हेटौँडा : जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लाभरि लागू गरेको निषेधाज्ञा तथा कफ्र्यु आदेश हटाएको छ । कार्यालयले शनिबार एक सूचना प्रकाशित गर्दै भदौ २८ गते बिहान १० बजेदेखि लागू हुने गरी उक्त आदेशहरु हटाएको हो ।
प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठद्वारा हस्ताक्षरित सूचनामा उल्लेख भएअनुसार पछिल्लो समय मुलुकमा विकसित घटनाक्रम र सो पश्चात् सृजित असहज परिस्थिति क्रमशः सामान्यीकरण हुँदै गएकोले सर्वसाधारणको जानकारीका लागि निषेधाज्ञा र कफ्र्यु हटाइएको हो ।
यसअघि, देशका विभिन्न भागमा देखिएको असहज परिस्थितिलाई मध्यनजर गर्दै प्रशासनले गत भदौ २६ गतेदेखि जिल्लामा निषेधाज्ञा तथा कफ्र्यु आदेश जारी गरेको थियो । प्रशासनको पछिल्लो निर्णयसँगै मकवानपुरको जनजीवन सामान्य अवस्थामा फर्कने अपेक्षा गरिएको छ ।











