हेटौँडा : शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले नियमानुसार प्रधानाध्यापक नियुक्त गर्न, गराउन सबै विद्यालयहरुलाई ध्यानाकर्षण गराएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको शासकीय सुधार शाखाको परिपत्रअनुसार इकाईले मकवानपुरका सबै विद्यालयलाई सम्बोधन गरेर सूचना जारी गरेको हो ।
शुक्रबार एक सूचना जारी गर्दै इकाईले सामुदायिक विद्यालयको प्रधानाध्यापक पदमा एक पटकमा पाँच वर्षका लागि नियुक्त भए पश्चात पनि पुनः नियुक्ति नभई निरन्तर सेवा अवधिभर प्रधानाध्यापक पदमा रही कार्य गरेको तथा योग्यताको आधारमा प्रधानाध्यापक नियुक्ति नगरिएको भनी उजुरी प्राप्त भएको उल्लेख गरिएको छ । शिक्षा नियमावली–२०५९ को परिच्छेद–१७ को नियम ९३ को प्रधानाध्यापक सम्बन्धी व्यवस्था बमोजिम प्रधानाध्यापक नियुक्ति नभएको र सेवा अवधि समाप्त भएका विद्यालयहरुले नियमानुसार आवश्यक प्रक्रिया पूरा गरी प्रधानाध्यापक नियुक्ति गर्न इकाईले भनेको छ ।
इकाईले प्रधानाध्यापक नियुक्तिको प्रक्रियालाई व्यवस्थित गर्ने विषयमा विद्यालयहरुलाई लेखेको पत्र बोधार्थ पालिकाको शिक्षा महाशाखा, शाखालाई पनि पठाएको छ । मकवानपुर जिल्लाको सन्दर्भमा प्रधानाध्यापक नियुक्तिको प्रक्रियालाई नै आत्मसात नगरी विद्यालय व्यवस्थापन समितिले निमित्त प्रधानाध्यापकको जिम्मेवारी प्रदान गर्ने गरेको छ । शिक्षा नियमावली–२०५९ ले प्रधानाध्यापक नियुक्तिको प्रक्रियामा शिक्षकबीच प्रस्ताव माग गरी प्रतिस्पर्धामार्फत चयन गर्नुपर्ने व्यवस्था छ । मकवानपुरका कुनै पनि विद्यालयले नियमावलीमा भएको व्यवस्थालाई स्वीकारेका छैनन् ।
