पूर्वीय दर्शनको सामान्य ज्ञान राख्ने मानिसलाई पनि योग, ध्यान र प्राणायामका बारेमा धेरै बताइरहनु जरुरी छैन । यी तीन शब्दावली हेर्दाखेरी अन्तरसम्बन्धित जस्तो देखिए पनि सारमा यिनीहरूको प्रक्रिया तथा उद्देश्य फरक–फरक रहेका छन् । पौराणिक कालदेखि नै व्यावहारिक रुपले सिद्ध मानिएका योग, ध्यान, प्राणायाम आदिलाई हरेक कालखण्डमा महत्वका साथ लिइएको पाइन्छ । वैदिक साहित्यहरूलाई आधार मान्ने हो भने हो भने यी तीनै कुराहरुको संयोजनबाट शारीरिक तथा मानसिक स्वस्थता, आत्मिक शान्ति तथा सांसारिक बन्धन वा बद्धताबाट मोक्ष प्राप्तिसम्म गर्न सकिन्छ ।
![](http://samriddhasamaj.com/wp-content/uploads/2020/07/received_2821975504538167.jpeg)
पूर्वीय दर्शनमा यी तीन कुराहरूको महत्वलाई जति उच्चतम स्थान दिइएको छ, त्यति गहन रुपमा सनातन हिन्दु धर्म मान्ने सबैले यसलाई ग्रहण गरेको भने पाइँदैन । बरु पछिल्लो समय पाश्चात्य सभ्यतामा समेत यसले राम्रै स्थान जमाउन सफल भइरहेको देखिन्छ । वास्तविकतालाई हेरेर भन्ने हो भने योग, ध्यान तथा प्राणायाम बुझ्नेका लागि श्रीखण्ड र नबुझ्नेका लागि खुर्पाको बिँड जस्तै भएको छ । यसको व्यावहारिक पक्षमा प्रवेश नै नगरिकन यी अभ्यासहरूको बारेमा नजरअन्दाज गर्नेहरूको कमी देखिँदैन । मानिसको बुझाइमा भएको क्रमिक परिवर्तनसँगै यिनीहरूको महत्वको महत्व दिनानुदिन बढ्दै गइरहेको चाहिँ अवश्य नै देखिन्छ । यस आलेखमा यी तीन प्रक्रियाहरु मध्येको तेस्रो अर्थात प्राणायाम विधि र यसबाट मानिसले प्राप्त गर्न सक्ने उपलब्धिहरुलाई चर्चा गर्न खोजिएको छ ।
प्राणायामको खास अर्थ बुझ्नका लागि यसको शाब्दिक अर्थलाई नै सर्वप्रथम हेर्नुपर्ने हुन्छ । प्राण उपसर्गमा आयाम प्रत्यय लागेर बनेको प्राणायामको शाब्दिक अर्थ प्राणवायु (सास फेर्ने हावा) लाई व्यक्ति आफैंले नियन्त्रण गर्ने तथा सामान्य अवस्था भन्दा फरक किसिमले चलायमान गर्ने अवस्था बुझिन्छ । प्राणयामलाई योगका आठ अङ्गमध्येको एक अङ्ग पनि मानिन्छ । योगलाई समग्र रुपले हेर्दा शरीर र मनलाई जोड्ने वा एकाग्र बनाउने वा एकैसाथ नियन्त्रणमा ल्याउने विधि बुझिन्छ भने ध्यान भन्नाले श्वासको गतिलाई नियन्त्रण नगरिकन वा स्वतन्त्र छाडिदिएर शारीरिक शिथिलता र आत्मिक शान्ति प्राप्त गर्ने कार्यलाई बुझिन्छ ।
योग, ध्यान र प्रणायाममध्ये शारीरिक आरोग्यता तथा मानसिक शान्तिको अवस्थामा प्रवेश गर्नका लागि तत्कालै सुरु गर्न सकिने विधि चाहिँ प्रणायाम हो । अवश्य पनि हामीले विभिन्न शारीरिक तथा मानसिक कार्यहरु गरेर सफलतातर्फ उन्मुख हुनका लागि आन्तरिक तथा बाह्य दुवै प्रकारको ऊर्जाको आवश्यकता पर्दछ । प्राणायामको माध्यमबाट शरीरले सामान्य अवस्थामा प्राप्त गर्नेभन्दा निकै नै बढी ऊर्जा प्राप्त गर्न सकिन्छ । वैज्ञानिक हिसाबले हेर्ने हो भने पनि हामीले खाएको खाना अक्सिजनका माध्यमले जलन भएर त्यसबाट उत्पन्न हुने उर्जाले नै हामी विविध प्रकारको शारीरिक तथा मानसिक कामहरु सम्पन्न गर्न सक्दछौं ।
