हेटौंडाः हेटौंडा–४, कर्राकी सुस्मिता क्षेत्री हत्याकाण्डको षडयन्त्रमा संलग्न भएको आरोपमा जिल्ला अदालत मकवानपुरको आदेशमा पुर्पक्षका लागि थुनामा रहेकी सुस्मिताकी जेठी नन्द दुर्गा थापा कार्कीले थुनामुक्त भई मुद्दा लड्न गरेको अपील उच्च अदालत पाटन हेटौंडा इजलासले अस्वीकार गरेको छ । जिल्ला अदालत मकवानपुरले दुर्गा थापालाई पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेश नै उच्च अदालत पाटन हेटौंडा इजलासले आज सदर गरेको हो ।
थुनामुक्त भई मुद्दा लड्न पाउनुपर्ने माग गर्दै हिजो बुधबार दुर्गा थापा कार्कीले उच्च अदालत पाटन हेटौंडा इजलासमा निवेदन दर्ता भएको थियो । उच्च अदालत पाटन हेटौंडा इजलासका न्यायाधीशद्वय विष्णुदेव पौडेल र हरिप्रताप केसीको संयुक्त इजलासले दुर्गाको अपीललाई अस्वीकार गर्ने आदेश दिएको हो । दुर्गा थापा क्षेत्रीको तर्फबाट अधिवक्ता गणेश दाहाल र ईश्वरराज ढकालले बहस गर्नुभएको थियो भने विपक्षमा उच्च सरकारी वकिलको कार्यालय हेटौंडाका कायममुकायम सहन्यायाधीवक्ता बाबुराम अधिकारीका साथै अधिवक्ता मदनकुमार दाहाल, गोपालप्रसाद आचार्य, मनप्रसाद भट्टराई, अप्सरा बस्नेत, श्रद्धा ढुंगाना, बालकृष्ण शर्मा अधिकारीले बहस गर्नुभएको थियो ।
गत असार १ गते राती सुस्मिताको हत्या भएको थियो । हत्याको अनुसन्धानमा प्रहरीले सुस्मिताका ससुरा, सासु र दुईजना नन्दलाई पक्राउ गरी ज्यान सम्बन्धी कसुर कर्तव्य ज्यान मुद्दा दर्ता गरेको थियो । जिल्ला अदालत मकवानपुरले गत असार ३१ गते मुद्दाको सुनुवाई गर्दै सुस्मिताका ससुरा, सासु र दुबै नन्दलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो ।