आगजनीले क्षति पुगेको प्रदेशसभा भवन ।

हेटौँडा : छरपस्ट सामग्री, जलेका सवारी, कुसी टेबल, पुटेका सिसा बिच २ वटा प्लाष्टिकका टेबलमा ५/७ जना व्यक्तिहरु । हेटौँडा–१० स्थित बागमती प्रदेशसभा सचिवालयको कार्यालय अघि बिहीबार र शुक्रबार देखिएको अवस्था हो यो ।

२ जना सचिवसहित २ उपसचिव र केही अधिकृत र सहायक स्तरका कर्मचारीहरु २ दिनदेखि सचिवालय आउने र असरल्ल भवन संरचनाको हेरेर फर्किने गरेका छन् । प्रदेशसभाका २ वटा मुख्य भवनहरु जलेर ध्वस्त छन् । संसदीय दलका कार्यालयहरुका कुनैपनि संरचनाहरु बाँकी छैनन् । सचिवालय भित्रको दक्षिणतर्फ रहेको कांग्रेस, राप्रपा, एकीकृत समाजवादी र माओवादी केन्द्रको संसदीय दलको कार्यालय भवन पनि जलेको छ । यद्यपी सो भवनको माथिल्लो तलामा भने आगलागीले त्यति क्षति पुर्‍याएको देखिँदैन ।

आगजनीले क्षति पुगेको प्रदेशसभा भवन ।

जेन जी आन्दोलनको क्रममा भदौ २४ गते दिउँसो उक्त भवनहरुमा आगलागी भएको थियो । प्रदर्शनकारीले सचिवालय भित्रका साना ठूला गरेर ४ वटा भवनमा आगो लगाएका थिए । सो आगलागीबाट प्रदेशसभाका ३ वटा सवारी साधनसहित केही मोटरसाइकलहरु जलेर खरानी बनेका छन् । प्रदेशसभा परिसरमा जलेका भवन संरचनाको टुक्रा, आल्मुनियमका सामान, सिसा, फुटेका गमला र जलाइएको मोटरसाइकल तथा फर्निचरहरु छरिएको अवस्थामा रहेको छ । भवन भित्रकाहरु पूर्णरुपमा ध्वस्त छन् भने हालै बनेको प्रदेशसभाको नयाँ भवनको संरचनाहरु खरानीमा विलिन भएको छ । प्रि–फ्याबको उक्त भवनका बोर्डसहित कुर्सी, टेबल तथा अन्य संरचनाहरु जलेका छन् ।

‘गरौं केही छैन, नगरौं अवस्था विजोग छ ।’ प्रदेशसभाका सचिव रामकुमार पौडेलले भन्नुभयो, ‘कुनै संरचनाहरु बाँकी छैन । कहाँबाट सुरु गर्ने भन्ने नै भएन । पुरानो हल भएको घरको भित्ता समेत खरानी भएको छ । अझै उप्किँदै झरिरहेको छ । बसेर काम गर्ने टेबलसम्म छैन ।’ उहाँका अनुसार प्रदेशसभामा रहेका रेकर्डहरु समेत नष्ट भएको छ । प्रदेशसभामा विगत २०७४ देखिका कागजात तथा कानुनका दस्तावेज र प्रदेशसभा सदस्यका रेकर्डहरु जलेर नष्ट भएको उहाँले बताउनुभयो ।

आगजनीले क्षति पुगेको प्रदेशसभा भवन ।

प्रदेशसभा सचिवालय हेटौँडाका सचिव पूर्णबहादुर दर्जीका अनुुसार तत्काल भवन संरचना मर्मत गरेर संचालन हुने अवस्था छैन । सुरक्षाका लागि गेट समेत नरहेको उहाँले बताउनुभयो । कांग्रेस संसदीय दलको कार्यालय रहेको भवनको माथिल्लो भागमा क्षति कम देखिएको भएपनि तल्लो भागका पिल्लर समेत जलेकाले जिर्ण अवस्थामा रहेको उहाँले बताउनुभयो ।

प्रदेशसभा संचालनका लागि अर्को भवन तयार गर्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । त्यसका लागि संघीय सरकार देखिका निर्देशन र व्यवस्थापकीय भूमिका आवश्यक रहेको उहाँले बताउनुभयो । प्रदर्शनकारीको आक्रमणबाट प्रदेशसभाको नयाँ सभाहलमा १४ करोड रुपैयाँ बराबरको क्षति पुगेको छ भने अन्य संरचना बाहेक करिब २० करोड रुपैयाँको क्षति भएको प्रारम्भिक मुल्यांकन रहेको छ ।