अक्सिजनको मात्रा बढ्न गएमा अथवा विकारयुक्त ग्यासहरूको मात्रा घट्न गएमा मानिसको आन्तरिक तथा बाह्य ऊर्जाको मात्रामा वृद्धि हुने कुरा वैज्ञानिक रुपले पनि पुष्टि भइसकेको छ । प्राणायामको अभ्यासबाट शरीरले सामान्य अवस्थामा भन्दा बढी अक्सिजन प्राप्त गर्दछ साथै शरीर भित्र जम्मा भएर रहेको बिकार वस्तुहरुलाई बाहिर फ्याँक्ने काम पनि गर्दछ । यसबाहेक मानिसको मनको चञ्चलतालाई कम गर्ने, ध्यानलाई केन्द्रित गर्ने स्मरणशक्ति विकास गर्ने, आकर्षक व्यक्तित्व निर्माण गर्ने, रचनात्मक सोचाइहरूको विकास गर्ने साथै आफूले चालेका कुनै पनि कदममा सफलता हासिल गर्ने कार्यका लागि प्राणायाम महत्वपूर्ण मानिन्छ ।
प्राणायामबाट प्राप्त हुने अर्को महत्वपूर्ण उपलब्धि के पनि हो भने यसले मानिसलाई शारीरिक तथा मानसिक रुपमा बलियो बनाएर सानातिना स्वास्थ्य समस्याहरुले छुन नसक्ने अवस्था सिर्जना गर्दछ । यसै अर्थमा वर्तमान विश्वले सामना गरिरहेको कोराना संक्रमणको लागि पनि प्रणायाम धेरै हदसम्म वरदान सावित हुन सक्ने देखिन्छ । विश्व स्वास्थ्य संगठन तथा स्वास्थ्य क्षेत्रका विज्ञहरुले पनि भनेका कुरालाई आधार मान्ने हो भने रोगप्रतिरोधी क्षमता कमजोर भएका मानिसलाई कोरोनाले सजिलै आक्रमण गर्न सक्दछ र यसको जोखिमबाट बच्न स्वास्थ्य सुरक्षाका उपायहरुको साथमा सबैले रोगप्रतिरोधी क्षमताको विकास गर्नु पर्दछ । जुन कुराका लागि प्राणायामले पनि उत्तिकै सहयोगी भूमिका खेल्न सक्दछ । यसको अर्थ प्रणायामको अभ्यास गरेपछि कोरोनाको जोखिम हुँदैहुँदैन भन्ने चाहिँ होइन तर यसलाई कोरोनाको जोखिम न्यूनीकरणको एउटा राम्रो अस्त्र चाहिँ बनाउन सकिन्छ ।
यसै लेखमा प्राणायाम सम्बन्धी सबै कुराहरु उल्लेख गर्न सम्भव छैन तर पनि यससम्बन्धी प्रारम्भिक ज्ञान राख्न चाहनुहुनेहरुका लागि हाल चलिआएका विभिन्न प्राणायामहरूको आधारभूत पक्षका बारेमा बारेमा यहाँ सामान्य चर्चा गर्न खोजिएको छ ।
