकामा हल्का हल्ला त भयो तर ढोका अझै मजबुत रह्यो ।

अब प्रश्न उठ्छ, के जेन जी आन्दोलन पनि पुराना आन्दोलनजस्तै अर्को चिहानमा परिणत हुन्छ ? कि यसले वास्तविक राजनीतिक विकल्प जन्माउँछ ? यसको उत्तर आन्दोलन आफैंले दिनुपर्नेछ । पहिलो कुरा, संगठन निर्माण अनिवार्य छ । ह्याशट्यागले मात्र सरकारको ढोका खोल्दैन । आन्दोलनलाई आधारभूत संरचना चाहिन्छ । दोस्रो वैकल्पिक नीति दिनैपर्छ । शिक्षा, स्वास्थ्य र रोजगारीबारे ठोस प्रस्ताव बिना आन्दोलन केवल चिच्याहट मात्र हुन्छ । तेस्रो, नयाँ नेतृत्व जन्मिनुपर्छ । पुराना अनुहारले युवा आन्दोलनको प्रतिनिधित्व गर्न सक्दैनन् । नयाँ पुस्ताले आफ्नै अनुहार राजनीति भित्र देखाउनुपर्छ । अन्ततः निरन्तरता जरुरी छ । क्षणिक आक्रोशलाई दीर्घकालीन अभियानमा रूपान्तरण नगरेसम्म आन्दोलन फेरि इतिहासकै चिहानमा गाडिन्छ ।

यही बहसलाई अझ गहिरो बनाउने अर्को पक्ष भनेको संविधान र वर्तमान संसदीय प्रणाली हो । वर्तमान संविधान संघीय लोकतान्त्रिक गणतन्त्रको आधारमा बनेको हो । जसमा संसदीय अभ्यासलाई केन्द्रमा राखिएको छ । तर यो प्रणालीले बारम्बार अस्थिरता मात्र जन्माएको छ । गठबन्धनको अंकगणितले न सरकार टिक्छ न नीति स्थायित्व पाउँछ । दलहरूको भागबण्डा र भोटको व्यापारमा देश बारम्बार असफल बनेको छ । जनतालाई चाहिएको स्थायित्व, नीति र विकास यिनै समीकरण, आलोपालो र खिचातानीमा हराउँछ । यो बीचमा अर्को राजनीतिक भूकम्प आएन र यही संविधान अनुसार फेरि संसदीय चुनाव भयो भने के नतिजा आउँछ ? सबैभन्दा ठूलो सम्भावना यही छ कि फेरि पुरानै दलहरूको पुनः प्रवेश हुनेछ, गठबन्धन फेरि उही अंकगणितमा अड्किनेछ, अनि देश फेरि पाँच वर्षअघि जस्तै अस्थिरतामा फस्नेछ । अर्थात् नयाँ पुस्ताले आशा गरेको संरचनात्मक रूपान्तरण संसदीय बाटोले आउँछ भन्ने विश्वास कमजोर छ । त्यसैले अहिले ‘नयाँ शासकीय व्यवस्था’ को बहस पनि सँगसँगै उठिरहेको छ । कतिले प्रत्यक्ष निर्वाचित कार्यकारी चाहिन्छ भन्छन्, कतिले मिश्रित प्रणालीको पक्षमा छन् ।

जनतामा भने स्पष्ट सन्देश छ, भागबण्डा र गठबन्धनको अंकगणितले देश बर्बाद पारिसक्यो । प्रश्न यो हो कि संविधानले दिएको लोकतान्त्रिक अभ्यासलाई सुधार गर्ने कि मूलतः नयाँ बाटो रोज्ने ? जेन जी आन्दोलनको आक्रोश यहीँ केन्द्रित छ । उनीहरूलाई लाग्छ संविधान र संसदीय व्यवस्थाले दिएको आशा झुटो सावित भयो । यदि यो प्रणालीलाई जसरी छ त्यसरी नै चलाइयो भने फेरि त्यही असफलताको पुनरावृत्ति हुनेछ । तर यदि यही संविधानभित्रै सुधार गरियो, प्रत्यक्ष जनप्रतिनिधित्व र जवाफदेहिता बढाउने व्यवस्था ल्याइयो भने सम्भवतः नयाँ सम्भावनाको ढोका खुल्न सक्छ ।

निश्कर्षमा आउँदा एउटा कुरा स्पष्ट छ—हामी आन्दोलनमा पारंगत छौँ, तर उपलब्धि उपभोग गर्न असक्षम । जेन जी आन्दोलनले फेरि यो विरोधको संस्कारलाई नयाँ भाषा दिएको छ । यसले पुराना नेताको खोक्रोपना उदाङ्गो पारेको छ । जनताको असन्तुष्टिलाई शक्तिशाली आवाजमा रुपान्तरण गरेको छ । तर प्रश्न अझै बाँकी छः के यसले नयाँ इतिहास लेख्छ ? कि पुराना आन्दोलनजस्तै अर्को स्मृति दिवसको विषय मात्र बन्छ ? निर्णय नयाँ पुस्ताकै हातमा छ । यदि उनीहरूले संगठन, नीति र नेतृत्वमा नयाँ बाटो देखाए भने यस पटकको आन्दोलन चिहान होइन, भविष्यको बीउ बन्न सक्छ । तर उनीहरूले पनि अघिल्ला पुस्ताजस्तै आन्दोलनलाई केवल आक्रोशको उत्सवमा सीमित राखे, एकबारको जुनीमा एकपटक लडियो पुग्यो भन्ने ठाने भने फेरि अर्को पुस्ता उठेर यही कुरा दोहोर्‍याउनेछ, ‘हामीले पनि आन्दोलन गरेका थियौँ तर फल खान पाएनौँ ।’