मानव जीवन एक संघर्ष हो । मानिसका सबै प्रकारका सफलताको साधक पनि संघर्ष हो । संघर्षबिना कोही सफल हुँदैन । हरेक व्यक्ति निरन्तर संघर्ष, लगाव र मिहिनेतपछि मात्रै सफल बन्ने हो । उत्साह, हिम्मत, साहस, आँटका साथ गरेको संघर्षबाट प्राप्त सफलताले नै मानिसको जीवनलाई सार्थक तुल्याउँछ । मागेर, रोएर, खोसेर, छलकपट गरेर वा याचना गरेर पाएको सफलतालाई संघर्ष मान्न सकिँदैन । जीवनमा केही उपलब्धि हासिल गर्ने हो भने निरन्तर संघर्ष गर्नुपर्छ । दुःखको समयमा आत्तिएर, निराश भएर वा हार मानेर सफल भइँदैन, सफल बन्नका लागि संघर्ष गर्न सक्नुपर्छ । संसारमा धेरै मानिसको सफलताको पछाडि कठोर संघर्ष रहेको पाइनछ । यस्तै संघर्षबाट सफल बन्नेमध्ये नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा) पनि एक हुन् ।
पछिल्लो समय सफलतासँगै चर्चामा रहेकी फुटबलर साम्बाले संघर्षसँगै आफूले सफलता हासिल गरेको बताएकी छिन् । आफूले मोजाको भकुण्डोबाट फुटबल खेल्न थालेको बताउने साम्बाले सुरुवाती दिनमा धेरै मिहिनेत र संघर्ष गरेका कारण अहिले सफलता पाएको बताइन् । सञ्चारिका समूह मकवानपुरले ‘देश चिनाउने साम्बासँग हाम्रो चिनजान’ कार्यक्रम आयोजना गरेर साम्बालाई सम्मान गरेको हो । सम्मानसँगै हेटौंडा स्कूल अफ म्यानेजमेन्टले उपलब्ध गराएको ५० हजार रुपैयाँ प्रदान गरिएको थियो । मिहिनेत र संघर्षले नै मानिसलाई अरुभन्दा फरक बनाउने साम्बाको भनाइ छ । बाल्यकाल अभावमा बितेका कारण भकुण्डो किन्ने क्षमता नभएको स्मरण गर्दै साम्बाले अहिले खेल्नका लागि सामग्रीको अभाव नरहेको उनले बताइन् ।
संघर्षपूर्ण यात्राबाट सफलता हासिल गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रि खेलाडीको उदाहरण प्रशस्तै छ । विश्वभर फुटबल तथा क्रिकेट खेलका समर्थकहरु बढी भएकाले यी खेलका सफल खेलाडीहरुको संघर्षको कथा पनि बढी नै उजागर हुने गरेका छन् । फुटबलका जादुगर पेलेदेखि पछिल्लो समयका विश्वका प्रख्यात फुटबल खेलाडीहरु सबैजसोले निरन्तर संघर्षबाटै सफलता पाएका थिए । नेपालमा पनि अधिकांश खेलाडीहरुको सफलताको पछाडि उनीहरुले गरेको संघर्ष नै साधक बनेको पाइन्छ । सरकारले खेलाडीहरुका लागि पर्याप्त सुविधा र अवसर प्रदान गर्न नसकेको अवस्थामा कतिपय खेलाडीहरु आफ्नै मिहिनेत र संघर्षबाट सफल बनेका छन् । साम्बालगायत अन्य खेलाडीहरुको संघर्ष र सफलता अरु खेलाडी तथा सबै क्षेत्रका व्यक्तिहरुका लागि सिकाइ बन्नुपर्छ । आफू किन सफल हुन सकिन भनेर चिन्ता गर्नुभन्दा अरु कसरी सफल भए भन्ने कुरा मनन गरेर निरन्तर अभ्यास र प्रयास गर्ने अठोट लिन सकेमा सफलता पाउन सकिन्छ ।
हरेक मानिसले कुनै विशिष्ट लक्ष्य प्राप्त गर्न अनवरत् परिश्रम अर्थात् कोशिस गरिरहन्छ भने त्यो नै वास्तविक संघर्ष हुन्छ । मानिसले हासिल गरेका सबै उपलब्धि निरन्तर परिश्रम, अभ्यास र संघर्षको नतिजा हो । प्रत्येक मानिसले आफ्नो लक्ष्य निर्धारण गरेर त्यसलाई हासिल गर्न सही तरिकाबाट प्रयत्न गर्ने हो भने सफलता प्राप्त हुन्छ । त्यस्तो सफलताबाट नै मानव जीवन सफल हुन्छ । कोही व्यक्ति एकै पटक सफल बन्न सक्दैन । सफल बन्नका लागि निरन्तर मिहिनेत, प्रयत्न र परिश्रम गर्नुपर्छ, जुन संघर्षको रुपमा चिनिन्छ । त्यसैले संघर्ष नै जीवन हो भन्ने वास्तविकतालाई बुझ्ने र त्यसलाई व्यवहारमा प्रयोग गर्नेले नै सफलता पाउन सक्छ ।
