हेटौंडा–११, डाङ्डुङ्गेस्थित मामाघर नेपाल मकवानपुर ।

हेटौंडाः छोराको जन्मदिनको अवसर पारेर हेटौंडाका एक दम्पत्तिले हेटौंडा–११, डाङडुङेस्थित मामाघर नेपाललाई पिङ सहयोग गरेका छन् । १० वर्षदेखि हेटौंडामा सडक बालबालिकाको उद्दार, संरक्षण र परिवारमा पुनर्मिलनको कार्य गर्दै आएको मामाघर नेपाललाई छोरा सुप्रिम दहालको जन्मदिनको अवसर पारेर मदन दहाल र सरिता भण्डारी दहालले ५० हजार रुपैयाँ लागतको एउटा फलामे पिङ आज बिहीबार सहयोग गरेका हुन् ।

मामाघर नेपालका सल्लाहकार समेत रहनुभएका दहाल परिवारसहित छोरा सुप्रिम दहालको १६ औं जन्मदिनको अवसरमा मामाघर नेपाल पुगेर पिङ सहयोग गर्नुका मामाघरका बालबालिकालाई मिठाई खुवाउनुभएको थियो । सहयोग हस्तान्तरण कार्यक्रममा राष्ट्रिय युवा परिषद् मकवानपुरका अध्यक्ष सन्तोष चौलागाई, सुप्रिमका मामा निर्माण व्यवसायी नरेन्द्र भण्डारी लगायतका व्यक्तिहरु मामाघर पुगेका थिए ।

मामाघर नेपाल अहिले आफ्नै स्वामित्वको भवनमा स्थापित छ । मामाघरलाई दहाल परिवारले उपलब्ध गराएको सहयोग उल्लेखनीय भएको मामाघर नेपालका संरक्षक अर्पण पराजुलीले बताउनुभएको छ । बालबालिकाको मनोरञ्जनका लागि पिङ उपयोगी हुने उहाँको भनाइ छ ।