हेटौंडाः जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख एवम् शैक्षिक सहयोग अक्षयकोषका अध्यक्ष रघुनाथ खुलालले शैक्षिक सहयोग अक्षय कोष मकवानपुरसँग जोडिन सबैलाई आग्रह गर्नुभएको छ । अंग्रेजी भाषा शिक्षकहरुको संगठन नेल्टा मकवानपुर एवम् बागमती प्रदेश समितिका पदाधिकारीहरुसँग बुधबार भएको छलफलका क्रममा उहाँले शैक्षिक क्षेत्रमा योगदान गर्ने उद्देश्यका साथ स्थापना भएको संस्थामा जोडिन आग्रह गर्नुभयो ।
विपन्न र अभिभावकविहिन बालबालिकाको शिक्षामा पहुच बढाउने, शैक्षिक संस्थाको पूर्वाधार विकास र शैक्षिक सामग्री व्यवस्थापनमा सहयोग गर्ने, शैक्षिक गुणस्तरमा बृद्धि गर्ने र अनाथ, असहाय एवम् विस्थापित र जोखिममा रहेका बालबालिकाको शिक्षाका लागि आवासीय सुविधा उपलब्ध गराउने उद्देश्यका साथ नागरिक समाजका तर्फबाट संस्था सञ्चालन रहेको छ । मकवानपुरमा शैक्षिक क्षेत्रमा योगदान पुर्याउने उद्देश्यका साथ स्थापना भएको अक्षयकोषमा सहभागी भएर शैक्षिक क्षेत्रमा योगदान गर्न आग्रह गर्नुभयो ।
सोही क्रममा संस्थामा सदस्यता बृद्धिका लागि बुधबार नेल्टा मकवानपुरसँग छलफल गरिएको हो । छलफलका क्रममा संस्थाका अध्यक्ष खुलाल र सचिव बद्री बहादुर पाठकले नेल्टाका पदाधिकारीलाई संस्थाका बारेमा जानकारी दिनुभएको थियो । छलफल पश्चात बुधबार नै नेल्टाका ५ जना सदस्यले अक्षयकोषको आजीवन सदस्यता लिएका छन् । नेल्टा मकवानपुरले उक्त अक्षयकोषको संस्थागत सदस्यता लिने प्रतिबद्धता समेत व्यक्त गरेको छ । सदस्यता लिदै उनीहरुले शैक्षिक क्षेत्रमा योगदान गर्न अक्षयकोष राम्रो माध्यम बन्ने बताएका छन् । नेल्टा बागमती प्रदेशका अध्यक्ष गणेश हुमागाईको संयोजनमा आयोजित छलफलमा महासचिव किशोर पराजुली, कोषाध्यक्ष सृजना पौलेल, नेल्टा मकवानपुरका अध्यक्ष संगम चौलागाई, सचिव उत्तम आचार्य, कोषाध्यक्ष केशव थापा, सचिव उत्तम अर्याललगायतका नेल्टाका सदस्यहरुको उपस्थिति थियो ।