हेटौँडा : संघीय संसद सदस्य तथा पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले हेटौँडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयको अवलोकन गर्नुभएको छ । सहरी विकास मन्त्रालयबाट ३ करोड रुपैयाँ बजेट विनियोजन भएर छात्रावास निर्माणको प्रक्रियामा रहेको भुटनदेवी माविको संघीय सांसद सिंहले आइतबार अवलोकन गर्नुभएको हो ।
सांसद सिंहले शिक्षाको पूर्वाधार विकास आवश्यक रहेको उल्लेख गर्नुहुँदै छात्रावास निर्माणले ग्रामीण भेगका विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्राप्तिमा सहजता ल्याउने विश्वास व्यक्त गर्नुभयो । शैक्षिक गुणस्तर अभिवृद्धि तथा सुरक्षित बसोबासका लागि छात्रावास निर्माण अपरिहार्य रहेको उल्लेख गर्नुहुँदै उहाँले शिक्षा क्षेत्रमा गरिने लगानी नै दीर्घकालीन राष्ट्र निर्माणको आधार हुने धारणा पनि राख्नुभयो । छात्रावास निर्माणका लागि वजेट विनियोजन गर्न सांसद सिंहले पहल गर्नुभएको थियो ।
विद्यालय अवलोकनका क्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका वडाअध्यक्ष नवीन सिग्देलसहित राप्रपा केन्द्रीय सदस्य राम थोकर, राप्रपा मकवानपुर जिल्ला कार्यवाहक अध्यक्ष सागर थापा, हेटौंडा उपमहानगर समितिका अध्यक्ष अरुण लामा, महिला नेतृ उर्मिला लामा, विद्यालयका प्रधानाध्यापक माधवप्रसाद दहाल, शिक्षक, कर्मचारीको सहभागिता रहेको थियो ।
