लकडाउन खुकुलो बनाउँदै लगेपछि देशभर कोरोना महामारी बढ्दै गएको छ । चार महिनापछि बन्दाबन्दी खुल्दा नागरिकले कोरोना नै अन्त्य भएको झैं व्यवहार गरेकैले आज थप जटिल परिस्थिति बन्दै गएको छ । आर्थिक अवस्था सुधारका लागि सरकारले बन्दाबन्दी केही खुकुलो बनाएको हो । तर नागरिक भने कोरोना महामारीलाई पराजय नै गरिएको उन्मादिमा देखिएपछि संकट थपिँदै गएको छ । देशका ठूला वस्तीहरु कोभिडको मारमा परेका छन् । दैनिक संक्रमित पुष्टि हुने क्रम बढेपछि सरकारले प्रदेश मार्फत स्थानीय प्रशासनलाई लकडाउन वा निषेधाज्ञा लगाउन सक्ने अधिकार दिएको छ । यतिबेला देशभरका धेरै घनावस्ती भएका सहरमा आवश्यकताअनुसार बन्दाबन्दी लागेको छ ।

केहीदिनदेखि मकवानपुरमा पनि कोरोना भाइरसको महामारी बढ्दै गएको छ । जिल्लाभित्र ८० को हाराहारीमा संक्रमित पुगेका छन् । यसै क्रममा हेटौंडा उपमहानगरपालिका र मनहरी बढी जोखिममा देखिएको छ । त्यसैले जिल्ला संकट व्यवस्थापन समितिको सिफारिसमा जिल्ला सुरक्षा समिति मकवानपुरले हेटौंडा उपमहानगरपालिकाको पुरै क्षेत्र र मनहरी गाउँपालिकाको राजमार्गदेखि ५/५ सय मिटर दायाँबायाँ क्षेत्रमा निषेधाज्ञा लगाउने निर्णय गरेको छ । नागरिक आफैं जिम्मेवार भइदिने हो भने यसप्रकारको निर्णय आवश्यक नै पर्ने थिएन । नागरिकलाई सुरक्षित रहन पनि बाध्य बनाउनु पर्ने अवस्था आएको छ । यो शिक्षित समुदायका लागि पटक्कै सुहाउने विषय होईन ।

स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा सरकारका लागि नभई आम नागरिककै लागि हो । त्यसैले आदेशको परिधिमा बस्नुको विकल्प छैन । आदेश उल्लंघन गर्नेहरु माथि कानूनी कारवाहीको अधिकार सुरक्षाकर्मीलाई हुने छ । पक्कै पनि त्यो अवस्था नआओस् भन्नेमा विश्वास गर्नु पर्दछ । केहीदिनदेखि हेटौंडामा बढेको संक्रमणले विभिन्न कार्यालय तथा संस्थाहरु सिल भएका छन् । कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएपनि हेटौंडाको एक बैंक, केही प्रहरी चौकी तथा सहकारीहरु बन्द गरिएको अवस्था छ । सचेत र सतर्क नहुने हो भने अन्य कार्यालयहरु समेत बन्द गर्नु पर्ने अवस्था आउन सक्छ । त्यसैले जिल्ला प्रशासनले तुरुन्त नै निषेधाज्ञा जारी गरेको छ । साउन ३२ गतेसम्म पनि परिस्थितिमा सुधार नभएमा समय थपिने सम्भावना हुन्छ ।

कोरोना संक्रमण नियन्त्रणका लागि लागू भएको निषेधाज्ञाका नियमलाई हुबहु पालना गर्नु नागरिकको जिम्मेवारी हुने छ । यस्तै जनतालाई घरमै सीमित गरेर राज्यका निकायहरु पनि चुपचाप बस्न मिल्दैन । निषेधाज्ञाको उपयोग गरी संक्रमितहरुको सम्पर्कमा आएकाको खोजी र परीक्षण बढाउने, क्वारेन्टिन र आइसोलेसन थप गर्नेदेखि अन्य व्यवस्थापकीय पक्षको तयारीमा जुट्नु पर्ने हुन्छ । चार महिनासम्म लकडाउन गरेर सरकार चुपचाप बसिदिँदा आजको परिस्थिति निम्तिएको छ । यसै वास्तविकतालाई आत्मसात गरी स्थानीय तहहरुले जिम्मेवारी पुरा गर्न सक्नु पर्दछ । निषेधाज्ञाको अवधिलाई कुन रुपमा कसरी उपयोग गर्ने हो स्पष्ट योजनाका साथ काम गरिनु आवश्यक छ । नागरिकले पनि सरकारका नीति, निर्देशनको पालना गर्ने गराउने हो भने मात्र कोभिड माथि विजय हात पर्ने छ नत्र जोखिम यथावत रहने छ ।