प्राणायाम एउटा निश्चित र दक्ष व्यक्तिबाट निर्देशित हुनुपर्ने प्रक्रिया भएकाले यो अभ्यास गर्नका लागि पनि निश्चित समय अथवा अवस्थाको आवश्यकता पर्दछ । बिहान उठिसकेपछि खाली पेटमा नै प्राणायाम गर्नु सबभन्दा उपयुक्त मानिन्छ । प्राणायाम गर्नुअघि स्नान गर्न सकेमा अझ उत्तम मानिन्छ । सकेसम्म ताजा हावा ओहोरदोहोर हुन सक्ने स्थानको छनौट गर्नुपर्दछ । आफ्नो सुविधाअनुसार प्राणायामलाई घरभित्र वा कुनै प्राकृतिक स्थलमा गएर पनि गर्न सकिन्छ । यी कुराहरु को मध्यनजर गरेर नियमित रुपमा अभ्यास गर्ने हो भने प्राणायामबाट बढीभन्दा बढी लाभ प्राप्त गर्न सकिन्छ । प्राणायामका सन्दर्भमा एउटा बिर्सन नहुने कुरा के हो भने सिकाइ वा अभ्यास गर्नका लागि गुरु वा प्रशिक्षकको सहायता लिनु सबभन्दा राम्रो हुन्छ । अन्यथा उपयुक्त किसिमले प्राणायामको अभ्यास गर्न नसकेको अवस्थामा मानिसहरूलाई स्वासप्रस्वास सम्बन्धी अन्य समस्याहरू पनि निम्तिन सक्ने खतरा रहन्छ ।
प्राणायामलाई अझ सजिलोसँग बुझ्ने सन्दर्भमा यहाँ तीनवटा प्रक्रियाहरु उल्लेख गर्न खोजिएको छ । यिनीहरु नै हरेक प्राणायामका अङ्गहरु रहने गर्दछन् । यी तीन प्रक्रियाहरु हुन् पूरक, कुम्भक र रेचक ।
१) पूरकः नियन्त्रित रुपमा स्वासलाई भित्र तान्ने प्रक्रियालाई पूरक भनिन्छ । स्वासलाई अवस्था अनुसार बिस्तारै–बिस्तारै वा छिटोछिटो दुवै तरिकाले भित्र लिन सकिन्छ ।
२) कुम्भकः स्वासलाई आफ्नो क्षमताअनुसार रोकेर राख्ने प्रक्रियालाई कुम्भक भनिन्छ । भित्र तानिएको स्वासलाई केही समयसम्म रोकेर राख्ने क्रियालाई आन्तरिक कुम्भक भनिन्छ भने स्वास फालिसकेपछि पुनः केही समयसम्म श्वास नलिएर नबस्ने क्रियालाई बाह्य कुम्भक भनिन्छ ।
३) रेचकः भित्र लिइएको स्वासलाई नियन्त्रित रुपमा छोड्ने प्रक्रियालाई रेचक भनिन्छ । छाड्ने प्रक्रिया बिस्तारै–बिस्तारै वा छिटो–छिटो पनि हुन सक्दछ ।
यी तीनवटा क्रियाहरू नै सबै प्रकारका प्राणायामहरूमा कुनै न कुनै किसिमले आउने गर्दछन् । प्राणायामहरूको संख्या यति नै वटा छ भनेर किटान गर्न नसकिने भए पनि सामान्यतया मानिसहरुले प्रयोगमा ल्याइरहेका प्राणायामका प्रकारहरूलाई यहाँ उल्लेख गर्न खोजिएको छ । यहाँ उल्लेख गरिएका सबै प्रणायामहरूको विधि र प्रक्रियालाई यसै लेखमा समेट्न सम्भव छैन । यहाँ उल्लेखित प्राणायामहरूका बारेमा अधिक जानकारी राख्नका लागि युट्युब, इन्टरनेट ब्राउजरहरू तथा विभिन्न सर्च इन्जिनहरुको पनि प्रयोग गर्न सक्नुहुनेछ । प्रणायामका केही प्रमुख प्रकारहरु निम्न अनुसार छन्ः
कपालभाती प्राणायाम, उज्जायी प्राणायाम, नाडी शोधन प्राणायाम, शितली प्राणायाम, भास्त्रिका प्राणायाम, डिग्र प्राणायाम, बाह्य प्राणायाम, भ्रामरी प्राणायाम, उद्गित प्राणायाम, अनुलोम विलोम प्राणायाम आदि । यी विभिन्न प्रकारका प्राणायामहरु अभ्यास गर्ने तौरतरिका, यिनीहरुबाट प्राप्त हुने लाभ तथा खास प्रकारको प्रणायाम गर्न नमिल्ने खासखास स्वास्थ्यगत अवास्थाहरु समेत विचार गरेर प्राणायामको अभ्यास गर्दा धेरै फलदायी हुने देखिन्छ ।